भर्खरै :

के नेपालमा पीत पत्रकारिता फस्टाउँदै छ ?

के नेपालमा पीत पत्रकारिता फस्टाउँदै छ ?

काठमाडौँ, २५ मङ्सिर । २१ मङ्सिर २०८० को ‘नागरिक’ दैनिकमा एक लेख छापियो, जसको शीर्षक हो– ‘इजरायल–हमास युद्धको बाछिटा ।’ त्यस लेखमा इजरायलले प्यालेस्टिनी जनतामाथि गरेको हमलालाई आक्रमण नभनी ‘इजरायल–हमास’ को मात्र हमला भन्नु संरा अमेरिकी बाइडेन प्रशासनको अपराधलाई ढाकछोप गर्नु हो । त्यस लेखले अमेरिकी साम्राज्यवादलाई सहयोग पुग्ने तलका विषयहरूबाट थाहा हुन्छ –
एक, लेखले इजरायलको आक्रमणको विरोध गर्नुभन्दा हमासको प्रत्याक्रमण र सङ्घर्षलाई दोष दियो ।
दुई, त्यस दृष्टिकोणले इजरायलको प्यालेस्टिनी भूमि र जनतामाथि नृशंस आक्रमणबारे सं.रा. अमेरिकाको हात छैन भन्नको निम्ति ‘अमेरिकाको अस्पष्ट नीतिको कारण’ बताउनु अमेरिकी साम्राज्यवादलाई इजरायलको अपराधबाट जोगाउने दुष्प्रयास हो ।
तीन, गाजामाथि इजरायलको हमलाप्रति संरा अमेरिकी साम्राज्यवाद ‘मूकदर्शक’ भएर बसेको लेखले भन्नु कालोलाई सेतो बनाउने पीत पत्रकारिता गर्नु हो । आज संसारलाई थाहा छ– इजरायलको स्थापनामा सन् १९४८ देखि क्याम्प डेभिड सम्झौतासम्म संरा अमेरिका, बेलायत र अन्य युरोपेली देशहरू वा नाटोका देशहरूसमेत संलग्न थिए । तर, टर्कीजस्ता केही देश फरक मत राख्थे ।
अहिलेको इजरायलको नेतृत्व गर्ने नेतन्याहु अमेरिकी साम्राज्यवादकै पिट्ठु र दलाल हो । हातहतियार, अर्बौँ डलर सहयोग र इजरायलप्रति पश्चिमाहरूको समर्थन जुटाउनुमा अमेरिकाकै अगुवाइ हो । दिउँसोको घामजस्तै प्रस्ट इजरायलको यो क्रूर र अमानवीय आक्रमणलाई ‘मूकदर्शक’ भनेर अमेरिकालाई साखुल्ले बनाउनु हाल इजरायलबाट मारिएका सयौँ र हजारौँ बाल–बालिका, सुत्केरी, महिला, विद्यालय÷कलेज, शरणार्थी शिविर र अस्पतालमाथि भइरहेको आक्रमण र अपराधबाट अमेरिकी साम्राज्यवादलाई जोगाउन खोज्ने निन्दनीय कुप्रयास हो ।
चार, लेख भन्छ, “इजरायलको सैनिक सामथ्र्यको आधार अमेरिका र बेलायती समर्थन हो ।” लेखको यो भनाई इजरायललाई आक्रमण र सैनिकरूपले युद्ध गराउन उक्साएको अपराध अमेरिकी साम्राज्यवादको नभई मसिनो स्वरमा ‘आक्रामक’ होइन ‘आक्रमण’ को समर्थन मात्र गरेको हो भनी प्रमुख अपराधी अमेरिकी साम्राज्यवादलाई पुनः जोगाउन खोज्ने असफल प्रयास मात्र हो ।
पाँच, लेखले हतियार बेचेर युद्धबाट ‘लाभ’ लिँदै युद्धलाई समर्थन गर्नु “कुनै पनि शक्तिको लागि सुहाउने कुरा होइन” भन्नुको अर्थ अमेरिकी साम्राज्यवाद “हतियार व्यापार र युद्धको सौदागर” हो भनी किटान गर्न किन डराएको भनी प्रश्न उठ्नुसरह हो । खेलौना हात्तीलाई बट्टामा लुकाएजस्तै अमेरिकी साम्राज्यवादको ‘लोभ’ भन्दा पनि पेसा हो – हतियार बेच्नु र युद्ध गर्नु र गराउनु । यसलाई कसैले लुकाएर लुक्दैन ।
छ, लेखले भन्छ– “विश्व शक्तिले यस्तो परिस्थितिमा बुद्धिमत्तापूर्ण भूमिका खेल्न नखोज्नु अकर्मण्यता मात्र ठहरिने छ ।” अहिले संसारमा विश्व शक्ति एउटा मात्रै छैन । विश्व आज एकधु्रवीय होइन बहुध्रुवीय बन्दै छ भने यहाँ कुन विश्व शक्ति हो, जसले “यस्तो परिस्थितिमा बुद्धिमत्तापूर्ण भूमिका खेल्न नखोज्ने” अकर्मण्य शक्ति को हो ? भन्ने गम्भीर प्रश्न उठ्छ । के त्यसको सङ्केत चीनप्रति हो ? अमेरिकी साम्राज्यवाद नै आजको विश्वको युद्धसरदार हो भनी किन भन्न हिच्किच्याउँदै छ ? यो एक गम्भीर प्रश्न हो ।
सात, यस लेखको सार हो– ‘नागरिक’ दैनिकको नियत अमेरिकी साम्राज्यवादले हतियार व्यापार गरेको र पर्दा पछाडि बसी इजरायललाई प्यालेस्टिनमाथि आक्रमण गरेको पनि ठिक्कै हो । त्यो ‘बुद्धिमत्तापूर्ण’ भूमिका हो । अरु विश्व शक्तिहरूले संरा अमेरिकी साम्राज्यवाद र इजरायली जातिवादी जघण्य अपराधलाई ‘बुद्धिमत्तापूर्ण’ ढङ्गले बचाउन नखोज्नु ‘अकर्मण्यता’ हो ।
मोही माग्ने ढुङ्ग्रो लुकाउने काम धेरै दिन चल्दैन, अमेरिकी साम्राज्यवादलाई विरोध र निन्दा नगर्ने कुनै दल र प्रचार साधन नेपालमा अहिले प्रगतिशील र देशभक्त नभई प्रतिक्रियावादी हुनेबारे कुनै शङ्का छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *