भर्खरै :

आफ्नो घर फर्कनुको विकल्प छैन

आफ्नो घर फर्कनुको विकल्प छैन

ठीक छ, दुनिया हेर्नु, घुम्नु, जान्नुपर्छ । गतिशील र परिवर्तनशील संसार छ, काल र परिस्थितिले अनुकूल देशमा जान, बस्न, पढ्न, काम गर्न मिल्दैन भन्दा यथार्थपरक हुँदैन । पच्चीस सय वर्षभन्दा पहिलेका भगवान् बुद्धको जीवनी हेर्दा नै यो कुरा स्पष्ट बुझिन्छ । बस्ने र कर्म गर्ने भनेको भगवान् बुद्धले सुझाउनु भएजस्तै अनुकूल, मर्यादित, स्वच्छ, सुरक्षित र प्रगतिशील ठाउँमा नै उत्तम हो । यसो भन्दै गर्दा एक सभ्य, चिन्तनशील र कर्तव्यनिस्ट व्यक्तिले भगवान बुद्धको अर्को पाटो पनि सम्झन आवश्यक हुन्छ । त्यो हो– उहाँले आफ्नो जन्मथलो, राज्य र आफ्नाजनप्रति निभाएको निःशर्त कर्तव्य र करुणा । प्रतिकूल भयो भन्दै आफ्नो गाउँ ठाउँ र चालचलन ठाटथलो त्याग्दै हिँड्दा यिनको सुधार, संरक्षण र अस्तित्व जगेर्ना गर्ने चाहिँ कसको जिम्मेवारी हुन्छ ? यसो गर्दा हाम्रो पहिचान के हुन्छ ? यस्तो सोच्ने र व्यवहारमा जीवन्त राख्नुपर्ने कसले हो ?
जरुरी, सके– भौतिक, बाहिरी र दृश्य रूपमा पनि सही कुरा, स्वपहिचान अँगीकार गर्नु । परिस्थितिबस नसके, आन्तरिक रुपमा, भित्र आफ्नो पहिचान आफूसँगै जीवित राख्नु । आफ्नो संस्कृति, भाषा, साहित्य, संवत्, इतिहास, चालचलन, भेषभूषा, ठाउँ गाउँ भनेका मानिसका पहिचान हुन् । जीवन जगत, दुनियाँ चिन्न बुझ्न पहिले आफैँलाई पहिला चिन्नु, जान्नु, बुझ्नुपर्छ । यो नै अस्तित्व र स्वपहिचानको जग हो । जग बलियो भएन भने हावामा बनेको, ठडिएको महलजस्तो हुन्छ । यति बलियो, वैभवशाली र गौरवपूर्ण जग भएको हाम्रो पहिचान र आधार बिर्सेर हाम्रो इज्जत, मर्यादा र पहिचान कसरी रहनसक्छ ?
हो, परिस्थिति अनुकूल भएन । हामीले आमाको भाषामा पढ्न पाएनौँ । बाको बोली बोल्दा खिजिनुपर्यो । हाम्रो खानपिन, भेषभूषा, साहित्य ठूला माछाहरू, शक्तिको चपेटामा परे । आफैँलाई बचाउने जोगाउने ध्याउन्नमा चाहिए जति समेट्न सायद पाएनौ । यद्यपि, अन्तरकुन्तरमा स्वअस्तित्वको चेत बेलाबेला झिल्का भएर उठिरहे । सत्य, सही र सहअस्तित्वको चेतले जोगाएको झिनो सिलसिलाले आज हामीलाई यहाँसम्म पु¥याएको छ ।
जान्दै नजानेको भाषा बोल्न बाध्य भएकी छिन् भक्तपुरकी बज्यै पनि । उपत्यका बाहिर लगभग नेवारी भाषा बोल्दै बोलिन्न । अहिलेका किशोर किशोरीहरू आफ्नो मातृभाषा राई, लिम्बु, भोजपुरी वा मैथिली बोल्ने अवस्थामा छैनन् । नेपाल भन्ने तर, यहाँ नेपाल संवत् बिर्सिएको स्थिति रह्यो । हाम्रा व्यथाकथा अरु भाषामा कथिँदा पनि हामी अचेतजस्तो बन्यौं । हाम्रो कला, संस्कृति, परम्परा, दर्शन र ज्ञान बिस्मृत, तिरस्कृत भए, बनाइए । हुर्किरहेका मनमस्तिष्कहरूका पराया मोह र आकर्षणले मोहनी प्रभाव जमाए ।
म्हःपुजाको दिन हामीले हाम्रो आफ्नो संवत् नेपाल संवत्को व्यावहारिक प्रयोजनको घोषणा भएको खुसी मनाउँदै छौँ । हाम्रो स्थिति बाटोमा अल्मलिएका बटुवाहरूको जस्तो नहोस्, बाटो हराएको चेतको साथमा बाटो पहिल्याउने प्रयास जरुरी छ । परायाको संवत्, भाषा, भेषभूषा आदिमा अभ्यस्त, आकर्षित र लत परेका हामीलाई कागजमा घोषणा गर्दैमा आफ्नोपनमा फर्कन सजिलो हुने छैन । धेरै व्यवधान, तगारा र चुनौती आइपर्ने छन् । हामी आफैँभित्र पनि यस्ता धेरै प्रतिकुलता देखिनेछन् । धैर्यपूर्वक, निरन्तर र सजग भएर अब हामी आफ्नो घर फर्कनुको विकल्प छैन । हाम्रा भाषा, संवत्, लिपि, संस्कृति, परम्परा आदिको मर्म बुझेर सहि रुपमा अवलम्बन, संरक्षण, संवद्र्धनमा आ– आफ्नोतर्फबाट इमानदार कोसिस आवश्यक छ । आफ्नै संवत्, भाषा, संस्कृति हामीसँगै बाँच्ने हो र हामी पनि तिनको अस्तित्वसँगै मर्यादित हुने हौं । हामी हाम्रा सजग चेस्ता, प्रयास र अवलम्बनमा स्वअस्तित्व बाँचौँ । जय नेपाल संवत्, जय नेपालभाषा, जय नेपाल आमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *