यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
शासक दलका नेता, मन्त्री, सांसद र कार्यकर्ताहरूको कारण जनतामा राजनीतिप्रति वितृष्णा पैदा भएको विश्लेषण गलत होइन । शासक र ठूला दलका नेता, मन्त्री, सांसद र कार्यकर्ताहरू भ्रष्ट भएको, पद र पैसाको निम्ति राजनीतिमा लागेको पनि यथार्थ हो । शासक दलहरूकै कारण तल्लो निकायदेखि माथिल्लो निकायसम्मका उच्चपदस्थ पदाधिकारी तथा कर्मचारीहरू मतिभ्रष्ट भएका हुन् । कसै कसैले त जागिर खानु नै भ्रष्टाचारको निम्ति ठान्छन् र राजनीतिलाई कमाउ गर्ने धन्दा ठान्छन् । उनीहरू आफ्नो इमान जमान बन्धक राखेर एनि हाउ कमाउतिर लागेका हुन्छन् । वास्तवमा देशको राजनीति बिगार्ने काम ती नै शासक र ठूला दलका नेता र मन्त्रीहरूले गरेका हुन् । समाज र जनता भड्काउने, जनता जनताबिच भिडाउने र जनता जुधाएर सत्ता लम्ब्याउने या पदकै निम्ति सरकारको नेतृत्व या मन्त्रीहरू बदल्ने काममा पनि तिनीहरू पछि पर्दैनन् । के यस्तो राजनीतिले देश बन्छ ? के जनताको जीवनस्तर उठ्छ ?
तर, समाजका सबै मान्छे खराब छैनन् । समाजमा राम्रा, इमानदार र इज्जतदार मानिसहरू पनि छन् । निःस्वार्थरूपले जनताको सेवा गर्ने कामदारवर्गको दीर्घकालीन हितको निम्ति लड्ने दल, नेता र कार्यकर्ताहरू छन् । रुसी जनताका नेता स्तालिनले कार्यकर्ताहरूमाझ भनेका थिए, “कम्युनिस्ट भनेको यमराजको ढोका घच्घच्याउने र यमराजलाई हाँक दिने जिउँदा वीर हुन् ।” चिनियाँ जनताका अर्का नेता माओ त्सेतुङले भनेका थिए, “कार्यकर्ताहरू अथक हुनुपर्छ, थाक्नुहुन्न, निःस्वास्र्थरूपले देश र जनताको सेवा गर्नुपर्छ ।” यो शिक्षा नेमकिपाका नेता तथा कार्यकर्ताहरूमा पनि लागु हुन्छ । देश र समाजको परिवर्तनको लागि उनीहरू जुटिरहेका हुन्छन्; बहुमत जनताको सेवामा समर्पित भएर लागेका हुन्छन् । उच्च विचार भएका र सुसंस्कृत समाज बनाउन लागिपर्ने नागरिकहरू पनि यहाँ नभएका होइनन् । प्रजातन्त्र, स्वतन्त्रता, न्याय, मानव अधिकारको भजन गाएर जनतालाई घात गर्ने, जनविरोधी र देशघाती काम र निर्णय गर्ने काममा संलग्न भ्रष्ट आचरणका व्यक्तिहरूलाई जनतामााझ उदाङ्ग्याउने काम सज्जन र सच्चा नागरिकले गर्ने हो, गर्नुपर्छ ।
ढिलो चाँडो परिवर्तन अवश्यम्भावी छ । नेपाल मजदुर किसान पार्टी समाजमा आमूल परिवर्तन गर्ने उद्देश्यले स्थापित कम्युनिस्ट पार्टी हो । पुँजीवादी व्यवस्थामा विजयी भएको पार्टी र सरकारले समाजको आमूल परिवर्तन गर्न सक्दैन भन्ने मान्यता राखी आमूल परिवर्तनको निम्ति नेमकिपाले जनतालाई राजनीतिक र वैचारिकरूपमा शिक्षित र सङ्गठित गर्दै आइरहेको हो । सारमा, नेमकिपा समाजवादी प्रचार अभियानमा छ । पुँजीवाद र समाजवादको भेदबारे नेमकिपाले जनतालाई गाउँ बस्ती पुगेर सूचित पार्दै छ । तर, कति पार्टीका नेता, लेखक र राजनीतिक विश्लेषकहरू एमाले, माओवादीकै पङ्क्तिमा राखेर देशका सबै कम्युनिस्ट पार्टीहरू उही ड्याङको मूला भनी एउटै दृष्टिले हेर्छन् । समाजवादी समालोचकहरू सही र गलत छुट्याई आलोचना गर्छन् । एउटा दल र दलको नेता खराब हुँदैमा सिङ्गो दल र दलका नेताहरू खराब हुँदैनन् । हरेकले सही र गलत छुट्याएर राजनीतिक विश्लेषण गर्नुपर्छ या समीक्षा गर्नुपर्छ । समाजको आमूल परिवर्तनको निम्ति गाउँ गाउँ र बस्ती बस्तीमा कामदार जनतालाई पुँजीवाद, क्रान्ति र समाजवादको सैद्धान्तिक ज्ञान र विभिन्न देशका समाजवादी क्रान्तिबारे शिक्षित गर्दै आएको नेमकिपालाई अर्काे नक्कली कम्युनिस्ट पार्टीको दाँजोमा राख्नु उचित होइन ।
पुँजीवादी व्यवस्था र विचारको विरोधमा कामदारवर्गको शासन व्यवस्था स्थापना गर्न सङ्घर्षरत नेमकिपा माक्र्सवादी–लेनिनवादी विचार बोकेको राजनीतिक दललाई गलत दृष्टिले व्याख्या विश्लेषण गर्नु ठीक होइन । बरु नेमकिपाले लिएको राजनीतिक बाटो अरु दलले लिनुपर्छ र परिवर्तनको निम्ति वर्गसङ्घर्षको बाटो अँगाल्नुपर्छ । नेमकिपा कहिले पनि कुनै नेता, कार्यकर्ता र दलगत स्वार्थमा लागेको छैन । बरु देशका सबै युवा, विद्यार्थी, किसान, मजदुर, बुद्धिजीवी, राष्ट्रिय पुँजीपतिवर्गको हित हुने काममा नेमकिपाले सङ्घर्ष गरिरहेको छ । नेमकिपाका नेता कार्यकर्ताहरू व्यापक दृष्टिकोण लिएर देश र जनताप्रति समर्पित भएर लागिरहेका छन् । यसरी नै अन्य कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू पनि लाग्नुपर्ने हो । राजनीतिक दर्शनमा आधारित आदर्श समाजको निर्माण गर्न दीर्घकालीन सोच लिएर अघि बढ्नुपर्छ । नत्र, दलको विचार र ठम्याइ खोक्रो हुन्छ र त्यो सतही राजनीति हुन्छ ।
Leave a Reply