भर्खरै :

मध्यपूर्वको भ्रमणको क्रममा रूसी राष्ट्रपति पुटिन अबूधाबीमा

मध्यपूर्वको भ्रमणको क्रममा रूसी राष्ट्रपति पुटिन अबूधाबीमा

अबू धाबी, २० मङ्सिर (एएफपी) । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पूर्व सोभियत सङ्घ बाहिरको दुर्लभ भ्रमणका लागि बुधबार संयुक्त अरब इमिरेट्स (युएई) आइपुग्नुभएको छ ।
युक्रेन युद्धलाई लिएर पश्चिमा देशहरूबाट अलग्गिएका पुटिनले मध्यपूर्वका मित्रराष्ट्रहरूसँगको सहकार्यलाई वृद्धि गर्नुभएको छ ।
अरब मुलुकहरूको भ्रमणका क्रममा उहाँले तेल, व्यापार र इजरायल–हमास द्वन्द्वबारे छलफल गर्नुहुनेछ ।
“भ्लादिमिर पुटिन युएईको औपचारिक भ्रमणका लागि आइपुग्नुभएको छ,” क्रेमलिनले साउदी अरबको भ्रमण गर्नुअघि भन्नुभयो ।
युएईका विदेशमन्त्री अब्दुल्लाह बिन जायद अल नाह्यान र अन्य अधिकारीहरूले रनवेमा पुटिनलाई अभिवादन गरेको रूसको सरकारी टेलिभिजनले देखाएको छ ।
अरब विश्वमा रूसको मुख्य आर्थिक साझेदार युएईमा रहँदा उहाँले व्यापार र तेल इन्धन आपूर्तिसम्बन्धी विषयमा छलफल हुने भ्रमणअघि क्रेमलिनद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ ।
क्रेमलिनका अनुसार सन् २०२२ मा दुई देशबीचको द्विपक्षीय व्यापार नौ अर्ब अमेरिकी डलर पुगेको छ ।
पुटिनले साउदी अरबमा राजकुमार मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।
युक्रेनमा आक्रमण गरेपछि इरान र चीनको भ्रमणका अलावा पूर्व सोभियत सङ्घबाहिर रूसी नेताको यो तेस्रो भ्रमण हो ।
पुटिनलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले युक्रेनी बालबालिकालाई गैरकानुनी रूपमा निर्वासित गरेको आरोप लगाउँदै युद्ध अपराधको अभियोगमा मार्चदेखि खोजी गरिरहेको छ ।
पुटिनले गत अगस्टमा दक्षिण अफ्रिकामा भएको ब्रिक्स शिखर सम्मेलनमा भाग लिने हल्ला भएपनि अन्तिममा युक्रेन युद्धबारे राजनीतिक विवाद बल्झिने देखेपछि भ्रमण रोकिएको थियो । सेप्टेम्बरमा भएको जी–२० शिखर सम्मेलनमा पनि उहाँ सहभागी हुनुभएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *