भर्खरै :

किसानहरूबिच २०३ औँ एङ्गेल्स जयन्ती

किसानहरूबिच २०३ औँ एङ्गेल्स जयन्ती

भक्तपुर, १३ मङ्सिर । नेपाल क्रान्तिकारी किसान सङ्घ, भक्तपुर नगर समितिको आयोजनामा विश्व सर्वहारावर्गका महान् गुरु एङ्गेल्सको २०३ औँ जन्म जयन्तीको अवसरमा नगरस्तरीय किसान भेला गरी प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भयो ।
प्रशिक्षण कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् सांसद सुरेन्द्रराज गोसाईले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्ग निर्देशक सिद्धान्त मानी नेपालमा बहुमत कामदार वर्गका जनतालाई राजनैतिक र सैद्धान्तिकरुपले सचेत र सङ्गठित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टी, किसान सङ्घर्षको जगमा रहेर देशको सार्वभौमिकता रक्षार्थ अन्याय, अत्याचार, शोषण र दमनविरुद्ध अघि बढेको पार्टी हो, विश्वमा साम्राज्यवादीहरूको स्वार्थअनुरुप कमजोर देशहरूमाथि अतिक्रमण गर्ने, प्राकृतिक स्रोत साधन कब्जा गर्ने नियतले जातीय दमनको रूपमा आज रुस– युक्रेन युद्ध र प्यालेस्टाइन र इजरायलबिच युद्ध भइरहेको छ । हतियार बेचेर धनी हुन पल्केका अमेरिकी साम्राज्यवाद विश्वमा बदनाम भएको छ ।”
उहाँले प्यालेस्टाइनमा महिला, बालबालिका, सर्वसाधारण जनतामाथि नरसंहार हुनु र विद्यालय, अस्पताल सार्वजनिक स्थलहरूमा बमबारी गरी विनास र हत्या गर्नु युद्ध अपराध हो भन्नुभयो । युद्ध अपराधविरुद्ध विश्वका न्यायप्रेमी देशभक्त जनताले विरोध गरिरहेको उल्लेख गर्दै उहाँले देशका शासक दलहरू साम्राज्यवादको पक्षमा लागिपरेका छन् भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले विश्व सर्वहारावर्गका गुरु एङ्गेल्सको जीवनीबारे चर्चा गर्दै किसानहरूले पनि पार्टी प्रकाशनहरू निरन्तर अध्ययन गरी अन्तरक्रिया, गोष्ठी भेला गरी सचेत हुँदै जानुपर्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गंगाराम ज्याख्वको सभापतित्वमा भएको कार्यक्रममा आर. प्रजापति र पूर्णगोपाल राजचलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *