भर्खरै :

समाजवादउन्मुख हुनुपर्ने देश सङ्कटउन्मुख !

समाजवादउन्मुख हुनुपर्ने देश सङ्कटउन्मुख !

समाजवादउन्मुख हुनुपर्ने देश सङ्कटउन्मुख देखिएको छ । निर्यातभन्दा आयात वृद्धि, व्यापार घाटा, आय आर्जन या राजस्व कम भएकोले आर्थिक समस्या देखिएको हो । आर्थिक समस्याको कारण शिक्षकहरूले समयमा पारिश्रमिक पाएका छैनन् । केन्द्र सरकारले स्थानीय तहमा पारिश्रमिक नपठाएको कारण शिक्षकहरूले पारिश्रमिक नपाएको बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा आर्थिक समस्या भएको स्वीकार्दै सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरेका छन् । देशमा आर्थिक सङ्कट हुनुका दोषी शासकहरू नै हुन् । शासकहरू देश र जनताप्रति जिम्मेवार, संवेदनशील र दूरदर्शी हुन सकेनन् । उनीहरूले सुझबुझ निर्णय गर्न सकेनन् । पछिको नहेरी अहिलेको स्वार्थ खोज्ने, स्वार्थमा भुल्ने, दलगत र व्यक्तिगत स्वार्थमा लागेको कारण देशमा एकपछि अर्को समस्या बढ्दै गएको हो ।
आफ्नै देशमा उत्पादन बढाउने, आधारभूत आवश्यकता परिपूर्ति गर्नेतर्फ सरकारको ध्यान गएको छैन । विदेशीको भरमा बसेपछि देशमा उत्पादन कम हुनु स्वाभाविक हो । शासकहरू देश र जनताप्रति गैरजिम्मेवार भए । सरकारले उद्योग खोलेन । स्वदेशमै मल कारखाना खोलिएन । चामल, गहुँ, गेडागुडी, फूल, फलफुल आदि सबै विदेशबाट आयात भएपछि देशको रकम विदेसिनु स्वाभाविक हो । समाजवादउन्मुख अवधारणा संविधानमा मात्र सीमित रह्यो । त्यसलाई व्यवहारमा लागु गर्ने प्रयास भएन । सत्तासीन दलले आफ्नो जिम्मेवारी पूरा नगरेको हुँदा देशको आर्थिक स्थिति खस्किँदै गएको हो ।
सरकारको जिम्मेवारी देश बनाउनु हो, जनताको जीवनस्तर बढाउनु हो । यो हरेक राजनीतिक दलको दायित्व पनि हो । देश बनाउने, जोगाउने र जनतालाई सुखी बनाउने जिम्मेवारी बोकेको सरकारले सिद्धान्त र विचार बन्धक राख्दा या बेवास्ता गर्दा देशले प्रगति गर्न सकेन । अभाव भएपछि या आवश्यकता पूर्ति नभएपछि द्वन्द्व बढ्छ । रासायनिक मलको अभाव भएको वर्षौँ भयो । मल कारखाना त खोलेन खोलेन, रासायनिक मल पनि पर्याप्त ल्याइएन । यसले खाद्यान्न उत्पादन कम हुन्छ र विदेशबाट सामान ल्याउनुपर्ने हुन्छ । के यसको दोषी सरकार होइन ? विदेश पोस्ने, विदेशी स्वार्थ पूरा गर्नको निम्ति यहाँका शासकहरू लागेपछि देश कसरी अघि बढ्छ ? शिक्षा र स्वास्थ्यमा व्यापारीकरण छ । युवा विदेश पलायन बढ्दो छ । देशका सक्षम, योग्य र विशेषज्ञहरू पनि बाहिँरिदै छन् । सरकारले देशमा योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको बन्दोबस्त गर्नुपर्ने हो । त्यस्तो कुनै बन्दोबस्त नभएको हुँदा मुलुक परनिर्भर बन्दै गएको हो ।
पुँजीवादी सरकारले जनताको आधारभूत आवश्यकता पूरा गर्दैन, शोषितपीडित जनताको पक्षमा हेर्दैन भन्ने कुरा नेपाल त्यसको दृष्टान्त बनेको छ । यसकारण, यहाँ जनता सम्पन्न भएनन्; आत्मनिर्भर अर्थतन्त्र बनेन । जनताले निष्पक्ष न्याय पाएनन् । नेपाली सुरक्षित भएनन् । हरेक दिन हिंसात्मक गतिविधि बढिरहेको छ । रोजगारी उपलब्ध छैन । मुलुकमा सुशासन छैन । आर्थिक अनुशासन छैन, पारदर्शिता छैन । कालाबजारी र भ्रष्टाचारीहरूको मनोबल गिरेको छैन । जातीय भेद अन्त्य भएको छैन । नेपालको कृषि क्षेत्र गएगुज्रेको छ । शिक्षाको स्थिति दयनीय छ । आर्थिक सङ्कट अन्त्य गर्न पुँजीवादी व्यवस्था पल्टाउनुपर्छ र समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *