भर्खरै :

प्यालेस्टिनमाथि इजरायली फासीवादी बर्बर हमला तथा नरसंहारविरुद्ध प्रदर्शन तथा सभा

प्यालेस्टिनमाथि इजरायली फासीवादी बर्बर हमला तथा नरसंहारविरुद्ध प्रदर्शन तथा सभा

विश्वका न्यायप्रेमी जनता स्वतन्त्र प्यालेस्टिन राज्यको पक्षमा
ललितपुर, १५ मङ्सिर । “नेपालीहरू अहिले जाजरकोटको भूकम्पमा मरेका छन् भने भूकम्पपछि चिसोले पनि मरिरहेका छन् । सरकारले जनतालाई बचाउन सकेन । गोर्खा भर्तीमा भर्ना भएका नेपाली युवाहरू बेलायती र भारतीय सेना भएर लड्दै मरे भने युक्रेन र रूसको सेनामा भर्ना भएर पनि ज्यान गुमाउँदै छन् । इजरायलमा सिक्ने र कमाउने भनी पठाइएका नेपाली विद्यार्थी १० जनाको मृत्यु भयो भने एकजना विपिन जोशी बेपत्ता छन् ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा शुक्रबार ललितपुरमा प्यालेस्टिनी स्वतन्त्रताको समर्थन र अमेरिकी सहयोग प्राप्त इजरायली फासीवादको विरोधमा भएको प्रदर्शन र सभामा व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घले बेलायतको दबाबमा प्यालेस्टिनीहरूको भूमि हडपेर इजरायल घोषणा गरेको थियो । प्यालेस्टिनी जनता आफ्नो भूमि फिर्ता लिन ७५ वर्षदेखि लड्दै छन् । गएको असोज ५ गते संयुक्त राष्ट्रसङ्घको महासभामा इजरायली प्रधानमन्त्री नेतन्याहुले प्यालेस्टिनी भूमि मेटिएको नयाँ मध्यपूर्वको नक्सा पेस ग¥यो । प्यालेस्टिनीहरूको लडाकु सङ्गठन हमासले असोज २० गते इजरायललाई जवाफ दियो । अमेरिकी राष्ट्रपति बाइडेन कार्तिक १ गते इजरायल पुगेर आवश्यक हतियार सहयोग दिने वाचा गरे । अमेरिकाले इजरायललाई १ खर्ब ६ अर्ब डलर सहयोग ग¥यो । यसमध्ये १५ अर्ब डलरको हतियार थियो । त्यही हतियारको भरमा इजरायलले प्यालेस्टिनीहरूको गाजापट्टीमा नरसंहार ग¥यो । अहिलेको प्यालेस्टिन इजरायलको युद्धविराम स्थायी सम्झौतामा परिणत गराउन र प्यालेस्टिन स्वतन्त्र घोषणा गराउन हामी यहाँ भेला भएका छौँ ।” युद्धभूमि इजरायलमा नेपाली युवा र विद्यार्थीलाई पठाउने प्रम, मन्त्री, सचिव र म्यानपावर कम्पनीका सञ्चालकहरू नेपाली विद्यार्थीको मृत्यु र बेपत्ताका दोषी भएको उल्लेख गर्दै सचिव सुवालले नेपाल सरकारले विपिन जोशीलाई सकुशल फिर्ता गराउन प्यालेस्टिनी सरकारसँग पनि कुराकानी गर्नुपर्ने र प्यालेस्टिनी स्वतन्त्रताविरोधी नभएको स्पष्ट गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “२३ लाख जनसङ्ख्या भएको गाजापट्टीमा ४७ प्रतिशत केटाकेटी छन् । इजरायली आक्रमणबाट घाइते भएकामध्ये ७० प्रतिशत महिला र केटाकेटी छन् । २० वर्षयता १० हजार केटाकेटी इजरायली जेलमा छन् । अहिले प्रत्येक घण्टामा दुई प्यालेस्टिनी महिलाहरू मृत्यु भइरहेका छन् । युनिसेफका प्रमुखका लोग्ने अमेरिकी हतियार बिक्रेता भएको र गाजामा पड्किरहेको बम उसैको हतियार भएको समाचार प्रकाशित भयो । गाजापट्टीका २ लाख ३४ हजार घर क्षति भए भने ४६ हजार घर पूर्ण क्षति भए । लाखौँ गाजावासी खानेकुराको अभावमा छटपटिरहेका छन् । संसारका दाताहरूले प्यालेस्टिनी जनताको समर्थन गरी सहयोग गर्दै छन् ।”
उहाँले भन्नुभयो, “एमसीसी सम्झौतापछि नेपालमा पनि युक्रेन र प्यालेस्टिनमा जस्तै युद्ध हुने खतरा बढ्यो । युक्रेन युद्ध अमेरिकाको रूसविरोधी छद्म युद्ध हो भने मध्यपूर्वको तेल र ग्यास भण्डारण कब्जा गर्न प्यालेस्टिनमा अमेरिकी सहयोगमा इजरायली आक्रमण गरिएको हो । एमसीसी सम्झौता अमेरिकी स्वार्थको लगानी र अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने हो । एसपीपी साझेदारीअनुसार अमेरिकी सेनाले नेपाली सेनाको व्यारेक कब्जा गर्नेछ । अमेरिकी विदेशमन्त्रीको फोनमा एमसीसी सम्झौता पारित गराउने र संयुक्त राष्ट्र सङ्घमा रूसविरूद्ध मत दिने सरकारहरूले असंलग्नताको सिद्धान्तलाई उल्लङ्घन गर्दै छन् ।”
“नेपाली युवालाई १७१ देशको लागि सस्तो ज्यामी बन्न पठाउने सरकारहरूले अमेरिकी दबाबमा प्रजग कोरियाका युवाहरूलाई नेपालमा काम गर्न दिएनन् । केही हप्ताअघि प्रजग कोरियाको राजदूतावास बन्द गरी राजदूत फिर्ता जानुभयो । नेपाल सरकारले यसबारे स्पष्ट गरेको छैन । साम्राज्यवादविरोधी देश प्रजग कोरियाले नेपालमा राजदूतावास बन्द गर्नु नेपालले एउटा मित्र गुमाएको हो”, सचिव सुवालले भन्नुभयो ।
नेपाली युवा वैदेशिक रोजगारीमा जान बाध्य हुँदा नेपालीलाई आवश्यक दाल, चामल, तरकारीसमेत भारतसँग किनेर खानुपर्ने अवस्था भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “सरकारहरूले नेपालको नदीनाला कोेशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, पश्चिम सेती, मुगु कर्णाली, तिला १, तिला २, अरूण तेस्रो, तल्लो अरूण, अरूण चौथो भारतलाई दिए । प्रम पुष्पकमल दाहालको जेठ महिनाको भारत भमणमा फुकोट कर्णाली भारतलाई दिइयो । भारतलाई नदीनाला र बिजुली दिने होइन, नेपालीलाई सस्तोमा बिजुली दिनुपर्दछ । यो विषय हामीले उठाइरहेका छौँ ।”
सचिव सुवालले भन्नुभयो, “सरकारमा गएकाहरूले उखु खेती र कपास खेती समाप्त पारे । अब विदेशबाट दूध ल्याएर पशुपालन पनि समाप्त पार्ने तयारी सिंहदरबारले गर्दै छ । सरकारले साना तथा घरेलु उद्योगलाई प्राथमिकतामा राख्नुपर्दछ । यसो नगरी विदेशी दलाल पुँजीपतिवर्गलाई ४७ खर्ब ऋण दिने र घरेलु तथा साना उद्योगीलाई १०९ अर्बमात्र ऋण दिने सरकार आर्थिक माफियाहरूको चङ्गुलमा परेको छ ।”
नेपालको ऋण २३ खर्ब रूपैयाँ बढी पुगेको, सावाँब्याज तिर्न बर्सेनि ३ खर्ब रूपैयाँ चाहिने स्थिति आउनुमा ३४ वर्षयता सिंहदरबार कब्जा गर्न पुगेका शासक पार्टीहरू नै दोषी भएको सांसद सुवालले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालको नदीनाला र प्राकृतिक स्रोत साधन भारतले कब्जा गरेजस्तै मध्यपूर्वको तेल र ग्यास भण्डार कब्जा गर्न अमेरिकी सरकारले इजरायललाई अगाडि बढाएको हो । युरोपेली सङ्घका एक सांसदले भर्खरै आफू प्यालेस्टिन पुगी अध्ययन गरी फर्केको र त्यहाँको तेल र ग्यास अमेरिकाले ओसारिरहेको बताए । इजरायलले गाजापट्टिको ५२४ विलियन डलरको ग्यास र तेल भण्डारण कब्जा गर्न यो युद्ध गरेको हो ।”
अहिलेको युद्धविरामलाई स्थायी सम्झौतामा परिणत नगरिएसम्म अमेरिकी साम्राज्यवादविरोधी विश्वका जनताको प्रदर्शन र सभा चालू रहने धारणा सचिव सुवालले व्यक्त गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एव नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले प्यालेस्टिनी जनताको मुक्ति सङ्घर्षको आन्दोलनमा नेपाली कामदारवर्गका महिलाको तर्फबाट ऐक्यबद्धता जनाउँदै प्यालेस्टिनी जनताको समर्थनमा बोल्नु अमेरिकी साम्राज्यवादको विरोधमा सङ्घर्ष गर्नु हो भन्नुभयो ।
नेमकिपाले स्वतन्त्र र स्वाधीन देशको पक्षमा बोल्न तथा अत्याचार र अन्यायविरूद्ध लड्न सिकाएको बताउँदै उहाँले इजरायली फासीवादले अमेरिकी साम्राज्यवादको साथ र सहयोगमा प्यालेस्टिनी महिला र बालबालिकाको हत्या गरिरहेको चर्चा गर्नुभयो ।
इजरायल स्थापनामा पुँजीवादी र साम्राज्यवादी देशहरूको स्वार्थबारे प्रस्ट पार्दै उहाँले जबरजस्ती देश हडप्न खोज्नेहरूविरूद्ध प्यालेस्टिनी जनताको प्रतिकार स्वाभाविक भएको बताउनुभयो ।
प्यालेस्टिनमा क्रान्तिकारीहरू जन्मलान् भन्ने त्रासमा अमेरिकाले बालबालिकाको संहार गर्न लगाएको बताउँदै केन्द्रीय अध्यक्ष थापामागरले सानासाना बालबालिकालाई इजरायली सेनाले पक्राउ गरी यातना दिइरहेकोमा विरोध जनाउनुभयो ।
उहाँले नेपालका शासकहरू अमेरिकी साम्राज्यवादका पिछलग्गू भएको चर्चा गर्दै जाजरकोट र रूकुमका भूकम्पपीडित जनता, सुत्केरी बालबालिका चिसोले कठ्याङ्ग्रिएर मरिरहेको उल्लेख गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले अमेरिकाको चरित्र मुखमा शान्ति, प्रजातन्त्र र मानव अधिकार भए पनि बगलीमा युद्ध, हतियारजस्तै भएको बताउनुभयो ।
इजरायली सेनाले प्यालेस्टिनी महिला, बालिकाको हत्या गर्नु फासीवादको नृशंस रूप र जातीय सफायाका पराकाष्ठा भएको उहाँले बताउनुभयो ।
केन्द्रीय सदस्य सैंजूले भन्नुभयो, हरेक युद्धले अर्को सम्भावनाको पनि जन्म दिन्छ । हरेक युद्ध या सङ्कटले नयाँ नयाँ सम्भावना जन्माउँछ भनेझैँ इजरायल र अमेरिकाको यो युद्धले पनि विश्वलाई ज¥याकजुरूक उठाएको छ† न्यायको पक्षमा, शान्तिको पक्षमा, युद्धको विरूद्धमा जनलहर उठाएको छ ।”
सभामा मन्जु लाखा र ममिता श्रेष्ठले पनि बोल्नुभएको थियो ।
लगनखेलबाट सुरू भएको जुलुस मङ्गलबजारमा पुगी सभामा परिणत भएको थियो ।
जुलुसमा सहभागीहरूले प्यालेस्टिनी स्वतन्त्रता जिन्दावाद, इजरायली फासीवाद मुर्दावाद, युद्धविरोधी जनता एक होऔँ, स्थायी युद्धविराम सम्झौता गर, प्यालेस्टिनी जनतालाई बाँच्न दे, गाजापट्टीमा नरसंहार बन्द गर, प्यालेस्टिनमा जातीय सफाया बन्द गर, प्यालेस्टिनी भूमि फिर्ता गर, अमेरिकी दलाल नेतन्याहु मुर्दावाद, युद्ध सरदार बाइडेन मुर्दावाद, नेपाल क्रान्तिकारी महिला सङ्घ जिन्दावाद, नेपाल मजदुर किसान पार्टी जिन्दावादलगायतका नारा लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *