भर्खरै :

उद्यमशीलता विकास कार्यक्रमबारे अन्तरक्रिया

उद्यमशीलता विकास कार्यक्रमबारे अन्तरक्रिया

भक्तपुर, १९ मङ्सिर । वागीश्वरी कलेज, कमलविनायकमा उद्यमशीलता विकास कार्यक्रमबारे एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । विश्वविद्यालय अनुदान आयोग र वागीश्वरी कलेजको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा उद्यमशीलताको लागि छानिएका विद्यार्थीहरूसँग आयोगका विज्ञहरूले अन्तरक्रिया गर्नुभएको थियो ।
कार्यक्रममा आयोगको अनुसन्धान तथा छात्रवृत्ति विभागका प्रा.डा. लालप्रसाद आमगार्इंले देशको युवा जनशक्ति विदेश पलायन भइरहेकोमा चिन्ता व्यक्त गर्दै विदेशमा एक नेपालीले अर्को नेपालीलाई गोली हानाहान गरी मारिरहेको युक्रेन–रुस युद्धको चर्चा गर्नुभयो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आफू डीन भई कार्य गर्दाका विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल जाँदा १० जना होनहार युवाहरूले ज्यान गुमाएको पीडा पोख्दै उहाँले अब नेपाली युवाले नेपालमै उद्यम गर्न लगाउन आयोगले यो कार्यक्रम ल्याएको बताउनुभयो ।
आयोगको उद्यमशीलता विकास कार्यक्रमको क्रममा सबभन्दा पहिले वागीश्वरी कलेजबाटै काम थालेको हुँदा अरूको निम्ति यो प्रेरणादायी हुनुपर्ने विचार व्यक्त गर्दै उहाँले हरेक नेपाली युवामा अब देशभक्ति भावना जाग्नुपर्ने र यही आफ्नो उज्ज्वल भविष्य खोज्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रा.डा. मोहन अर्यालले कक्षा कोठाको पाठसित उद्यमशीलता जोड्ने प्रयास भइरहेको चर्चा गर्दै सङ्कटमा अवसर खोज्न नयाँ पुस्ता सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । अनेक असफलताहरूको अनुभवबाट खारिएरै सफलता हात लाग्ने चर्चा गर्दै उहाँले नयाँ पुस्ताको जोश, जाँगर र पुरानो पुस्ताको अनुभव मिलाएर अघि जानुपर्ने बताउनुभयो ।
त्यस्तै आयोगका पूर्वनिर्देशक एवं विज्ञ डा. प्रमोद पौडेलले विद्यार्थीलाई बिनाधितो र बिना ब्याज आयोगले कलेजमार्फत बीउ पुँजी दिई पढ्दै कमाउने अवसर दिन लागेको उल्लेख गर्दै विदेसिशरहेको युवा पलायनलाई सकेसम्म रोक्ने प्रयास गर्न लागेको बताउनुभयो । यहाँले ५ लाख देखि ४० लाखसम्मको पुँजीमध्ये पाँच वर्षमा आफ्नो ४० प्रतिशत र आयोगको ६० प्रतिशत लगानी हुने र पाँच वर्षपछि उक्त पुँजी कलेजमै तिरी नयाँ विद्यार्थीलाई पँुजी लगानी गर्न लगाउने हुनुपर्छ भन्नुभयो ।
उद्यमशीलतामा छानिएका विद्यार्थीद्वय निष्ठा कायष्ठ र कृपा प्रजापतिका साथै प्रस्ताव पेस गरेका अन्य विद्यार्थीहरूसित दोहोरो छलफल भएको उक्त कार्यक्रममा प्राचार्य धनकुमार श्रेष्ठले स्वागत गर्नुभएको थियो भने कलेज व्यवस्थापन समितिका सदस्य एवं वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले धन्यवादसहित अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *