भर्खरै :

नेपाली काङ्ग्रेस र ‘वाम गठबन्धन’

– एस्. डी. राजचल
एउटा प्रचलित नेपाली उखान छ ‘परालको त्यान्द्रोलाई सर्प देख्नु’ अर्थात जे होइन त्यो देख्नु र नभएको देखेर त्यसबाट तर्सिनु । दशैंलगत्तै चुनावी अभियानलाई संयुक्त रुपमा सञ्चालन गर्ने ध्येयले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीको बीचमा अप्रत्याशित रुपमा गठबन्धन भयो । तिनीहरू यसलाई ‘वाम गठवन्धन’ भन्दछन् तर वामपन्थीको कुनै लक्ष्यण नभएका दलहरूको गठबन्धनले भोलि चुनावमा बहुमत जित्न सक्ने आङ्कलन सत्तामा रहेको दल नेपाली काङ्ग्रेसले ग¥यो र त्यस दलमा भूकम्प गयो ।
यी तीनवटा दलहरू, जुन जुन दलहरू कथित ‘वाम गठवन्धन’का हिमायतीहरू हुन्, तिनीहरू वाम पार्टी नभएको विषयमा धेरै चर्चा यसअघि नै भैसकेकोले थप चर्चाको आवश्यकता परेन । कारण यी सबै दलहरूका नेताहरू पूँजीवादी सत्ताको कुकुर झगडामा विगत लामो समयदेखि थिएर साथै त्यो सत्ताको प्रयोग वामपन्थी उद्देश्यका लागि गरेको कुनै प्रमाण छोडेका छैनन् । सरकार बाहिर रहँदा चर्का र क्रान्तिकारी कुरा गर्ने र सत्तामा हुँदा प्रतिक्रियावादी नीति र शोषणको क्रमलाई निरन्तरता दिने अनि देश र जनताको अहितमा काम गर्ने दलहरू कसरी क्रान्तिकारी हुन्छ ?
यतिबेला नेपालको जेठो दलको रुपमा रहेको नेपाली काङ्ग्रेस त्यही ‘परालको त्यान्द्रोलाई सर्प देखेर’ निधारबाट खलखल पसिना निकाल्दै लोकतान्त्रिक गठबन्धन निर्माण गरी प्रतिस्पर्धामा उत्रदै छ । पक्कै पनि उसलाई लागेको हुँदो हो कम्युनिष्ट पार्टीहरूको चुनावी गठबन्धनले काङ्ग्रेसको समेत मत तान्ने भो र गठबन्धनले सकेसम्म दुईतिहाइ नभए स्पष्ट बहुमतको शासन गर्नेभो । उसले सोचे अनुसार बहुमत मात्र पाएपछि कम्युनिष्ट अधिनायकवाद लागू हुने डरले आज काङ्ग्रेस नेताहरूको निन्द्रा खल्बलिएको छ ।
लामो समयदेखि पूँजीवादी सत्ताको कुकुर झगडामा हिस्सेदार बनेका पार्टीलाई त राम्ररी नै थाहा छ कि यिनीहरूको गठबन्धन कुनै ‘वाम’ वा ‘कम्युनिष्ट’ गठबन्धन होइन भनेर । राजनीतिको शक्तिकेन्द्रमा पुग्न नेपालमा विभिन्न राजनीतिक दलहरूले विगतमा पनि जनतालाई झुक्याउन वा छलछाम गर्न, झुठा आश्वासन दिने, जालसाजी गर्नेजस्ता गैरनैतिक गतिविधिहरू गर्दैआएका थिए । हालको यो गठबन्धन पनि त्यसैको एउटा नमुना मात्र हो । अर्को शब्दमा भन्दा नयाँ नाटक मञ्चन गरिएको हो । यसमा नेपाली जनताले कुनै भ्रम पाल्नु आवश्यक छैन ।
संयुक्त राज्य अमेरिकाका राजदूत आफ्नो दलको कार्यालयमा आउँदा कोठामा झुण्ड्याइरहेको महान कम्युनिष्ट नेताहरूको तस्बीरलाई हटाउने दललाई कम्युनिष्ट मान्नु र देख्नु, आफ्नै दलका कतिपय नेताहरूले समेत दलको ब्यवहारका कारण अब कम्युनिष्ट शब्द नै हटाउनु पर्यो भनेर प्रस्ताव राखिसकेको स्थितिमा फेरि पनि एमालेलाई कम्युनिष्ट र वामपन्थी देख्नु दृष्टिदोषबाहेक अरु हुन सक्दैन । जुन दलले वामपन्थी तथा कम्युनिष्टका नाममा देशमा लामो समयदेखि विद्यमान समस्याहरू समाधानमा केही पहल गर्न सकेको छैन त्यसलाई कसरी कम्युनिष्ट वा अझ भनौं जनताको पार्टी भने ? जुन दलले वामपन्थीको नाममा संसदमा कहिल्यै प्रतिपक्षको भूमिका निभाउन सकेन त्यही दललाई वामपन्थी वा कम्युनिष्ट भन्नु ती शब्दको अपचलन मात्र हो ।
यसका साथै दसवर्षे जनयुद्धबाट शान्तिपूर्ण राजनीतिमा अवतरण भए पश्चात माओवादी पार्टी जो यस गठबन्धनको एक अर्को महत्वपूर्ण हिस्सेदार हो आज कुन हैसियतले राजनीतिक डबलीमा छ ?माओवादीलाई वामपन्थी र कम्युनिष्ट भन्नेहरूको जमात पनि आज क्रमशः ओरालो लागिरहेको छ । माओवादीकै तर्फबाट अध्यक्ष प्रचण्ड र अर्का नेता बाबुराम भट्टराई सरकारको नेतृत्व गरिसक्दा पनि नेपालको विकासले गति लिनुको साटो झन झन ओरालो लाग्नु र दिनप्रतिदिन बहुमत कामदार जनताको जीवनस्तर अलिकति पनि माथि उठाउन नसक्नुले माओवादी केन्द्रलाई कम्युनिष्ट पार्टीको रुपमा स्वीकार गर्ने आधार समाप्त पारेको छ । न त सत्तामा रहँदा देश र जनताको हितमा ऐन कानुन बनाउने पहल ग¥यो न विपक्षमा रहँदा वामपन्थीको भूमिका निभायो संसदमा ।
केवल पूँजीवादी सत्तामा जानुलाई नै आफनो साध्य अर्थात् अन्तिम उद्देश्य बनाउने यी ठूला दलका नेताहरूले नेतृत्व गरेको दललाई कसरी वामपन्थी वा कम्युनिष्ट मान्न सकिन्छ र ? अनि तिनीहरूको गठबन्धन कसरी ‘वाम गठबन्धन’ हुन्छ ? ‘वाम गठबन्धन’ जनताको आँखामा छारो हाल्ने काम मात्र भएन र ?
माओवादीमा छँदा वरिष्ठ नेताको चर्चा कमाएका बाबुराम भट्टराई जसले नेकपा एमाले र (माओवादी केन्द्र) सँग वाम गठबन्धनमा सहभागी हुने निर्णयमा हस्ताक्षर गरे नयाँ शक्ति पार्टीको अध्यक्षको हैसियतले । निर्णयको मसी सुक्न नपाउँदै ‘वाम गठबन्धन’ परित्याग गरेको घोषणा गर्ने र नेपाली काङ्ग्रेससित तालमेल गर्ने पार्टी कसरी वाम हुन्छ ? त्यसो त माओवादीमा रहँदा माक्र्सवादी–लेनिनवादी र माओवादी भन्दै परिचय दिँदै हिंडेका भट्टराईले सो पार्टी छोडी नयाँ शक्ति पार्टी खोल्ने क्रममा पत्रकार सम्मेलनमा सम्वोधन गर्दै माक्र्सवाद–लेनिनवाद परित्याग गरिसकेको घोषणा गरेका थिए । जुन दल माक्र्सवादी–लेनिनवादी नै भएन अनि कसरी वाम वा कम्युनिष्ट हुनसक्छ ?
सर्वहारा वर्गका महान नेता लेनिनका भनाइमा दलको नाम के हो त्यो महत्वपूर्ण होइन, दलले के गर्छ त्यो महत्वपूर्ण हो । दललाई जाँच्ने कसी भनेको उनले हिजो गरेका र आज गर्दैआएको क्रियाकलाप हो । यदि कुनै दलले बहुमत शोषित पीडित
जनताको पक्षमा आवाज उठाउँछ र सङ्घर्षमा भाग लिन्छ भने नामले जे सुकै भएपनि त्यो कम्युनिष्ट पार्टी हुन्छ र कम्युनिष्ट पार्टीहरू वास्तविक वामपन्थी पार्टीहरू हुन् । तर, नेपालको सन्दर्भमा कम्युनिष्ट नामधारी पार्टीहरू धेरै भए तापनि तिनीहरूको काम बहुमत जनताको हितमा हुन सकेन ती दलहरूले ब्यवहारमा आफ्नो आफ्नो पार्टीको सिद्धान्त गरिसकेका छन् । नैतिक र तार्किक मूल्य र मान्यतालाई चुनौती दिई मुढेबलको राजनीतिमा आएका छन् । बहुमत कामदार जनतालाई सरकारमा जाने सिंढी बनाए र सत्ताप्राप्ति पश्चात कानुनी र गैरकानुनी रुपमा करोडौंमात्र नभई अरबौं रकम कुम्ल्याउनतिर लागे, राज्यको ढुकुटीबाट वर्षेनी आफ्नो कार्यकर्तालाई रकम बाँडी गलत संस्कार बसाए ।
सारमा बहुदलीय व्यवस्था छ र यसैका कारण राजनीतिक दलहरू धेरै छन् । तर तिनीहरू नामले मात्र फरक छन्, ब्यवहारमा, क्रियाकलापमा समान छन् । एमाले भाइ–काङ्ग्रेमा रुपान्तरण भएजस्तै माओवादी केन्द्र भाइ–एमालेमा रुपान्तरण भइसकेको छ । तसर्थ ती दलहरू मिल्नु र एकता हुनुमा कुनै आश्चर्य छैन । यसबाट नेपाल र नेपाली जनताको हित र समृद्धि होइन बरु ‘खतराको घण्टी’ बन्ने स्थिति देख्न थालिएको छ । तसर्थ कथित वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमा पसेका पार्टीहरू सबै पूँजीवादी र संशोधनवादीहरू भएकाले तिनीहरूबाट जनताले आशा गरेअनुरुप केही पाउन नसक्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *