पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
भक्तपुर, १४ मङ्सिर । प्यालेस्टाइन र इजरायल युद्धमा महिला तथा बालबालिकाहरूको नरसंहार भइरहेको विषयमा अन्तरक्रिया र मार्गनिर्देशन कार्यक्रम बिहीबार सम्पन्न भयो ।
नेपाल कर्मचारी समाज केन्द्रीय समितिको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सबै विषयको निर्णय राजनीतिसँग जोडिने भएकोले कर्मचारीहरू राजनीतिबाट अलग्ग हुन नसकिने धारणा व्यक्त गर्दै भक्तपुरको विकास हुनुमा नेपाल मजदुर किसान पार्टीले गरिरहेको इमानदारीपूर्वक राजनीतिको प्रतिफल नै हो भन्नुभयो ।
अमेरिकी साम्राज्यवादको आडमा इजरायलले प्यालेस्टिनीहरूको हत्या गरिरहेको जातीय नरसंहार भएको उहाँले स्पष्ट पार्नुभयो ।
“अमेरिकी प्रजातन्त्र साम्राज्यवाद र पुँजीपतिहरूको हितमा केन्द्रित छ । प्यालेस्टाइनमा हमला गर्न अमेरिकाले इजरायललाई हतियार उपलब्ध गराएकोले संरा अमेरिकालाई विश्वका न्यायप्रेमी जनताले कहिल्यै क्षमा दिने छैनन्”, प्रमुख प्रजापतिले भन्नुभयो ।
युद्ध क्षेत्रमा इजरायलमा ‘सिक्ने र कमाउने’ नाममा नेपाली विद्यार्थी पठाउनु सरकारको अकर्मण्यता भएको स्पष्ट पार्दै उहाँले युद्धभूमि इजरायलमा नेपाली विद्यार्थी र युवालाई पठाउने प्रम, मन्त्री, सचिव र म्यानपावर कम्पनीका सञ्चालकहरू दोषी छन् भन्नुभयो ।
एक सय वर्षअघि प्यालेस्टाइनमा सबै जाति र धर्मका मानिसहरू मिलेर बसेको र त्यसबेला यहुदीहरूको जनसङ्ख्या ६–७ प्रतिशतमात्र रहेकोमा बेलायतको दबाबमा संरा सङ्घले ५६ प्रतिशत प्यालेस्टिनी भूभाग दिलाई इजरायल राज्य स्थापना गरेको चर्चा गर्दै उहाँले भन्नुभयो, “मध्यपूर्व क्षेत्रमा विश्वको तीनचौथाइ तेल र ग्यास भण्डार रहेको छ । त्यही ग्यास र तेल कब्जा गर्न अमेरिकाले प्यालेस्टाइनविरुद्ध युद्ध भड्काइरहेको हो ।”
प्यालेस्टाइनमा स्थायी युद्धविराम अहिलेको आवश्यकता भएको उल्लेख गर्दै केन्द्रीय सदस्य प्रजापतिले प्यालेस्टिनी जनताको पक्षमा विश्वका न्यायप्रेमी जनताले जुलुस र जनप्रदर्शन गरिरहेका छन् भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एनबी दुवालले प्यालेस्टिनी जनताको पक्षमा आवाज उठाउनु न्यायप्रेमी जनताको समर्थन भएको बताउनुभयो ।
नेमकिपाको स्वार्थ भने भनेको देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु नै रहेको स्पष्ट पार्दै उहाँले नेमकिपाले प्यालेस्टिनी जनताको पक्षमा आवाज उठाई इजरायली आक्रमणको विरोध गरी अन्तर्राष्ट्रिय कर्तव्य निर्वाह गरिरहेको छ भन्नुभयो ।
कामदार जनताको भविष्य समाजवादी व्यवस्थामा मात्र सम्भव भएकोले नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत छ, उहाँले स्पष्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले इतिहास, भूगोल र अन्तर्राष्ट्रिय राजनीतिबारे कर्मचारीहरूमा जानकारी हुनुपर्छ भन्नुभयो ।
पीडितको पक्षमा ऐक्यबद्धता जनाउनु र युद्धको विरोध गर्नु मानवीय कर्तव्य भएको उहाँले बताउनुभयो ।
नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले कर्मचारीहरू असल र इमानदार हुनुका साथै देशभक्त हुनुपर्ने बताउनुभयो ।
संरा सङ्घको महासभामा प्यालेस्टिनी भूमि नदेखाई मध्यपूर्वको नयाँ नक्सा देखाएको विरोधस्वरुप प्यालेस्टिनी लडाकु सङ्गठन हमासले इजरायलमा आक्रमण गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा समाजका दिलकृष्ण माक, काजीबहादुर पञ्च र शिवराम धुख्वाले पनि बोल्नुभएको थियो ।
Leave a Reply