भर्खरै :

तः मुंज्या समारोहमा इजरायली आक्रमणको निन्दा

तः मुंज्या समारोहमा इजरायली आक्रमणको निन्दा

प्यालेस्टाइन प्यालेस्टिनीहरूको राज्य हो । आफ्नो देश जोगाउनु जनताको कर्तव्य हो । कुनै शक्ति राष्ट्रको सहयोग र साथमा स्वाधीन देशमाथि आक्रमण गर्नु र देश नै नामेट पार्ने दुस्प्रयास गर्नु युद्ध अपराध हो । जातीय नरसंहार गरेर देश नै लोप गराउने संरा अमेरिका र फासीवादी इजरायलको आक्रमण देशविरोधी कदम हो । शक्तिको भरमा कुनै स्वतन्त्र र सार्वभौम देशमाथि आक्रमण गर्नु र देश मेटाउने प्रयास निन्दनीय छ । आफ्नो देश जोगाउनको निम्ति प्यालेस्टिनी जनताले सङ्घर्ष गर्नु स्वाभाविक हो । देश जोगाउन गरिएको यो आन्दोलन मुक्तिको निम्ति गरिएको हो, त्यस्तो आन्दोलन गर्ने नेतृत्व आतङ्कवादी हुँदैन । प्यालेस्टाइन देशमाथि आक्रमण गर्ने देश आतङ्कवादी हो । आज संसारमा आतङ्क मच्चाउने देशमा अमेरिकापछि इजरायल अग्रपङ्क्तिमा छ । प्यालेस्टिनी जनताको सो न्यायपूर्ण आवाज र आन्दोलनको पक्षमा संसारका दर्जनौँ देशमा विरोध प्रदर्शन तथा सभा भइरहेको छ । साम्राज्यवादी र पुँजीवादी देश अमेरिका, बेलायत, फ्रान्स, क्यानडा, भारतजस्ता देशका लाखौँ लाख जनता प्यालेस्टिनी जनताको पक्षमा समर्थन र ऐक्यबद्धता जनाउँदै तत्काल युद्ध विराम गर्न माग राख्दै सङ्घर्षरत छन् ।
संसारका विभिन्न देशमा इजरायलको विरोधमा प्रदर्शन तथा सभा भइरहे पनि नेपालका शासकहरूले त्यसबारे चुइँक्क बोलेका छैनन् । सत्तासीन दलले मात्र होइन नेमकिपाबाहेक अन्य दलका नेताहरूले पनि बोलेका छैनन् या बोल्न डराएका छन् । प्यालेस्टाइनमा आक्रमण गरेर नरसंहारमात्र गरेको होइन पानी, औषधि र खाद्यान्नसमेत नपठाई भोकभोकै मार्ने अमानवीय काम इजरायलले गरिरहेको छ । बुढाबुढी, बालबालिका, गर्भवती, चिकित्सक, नर्स, बिरामी सबैमाथि बम वर्षा गरेर डढाएर मार्ने दुस्साहसको जति निन्दा गरे पनि पुग्दैन । प्यालेस्टाइनमा शरणार्थीको रूपमा आएका यहुदीहरूले त्यही देशका जनतालाई मार्ने, आतङ्कित पारेर उठिवास या विस्थापित गरेर विश्वबाट प्यालेस्टाइन देश नै लोप गराउने दुस्साहस कुनै पनि स्वाभिमानी र देशभक्त जनतालाई सह्य हुनेछैन । देशको मुक्तिको निम्ति भएको स्वाभीमानी जनताको आन्दोलनको समर्थन र आक्रमणकारी र फासीवादी इजरायली कदमको विरोध गर्नु आम देशभक्त र स्वाभिमानी जनताको दायित्व हो ।
प्यालेस्टाइन ध्वस्त भए पनि, प्यालेस्टिनी जनताको रगत बगे पनि, प्यालेस्टाइनमा लासैलास थुप्रे पनि संरा सङ्घले अहिले कुनै बोलेको छैन । संरा सङ्घले युद्ध विरामको प्रस्ताव मात्र लगेर पुग्दैन । इजरायलले प्यालेस्टाइनमाथि गरिएको आक्रमण र नरसंहार संरा सङ्घले युद्ध रोक्नुपर्छ र पीडित देशको पक्षमा बोल्नुपर्छ । युद्धको विरोध नगर्नु या युद्धलाई टुलुटुलु हेरेर बस्नु पनि आक्रमण या आतङ्कवादीको पक्षमा समर्थन गर्नु रहेको हुन्छ । ठूलो देश, बलियो देश या शक्ति राष्ट्र देशको काम के संसारका साना स्वाधीन र सार्वभौम देशमा आक्रमण गर्ने, नरसंहार गर्ने र देशै ध्वस्त बनाउने हो ? के संसारमा साना स्वाधीन र सार्वभौम देशहरू सबै ठुला शक्ति राष्ट्रको उठबसमा बस्नुपर्ने ? संसारलाई आतङ्कित पार्ने साम्राज्यवादी र आक्रमणकारी देशको विरोधमा बोल्नुपर्दैन ?
संसारका न्यायप्रेमी र देशभक्त जनताले साम्राज्यवादी देश अमेरिकाका राष्ट्रपति र इजरायलका प्रधानमन्त्री नेतन्याहुलाई युद्ध अपराधीको संज्ञा दिँदै अन्तर्राष्ट्रिय अदालतमा उभ्याएर कारबाही गर्नुपर्ने माग गरिरहेका छन् । प्यालेस्टिनी जनताको रगत पिएर स्वाद लिइरहेका आतङ्कवादीहरूलाई अयोग्य, नालायक शासकको संज्ञा दिँदै युद्धविराम स्थायी हुनुपर्ने माग गरिरहेका छन् । पीडित प्यालेस्टिनी जनताको स्वास्थ्योपचार, सुरक्षित जीवन र स्वतन्त्र राज्य स्थापना गर्नुपर्ने स्वरमा स्वर मिलाउँदै आन्दोलनकारीले अमेरिकी प्रशासन र इजरायली सरकारको विरोध गरिरहेका छन् । यस्तै आवाज शनिबार आयोजित ४३ औँ नेपालभाषा साहित्य तःमुंज्याको पुरस्कार वितरण तथा समापन समारोहमा वक्ताहरूले व्यक्त गरे । हजारौँ मानिस सहभागी भएको सो सभा साँच्चै किसान, मजदुर, विद्यार्थी, महिला, युवा, शिक्षक, कर्मचारी, साहित्यकार, कलाकार, वाद्यवादक या सांस्कृतिक गुरू, व्यापारी, व्यवसायीहरूलाई देश र विदेशको विषयमा जानकारी दिने या सुसूचित पार्ने राजनीतिक शिक्षालय साबित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *