भर्खरै :

देश र जनता असुरक्षित हुनुमा साम्राज्यवादीहरू नै दोषी

देश र जनता असुरक्षित हुनुमा साम्राज्यवादीहरू नै दोषी

युद्ध विरामको समय सकेलगत्तै इजरायलले गाजापट्टीमा फेरि आक्रमण गरेर धनजनको क्षति पु¥याएको छ । इजरायलले गरिरहेको आक्रमणको स्वरूप हेर्दा इजरायली सरकार प्यालेस्टाइनलाई ध्वस्तै पार्न चाहेको देखिन्छ, प्यालेस्टाइन जनतालाई विस्थापित गरेर प्यालेस्टाइन देश विश्वबाटै नामेट पार्न लागिरहेको देखिन्छ । यसरी बलियो र ठुलो शक्तिशाली देशले साना, स्वाधीन र सार्वभौम देशमाथि आक्रमण गर्दै जाने हो भने भोलिको संसारको स्वरूप के होला ? के अन्य साना स्वाधीन देशहरूको अस्तित्व यो संसारमा रहन्ला ? के संसार बलियो शक्ति राष्ट्रहरूको हो ? न्याय–अन्याय, सही–गलतको कुनै नहेरी गरिरहेको आक्रमण र आक्रमण गरे पनि टुलुटुलु हेरेर बस्नुपर्ने यो बाध्यता किन साना देशहरूलाई ? के सानो देशको अस्तित्व हुँदैन ? सानो देशका जनता बाँच्नु पर्दैन ?
सानो देश कब्जा गर्दै जाने ठुला शक्ति राष्ट्रहरूको दादागिरीको विरोध के संरा सङ्घले गर्नुपर्दैन ? प्यालेस्टाइनमाथि भइरहेको आक्रमण रोक्न संरा सङ्घले पहल गर्नुपर्दैन ? के संरा सङ्घ साम्राज्यवादी देश अमेरिकाको कठपुतली हो ? मानव अधिकार, प्रजातन्त्र, स्वतन्त्रताको बखान गर्ने अमेरिका प्यालेस्टाइनी जनतालाई इजरायली सेनाले कीराफट्याङ्ग्रालाई जस्तै मारे पनि गर्व गर्ने र अझ सहयोग गर्ने के आतङ्ककारी देश होइन ? आज संरा अमेरिकाकै कारण संसारका स्वाधीन देशहरू आतङ्कित र असुरक्षित छन् । अमेरिकाले विश्वका स्वाधीन देशहरूलाई आफ्नो छत्रछायामा राख्ने र अन्यथा आक्रमण गर्ने, संसारबाट देशको सङ्ख्या घटाउँदै जाने शक्ति राष्ट्रहरूविरूद्ध संसारका स्वाधीनताप्रेमी र शान्तिप्रेमी जनता एकजुट भएर अमेरिका र इजरायलविरूद्ध जुध्नुपरेको छ ।
आज प्यालेस्टाइनमा प्यालेस्टाइन जनता जलिरहेका छन्, रोग, भोक र शोकले मरिरहेका छन् । प्यालेस्टाइन देश जलिरहे पनि साम्राज्यवादी शासकहरू आनन्दले श्वास फेरिरहेका छन् । प्यालेस्टाइन जनताको नृशंस हत्या गर्ने इजरायली सरकार र हत्यामा खुसियाली मनाउने शासकहरू यसका दोषी हुन् । इजरायली आक्रमण प्यालेस्टाइन देश नामेट पार्नेमात्र होइन प्यालेस्टिनी जनता नै सखाप पार्ने क्रूर आक्रमण हो । यिनीहरु मानवीय मूल्य र मान्यता तथा गुण नभएका निर्दयी शासकहरू हुन् । यस्ता क्रूर, निर्दयी तानाशाहहरू संसारमा रहेसम्म संसारका स्वाधीन देशका जनताले सन्तोषको सास फेर्न पाउने छैनन्, सुरक्षित हुने छैनन् ।
देशलाई ध्वस्त पार्ने आक्रमणकारी, नरसंहार गर्ने शासकहरूलाई अन्तर्राष्ट्रिय अदालतको कठघरामा उभ्याइनुपर्छ । आक्रमणकारी शासकहरूको चलखेल भइरहेसम्म देश र जनता सुरक्षित नहुने हुँदा फेरि एकचोटि विश्वका जनता आ–आफ्नो स्थानबाट उठ्नुपर्छ, एकजुट हुनुपर्छ र जनताको तातो रगत पिउने राक्षसरूपी नरपशुहरूलाई ठेगान लगाउनुपर्छ । देश र जनता जोगाउने अभियान थालनी गरिएन भने भोलि संसारका साना देश कुनै पनि बाँकी रहने छैनन् । यसकारण विश्वबाटै साम्राज्यवादी नीतिको अन्त्य गर्नुपर्छ, अन्त्य गर्न विश्वका सबै न्यायप्रेमी र स्वाधीन देशहरू एक ठाउँमा उभिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *