भर्खरै :

जनता लोभलालचमा फस्न नहुने

जनता लोभलालचमा फस्न नहुने

दैलेख, १६ मङ्सिर । नेपाल मजदुर किसान पार्टी आठबिस नगरपालिका वडा नं ९ को तेस्रो वडा सम्मेलन शनिबार सम्पन्न भयो ।
सम्मेलनमा नेमकिपा जिल्ला समिति दैलेखका अध्यक्ष जगत वलीले सत्तासीनहरू गुण्डा र माफियाहरूको पक्षमा जान नहुने चर्चा गर्दै नेपाली जनतालाई दिउँसै हत्या गर्ने हत्यारालाई जेल हाल्नुको सट्टा जेल मुक्त गर्नेहरू कसरी सद्दे हुन्छन् भन्नुभयो ।
पद र पैसाको लागि राजनीति गर्ने सत्तासीन दलले अपराधीहरूलाई माफी दिएर गलत राजनीति गरिरहेको उहाँले बताउनुभयो । “नेपाली जनता कुनै लोभ प्रलोभनमा नपरी सचेत बन्नु जरुरी छ”, उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य निरकबहादुर शाहीले कार्तिक १७ गते जाजरकोट र पश्चिम रुकुम केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा जनताले थप पीडा खेपिरहेको बेला सरकारले सही, निष्पक्ष र समान तरिकाले राहत वितरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालीहरू युद्धस्थलमा जान बाध्य पार्ने काम सरकारले गरिरहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी जिल्ला समिति दैलेखका उपाध्यक्ष लक्ष्मीकुमार विक, सहसचिव टीकाराम कठायत, खड्कबहादुर कठायत, सैरे कामी, शेरबहादुर विक, नेमकिपा आठबिस नगर समितिका अध्यक्ष जयबहादुर बडुवाल, नेमकिपा आठबिस नगर समितिका सदस्य नन्दरूपा बडुवाल, नेक्राकिसङ्घ दैलेख जिल्ला समितिका उपाध्यक्ष रतनबहादुर कठायत, नेक्राशिसङ्घ दैलेख जिल्ला सल्लाहकार समितिका सदस्य दलबहादुर सिजापति, नेक्रायुसङ्घ आठबिस नगर समिति सचिव नवीनकुमार सिजापति, नेक्राशिसङ्घका अध्यक्ष कलमबहादुर सिजापति, नेक्राविसङ्घका अध्यक्ष गीताकुमारी विक, नेमकिपा वडा नं ८ एकाइ समितिका अध्यक्ष रामबहादुर सिजापति, वडा नं ७ एकाइ समिति अध्यक्ष रणबहादुर कठायत, नेमकिपा वडा नं ९ एकाइ समितिका उपाध्यक्ष विष्णु कठायत र कटक विकलगायतका वक्ताहरूले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।
धनबहादुर सिजापतिले पनि बोल्नुभएको सो कार्यक्रम नेमकिपा ९ नं वडा सम्मेलन तयारी समितिका संयोजक तेजबहादुर सिजापतिको सभापतित्वमा भएको छ । कार्यक्रममा विभिन्न स्थानीय देउडा गीत र पञ्चे बाजा प्रस्तुत गरिएको थियो । सभाअघि जुलुस भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *