भर्खरै :

भिन्तुना बचत तथा ऋण सहकारी संस्थाको २१ औँ वार्षिक साधारणसभा सम्पन्न

भिन्तुना बचत तथा ऋण सहकारी संस्थाको २१ औँ वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर, २७ असोज । भिन्तुना बचत तथा ऋण सहकारी संस्था लि.को २१ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
सभामा वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले देशको परिस्थिति फरक भइरहेको चर्चा गर्दै अपारदर्शी र नराम्रो काम गर्नेहरूलाई बेलैमा चिनेर खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“सदस्यहरूबिच सल्लाह, सुझाव र आपसी सद्भावमा सञ्चालन भइरहेका सहकारी संस्थाहरूको प्रगति भइरहेको छ । सहकारीलाई माया गर्ने र बालबालिकालाई सामाजिक उत्तर दायित्वको भावना उजागर गर्दै जानु अहिलेको आवश्यकता हो”, उहाँले भन्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद वासुकलाले सदस्यहरूको सांस्कृतिक स्तर उकास्न सके समाज अगाडि बढ्ने र जनताका सहकारीहरूले मात्र उत्कृष्टता हासिल गर्न सकिने धारणा राख्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा सहकारी सङ्घ लि.का सचिव जगन्नाथ प्रजापतिले सहकारीको बारेमा सदस्यहरूलाई समयअनुसार नियमित भेला राख्नुपर्ने आवश्यकता औँल्याउँदै समाजवादउन्मुख अर्थ व्यवस्था लागु गर्न सहकारी संस्थाहरू लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भिन्तुना बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष आसकुमार कोजू, रत्नकाजी नायोभारीलगायतले बोल्नुभएको थियो ।
सभाले कृष्णगोविन्द सुवालको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति तथा रामप्रसाद कोजुको संयोजकतवमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरेको थियो । सभामा संस्थाका विभिन्न समितिका प्रतिवेदनहरू प्रस्तुत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *