भर्खरै :

कला र संस्कृतिलाई नयाँ प्रविधिसँग जोड्ने आजको हाम्रो चुनौती

कला र संस्कृतिलाई नयाँ प्रविधिसँग जोड्ने आजको हाम्रो चुनौती

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको तर्फबाट यसरी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ ।
संसार आज डिजिटल युगमा प्रवेश गरिसकेको छ । सूचना प्रविधिको विकासले संसारको कुनै पनि ठाउँ अब टाढा रहेन । टाइप राइटर र लिथो प्रविधिबाट सुरु भएका प्रकाशनहरू आज भू–उपग्रहको माध्यमबाट रेडियो, टेलिभिजन, अनलाइन मिडियाजस्ता ठूल्ठूला सञ्चार गृहहरूको रूपमा विकास भएका छन् । प्रविधिको विकासले मानिसले छिटो छरिटो सेवा सुविधाहरू प्राप्त गर्न सकेका छन् ।
विज्ञान र प्रविधिको विकासमा अगाडि बढेको देश आर्थिक र सांस्कृतिकरूपमा पनि अगाडि बढेको पाउँछौँ । सन् १९४९ मा चीनमा समाजवादी क्रान्ति हुँदा एक अमेरिकी विदेशमन्त्रीले ५० करोड जनता भोकमरीमा रहेको बताएका थिए । आज एक अर्ब ४० करोडभन्दा बढी जनसङ्ख्या भएको त्यही चीनले विश्वको दोस्रो अर्थतन्त्र भएको देशको रूपमा विकास गर्यो र कृषिमा आधुनिक प्रविधि तथा सूचना प्रविधिको विकास गरी ग्रामीण अर्थतन्त्र उकासेर छोटो समयावधिमै ७७ करोड जनतालाई गरिबी मुक्त गर्न चीन सफल भयो । संयुक्त राष्ट्र सङ्घको सहस्राब्दी लक्ष्यअनुसार सन् २०३० सम्ममा विश्वलाई गरिबीबाट मुक्त गर्ने भन्ने रहेकोमा चीनले १० वर्षअघि नै त्यो लक्ष्य पूरा गर्यो । आधुनिक विज्ञान र प्रविधिको विकासले नै त्यो सम्भव भएको हो ।
प्रजग कोरिया, क्युवालगायत समाजवादी देशहरूले नयाँ नयाँ प्रविधि व्यापक जनताको हित र देशको समृद्धिको लागि प्रयोग गर्दै छन् भने बेलायत, फ्रान्स, जापान र संरा अमेरिकाजस्ता पुँजीवादी र साम्राज्यवादी देशहरूले आफ्नो स्वार्थ पूरा गर्न र नाफा कमाउन तथा विश्वमा आफ्नो प्रभुत्व जमाइराख्न प्रयोग गर्दै छन् । संरा अमेरिकाले कमजोर र अल्पविकसित देशहरूलाई नयाँ नयाँ प्रविधिको प्रयोग गरेर आफ्नो नियन्त्रणमा राख्ने अपराध गरे र गर्दै छन् । अफगानिस्तान, इराक, लिवियालगायतका देशहरूमा गरेको आक्रमण र विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसबारे अमेरिका नियन्त्रित सञ्चार गृहहरूले चीनबारे विश्वव्यापीरूपमा फैलाएको भ्रम त्यसका उदाहरणहरू हुन् । चोरी, हत्या, अपहरण, डकैतीजस्ता आपराधिक घटनाहरूमा पनि नयाँ नयाँ प्रविधिको प्रयोग भइरहेको पाउँछौँ । यसरी व्यक्ति, राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा पनि प्रविधिको विकासले प्रभाव पारिरहेको देखिन्छ ।
भक्तपुर देशकै साना नगरमध्ये एक हो । कला संस्कृतिको दृष्टिले अत्यन्त सम्पन्न यस नगरलाई हाम्रा अग्रजहरूले ज्ञानविज्ञानको केन्द्र बनाउने घोषणा गर्नुभयो । हामी त्यही उद्देश्य पूरा गर्न प्रयत्नशील छौँ । भक्तपुर शिशुस्याहार केन्द्रदेखि कलेजहरूसम्म सञ्चालन गर्ने नेपालको एक मात्र नगरपालिका हो । दुईवटा इन्जिनियरिङ कलेजसहित आधा दर्जनभन्दा बढी शैक्षिक संस्थाहरू सञ्चालन गरी विभिन्न विषयमा देशभरका विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्दै छौँ । हरेक वर्ष सयौँको सङ्ख्यामा प्राविधिक जनशक्ति उत्पादन गरिरहेका छौँ । हाम्रा कलेजहरूबाट उत्पादित दक्ष जनशक्तिहरूकै सहयोगले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सयौँ सम्पदाहरू मौलिक शैलीमा पुनःनिर्माण र जीर्णोद्धार कार्य सम्पन्न ग¥यौँ र गर्दै छौँ ।
विश्वविद्यालयहरू नयाँ नयाँ विषयको खोज अनुसन्धानको केन्द्र हुनुपर्छ भन्नेमा हाम्रो जोड रहँदै आएको छ । हाम्रा कलेजहरूमा अनुसन्धानको लागि बजेटको निश्चित अङ्क विनियोजन गर्दै आएका छौँ । साथै विद्यार्थीहरूको सीप विकासको लागि विद्यार्थी उद्यमशीलता विकास कोष खडा गरी अध्ययनरत विद्यार्थीहरूलाई दक्ष बनाउन सहयोग गर्दै आएका छौँ ।
भक्तपुरका कुनै पनि विद्यार्थी आर्थिक कारणले उच्च शिक्षा हासिल गर्नबाट वञ्चित नहोस् भनी शैक्षिक ऋण र छात्रवृत्तिको व्यवस्था गर्दै आएका छौँ । नगरवासी सम्पूर्ण विद्यार्थीलाई इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति, नेपालभाषा, अर्थशास्त्र, दर्शनशास्त्रलगायत धेरै विषयहरूमा स्नातकदेखि विद्यावारिधिसम्म छात्रवृत्ति प्रदान गर्दै आएका छौँ ।
कला र संस्कृति हाम्रो पहिचान भएकोले स्थानीय जनतासँग मिलेर त्यसको संरक्षण र संवद्र्धन गर्दै आएका छौँ । ती कला र संस्कृतिलाई नयाँ प्रविधिसँग जोड्ने आजको हाम्रो चुनौती हो । हाम्रा नयाँ पुस्ताले विस्तारै प्रविधिमैत्री बनेर हाम्रा कला–संस्कृतिको महत्वबारे विश्वभर प्रचार प्रसार गर्ने आशा गछौँ ।
भक्तपुरलाई संसारकै एक आकर्षक नगरको रूपमा विकास गर्ने का. रोहितले ‘१०० वर्ष पछिको भक्तपुर’ मा देख्नुभएको सपना साकार पार्न हामी निरन्तर लागिरहेका छौँ । आज भक्तपुर त्यही मार्गमा हिँडिरहेको छ । परिवर्तित समय र प्रविधिको विकासले तोकिएको समय अघि नै १०० वर्ष पछिको भक्तपुरको सपना पूरा हुने सम्भावना बढ्दै छ । हामी नगरपालिकाका जनप्रतिनिधिहरू त्यसका विभिन्न आधारहरू निर्माण गर्दै छौँ । शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, खेलकुद, सरसफाइ र विकास निर्माणका कामहरू गर्दै जनताको सेवा गरिरहेका छौँ ।
विश्वमा विकसित नयाँ नयाँ प्रविधिबाट हाम्रा विद्यार्थीहरूलाई दक्ष बनाउन विभिन्न देशका विश्वविद्यालयसँग हामीले सम्पर्क बढाउँदै छौँ । यस अन्तर्राष्ट्रिय सम्मेलनले सहकार्य गर्न थप मद्दत मिल्ने विश्वास गछौँ ।
(भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा असोज २४ गते ‘कम्प्युटर, विद्युत्, सञ्चार प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०२३’ को उद्घाटन समारोहमा कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *