भर्खरै :

आधुनिक कृषिले बदलेका चिनियाँ गाउँहरू

आधुनिक कृषिले बदलेका चिनियाँ गाउँहरू

बौसान, युनान (चीन) । जताततै आँपका बिरुवा लगाइएका छन् । सिँचाइका लागि हरेक बोटका मुनि पाइप राखिएको छ । हुर्किएका बिरुवा मिलाएर छिमलिएको छ । कान्लाहरू सफा र चिटिक्क पारिएको छ । कम्पोस्ट मलका लागि घाँस र पात सङ्कलन गर्ने व्यवस्था गरिएको छ ।
एकै खालका हजारौँ आँपको बोटले प्रकृतिलाई पनि उत्तिकै सुन्दर देखाएको छ । आँखाले भ्याउन्जेलको ठाउँमा रोपिएका ती आँपका बोटको रेखदेखका लागि निरन्तररूपमा मानिसहरू खटिएका छन् । रोगव्याधी लाग्न नदिन उत्तिकै सचेतना अपनाइएको छ । कामदारलाई ‘सिफ्ट’ प्रणालीमा खटाइएको छ । विभिन्न प्रजातिका आँपले क्रमशः उत्पादन दिने र अर्थतन्त्रमा ठुलो योगदान गर्ने विश्वास पनि उत्तिकै छ ।
यस किसिमको आधुनिक फलफुल खेती भएको ठाउँ हो कुनै बेलाको गरिब भनेर चिनिएको चीनको युनान प्रान्तको बौसान नगरपालिकास्थित छिङवाङ ड्रागन फ्रुट प्लान्टिङ बेस । यो स्थान कुनै बेला रातो माटोको गाउँ भएकोले खेती नहुने र तथा गरिबहरू बस्ने स्थानका रूपमा परिचित थियो ।
पछिल्लो दिनमा सो क्षेत्रको रूप फेरिएको छ । चिनियाँ राष्ट्रपति सि चिन फिङले अगाडि सारेको गरिबी निवारणको केन्द्र बनेको छ । कृषि पेसालाई नै आधुनिक तरिकाले अगाडि बढाएको सो स्थानबाट क्रमशः गरिबी एकादेशको कथा बन्न पुगेको छ । मानिसहरूको आर्थिक स्थितिमा सुधार भएको छ भने विश्व समुदायका लागि एक अध्ययन स्थलको रूपमा परिचित भएको छ ।
स्थानीय सरकारले एकीकृत खेती प्रणाली अपनाएको छ । त्यसमा पनि जैविक खेती प्रणालीलाई व्यवहारमा लागू गरेको छ । उम्रेका झारपातलाई मल बनाइएको छ । परम्परागत र आधुनिक दुवै प्रणालीलाई मिश्रण गरिएको खेती प्रणालीले मानिसकोे जीवनस्तरमा सुधार गरेको छ भने आर्थिक उन्नयनको मार्गचित्रमा गुणात्मक फड्को मारिएको छ । बारीका प्रत्येक ग¥हामा पुग्नको लागि बाटो बनाइएको छ । सोही बाटोबाट हरेक बोटसम्म मल, कीटनाशक औषधि तथा अन्य सामग्री सहजै पु¥याइन्छ । हरेक मानिसले तोकिएको जिम्मेवारी पूरा गर्छन् । काम गर्ने, त्यसको अनुगमन तथा निरीक्षणको लागि फरक–फरक मानिस खटिएका छन् ।
आधुनिक कृषि प्रणालीले ल्याएको परिवर्तन आफैँमा लोभलाग्दो छ । उत्पादित कृषि उपज बिक्रीका लागि बौसानदेखि खुनमिङका डिपार्टमेन्टलहरूमा सोझै लगिन्छ । बिचमा बसेर कमिसन खाने कुनै विचौलिया छैनन् । खेती प्रणाली व्यवस्थापनको काम स्थानीय पार्टी समिति मातहत रहेको सहकारीले गर्दछ ।
आधुनिक खेती प्रणालीलाई पर्यटनसँग पनि जोडिएको छ । देशभित्रका हजारौँ मानिस दैनिकजसो नै त्यस क्षेत्रमा भएको खेती हेर्न आउने गरेका छन् । छिङवाङडार्गन फ्रुट अफ सबट्रपिकलक्यास क्रप्स अफ युनान एकेडेमी अफ युनान एग्रिकल्चर साइन्स हेर्दै आएका स्थानीय पार्टी समितिको डेपुटी पार्टी सेक्रेटरी चेन जी लीले भन्नुभयो, “हामीले कृषिलाई प्रविधिसँग, प्रविधिमार्फत बजारसँग र बजारलाई सहजरूपमा उपभोक्तासँग जोडेका छौँ । यसले स्थानीय उत्पादनको बजारीकरण तथा आर्थिक उन्नयनको क्षेत्रमा ठूलो योगदान गरेको छ ।”
हरेक दिन खेतबारीमा के काम गर्ने, किसानलाई के कसरी परिचालन गर्ने, कुन बाली टिप्ने बेला भयो, कुन बालीमा मल पानी लगाउने बेला भयो भन्नेबारेमा स्पष्टसँग कार्यतालिका बनाइएको छ । कसले के गर्ने हो त्यसको व्यवस्था गरिएको छ । सँगसँगै प्राविधिक पनि खटाइएका छन् । कीटनाशक औषधि कसरी राख्नेदेखि सबै काम प्राविधिकले गर्छन् । साथमा वैज्ञानिक पनि छन् । उनीहरूले हरेक उपजको अध्ययन गर्छन् । माटोको गुणस्तरदेखि सिँचाइसम्मको ख्याल गर्छन् ।
कहीँकतै पनि जमिन खाली छैन । कोही पनि बेरोजगार छैनन् । सबै स्थानमा बाली लगाइएको छ । सडकको दायाँबायाँ कतै केरा रोपिएको छ भने कतै कफी रोपिएको छ । सुन्तला, आँपका बिरुवा पनि छन् । कतै ड्राग्रन फ्रुट पनि लगाइएको छ । यसले खेतीमा विविधता पनि दिएको छ । उत्पादनमा विविधताका साथै आम्दानीमा पनि उत्तिकै फरकपन छ ।
डेपुटी पार्टी सेक्रेटरी चेन जी लीले भन्नुभयो, “गरिबी निवारणको यो ढाँचा साँच्चै चिनियाँ विशेषतामा आधारित छ । हाम्रा पार्टीका महासचिव सि चिन फिङले अगाडि सार्नुभएको नीतिको हामीले अक्षरशः कार्यान्वयन गरेका छौँ । यसले हामीलाई मार्गदर्शन मात्रै गरेको छैन, अरुहरूका लागि पनि प्रेरणाको स्रोत बन्न पाएका छौँ ।”
बैँसान सहर नजिकै रहेको लुजिङवाङमा भेटिनुभएका डेपुटी पार्टी सेक्रेटरी चेन जीका अनुसार सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने मामिलामा कोहीभन्दा कोही पनि कम नभएको बताउनुभयो । उहाँको फार्ममा फल्दै गरेको कफी मेहनतको अर्को उदाहरण हो । विशाल टनेलभित्र फल्दै गरेका कफीले आधुनिक चीनको आधुनिक कृषि प्रणालीको अर्को नमुना पेस गरेको थियो । उहाँले भन्नुभयो, “चीनमा यस्ता धेरै कफी फार्महरू छन् । त्यसमध्ये सबैभन्दा गुणस्तरीय र स्वादिलो कफी हामी उत्पादन गर्छौँ । स्थानीय माग पूरा गरेर बाहिरी सहरमा समेत यहाँको कफी बिक्री हुने गरेको छ ।”
सोही फार्ममा कफी वैज्ञानिकको रूपमा कार्यरत हुङजी छिङले पाक्दै गरेको कफी देखाउँदै भन्नुभयो, “हरेक कफीका बोट मेरा छोराछोरीजस्तै छन् । हरेकलाई हुर्काउन मैले उत्तिकै मेहनत गरेको छु । यसको मल, पानीको पनि उत्तिकै ख्याल गरेको छु । यिनका हरेक दाना मलाई उत्तिकै प्रिय लाग्छन् । यसले युनान प्रान्तको शान र नाम दुवै राखेको छ । मेरो कामको समेत सम्मान गरेको छ ।” उहाँले आफ्नै चिनियाँ लवजमा कृषि प्रणालीमा भित्याइएको आधुनिक पद्धतिले बदलेको चित्र र चरित्र उत्तिकै प्रभावकारी रहेको बताउनुभयो ।
वैज्ञानिक तरिकाले गरिएका हरेक खेतीका आ–आफ्नै विशेषता छन् । जुन नेपाल र हामी नेपालीको लागि पनि उत्तिकै अनुकरणीय हुनसक्ने नेपाली काङ्ग्रेसका नेता एवम् काठमाडौँ क्षेत्र नं १० का सांसद राजेन्द्रकुमार केसीको भनाइ छ । यही नोभेम्बरको ७ देखि १४ तारिखसम्म चीनको युनान प्रान्तको भ्रमणमा रहनुभएका केसीले असाध्यै चासोका साथ अत्याधुनिक कृषि प्रणाली र खेतीको निरीक्षण गर्नुभयो ।
दक्षिण एसियाका पार्टीहरूको सम्मेलनमा भाग लिन युनान पुग्नुभएका सांसद केसीले यस समाचारदातासँग भन्नुभयो, “रोजगारीको खोजीमा देश छाडेर विदेसिएका युवालाई यस्तै आधुनिक कृषि प्रणालीको प्रबन्ध गरेर देश फर्काउने उपायको खोजी गर्न सकिए नेपालले पनि ठुलो प्रगति गर्न सक्छ । हामी पनि त्यसतर्फ लाग्नैपर्छ ।”
थुमुक्क परेका आँपका बोट, त्यसैको डिलमा फल्दै गरेका केरा अनि साथमा ड्रागन फ्रुट । खेतीको विविधता अनि ठुलो सङ्ख्यामा गरिएको खेतीले आधुनिक चीन र त्यसको बदलिँदो तस्बिर देखाइरहेको छ । कुनै बेलाको गरिब मानिएको युनान प्रान्तले बदलेको तस्बिर आफैँमा नेपालजस्ता देशको लागि अनुकरणीय बनेको छ ।
हामीले सिकेको ज्ञान र सीप अरूलाई पनि बाँड्न चाहन्छौँ, डेपुटी पार्टी सेक्रेटरी चेन जी लीले भन्नुभयो, “हामी अरूलाई पनि हाम्रो सफलताको कथा सुनाउन चाहन्छौँ । किनकि, ज्ञान अरूलाई बाँड्दा फाइदा हुन्छ भन्ने मान्यता हामी राख्छौँ ।”
चीनले पछिल्लो समय गरिरहेको कृषि उपजको विस्तार आफैँमा उदाहरणीय रहेको छ । तीव्ररूपमा आर्थिक विकासको यात्रामा अगाडि बढिरहेको चीनले आफ्नो परम्परागत कृषि पेसालाई पूर्णतः आधुनिक बनाएको छ । बाओसानको दक्षिणतर्फ बग्ने नुचियाङ नदी किनार क्षेत्रका विशाल फाँटहरू हराभरा छन् । जहाँ किसानको मेहनतका अलावा राज्यले कृषि क्षेत्रलाई कुन हदसम्म प्राथमिकतामा राखेको छ भन्ने स्पष्ट देख्न पाइन्छ । जहाँ कहीँकतै पनि खाली जमिन भेटन मुस्किल छ । जताततै कृषि उपजले भरेको छ । जहाँ मकै, फलफुलदेखि अनेकन कफीको खेती गरिएको छ ।
फराकिलोसम्म फाँटदेखि भिराला पठारसमेत कृषि उपजले भरिएका छन् । अत्याधुनिक भौतिक पूर्वाधार सडक तथा सुरुङहरूका अलावा हिमाली क्षेत्रमा समेत चीनको भव्यता सहजै देख्न सकिन्छ । चीन खाद्यान्नमा आत्मनिर्भरमात्रै भएको छैन । आफूलाई बढी भएको कृषि उपज अन्य देशमा निर्यात पनि गरिरहेको छ ।
समथर फाँटमा फलेका सागसब्जी र कफीलगायत उत्पादन भियतनाम, दक्षिण कोरिया, अफ्रिका र दक्षिण अमेरिकासमेत पुग्ने गरेको स्थानीयको भनाइ छ । स्थानीय पार्टी समिति, स्थानीय सरकारले कृषिकर्म गर्नेलाई अनेकन सहुलियत दिएको छ । खेतीमा सकेसम्म विषादी कम मात्रै प्रयोग गरिएको छ । सरकारको सहुलियत पनि उत्तिकै छ ।
कृषकका उत्पादन आन्तरिक बजारमा खपत गराउनेदेखि विश्व बजारसम्म पु¥याउने सुनिश्चितता गरिएका कारण युनान प्रान्तका हरेक ग्रामीण बस्ती यतिबेला शतप्रतिशत हराभरा छन् । ठूला सडकका दायाँबायाँ खेतीले भरिएका छन् । जमिनको शतप्रतिशत उपयोगमा ध्यान दिएको चीनले सिँचाइको प्रबन्ध पनि उत्तिकै राम्ररी गरेको छ । सहजरूपमा सिँचाइ नपुग्ने स्थानमा सौर्य सिँचाइ प्रणाली तथा अन्य उत्तम विकल्पसमेत उपलब्ध गराएको छ ।
स्थानीय बौसान नगरपालिकाले सन् २०१६ देखि नै बौसान कफी पर्यटन र सांस्कृतिक महोत्सव गर्दै आएको छ । कफी बगैँचालाई नै पर्यटनको केन्द्रसमेत बनाइएको छ । त्यहाँ अनेकन सुविधासमेत प्रदान गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी ले १९ औँ र २० औँ राष्ट्रिय महाधिवेशनमा देशको ग्रामीण क्षेत्रलाई पुनःजागरण गर्नको लागि विभिन्न योजना अगाडि सार्नुभयो । सोही योजनाको वस्तुनिष्ठ कार्यान्वयन भएको र हरेक गाउँहरू क्रमशः समृद्ध र आर्थिकरूपमा सबल बन्दै गएका छन् ।
सोही योजनाअनुसार नै सिन्छाई गाउँ सरकारले अहिले आफ्नो मुख्य ध्यान कफीको गुणस्तरीय उत्पादनमा दिएको छ । गाउँ समृद्ध र सबल बनेको छ । औद्योगिकीकरण हुँदै गएको गाउँमा कफी खेती विशेष प्राथमिकतामा राखिएको छ । युवा गाउँमा छन्, वैज्ञानिक पनि साथमा छन् । नियमित प्रशिक्षण र तालिम पनि गरिन्छ । यसले आधुनिक चीन गाउँहरूबाट जन्मिरहेको छ । युवा विदेश पलायन भइरहेको नेपालको लागि चीनको यो उदाहरण आफैँमा अनुकरणीय हुनसक्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *