भर्खरै :

माटोको गुणस्तर विषयमा सहकारी तथा कृषकहरूबिच अभिमुखीकरण कार्यक्रम

माटोको गुणस्तर विषयमा सहकारी तथा कृषकहरूबिच अभिमुखीकरण कार्यक्रम

भक्तपुर, २५ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा कम्पोष्ट मल बिक्री वितरण तथा माटोको गुणस्तर विषयमा सहकारी तथा कृषकहरूबिच सोमबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले माटोको उर्वराशक्ति थाहा पाउन किसानहरूले आफ्नो माटोको परीक्षण प्रयोगशालामा गराउनु आवश्यक छ भन्नुभयो ।
कृषि क्षेत्रको विकास नै अन्य पूर्वाधारहरूको विकासको आधार भएको बताउँदै उहाँले नेपाल कृषि कर्मको लागि उपयुक्त ठाउँ भए पनि युवाहरू विदेसिने समस्याका कारण नेपालमा कृषि प्राविधिकहरूको अभाव रहँदै आएको बताउनुभयो ।
उहाँले भक्तपुर आजको अवस्थामा आइपुग्नुमा यहाँका राजनैतिक कार्यकर्ता र किसान कार्यकर्ताहरूको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो ।
सरकारले युवाहरूलाई विदेश पठाएर देश युवाविहीन अवस्थामा पुगेको र कृषि भूमि नै बाँझो हुन थालेको प्रसङ्ग जोड्दै प्रमुख प्रजापतिले सरकारले भारतीय तरकारी आयात बन्द गरेमा नेपाली किसानहरूले आफ्नो बालीको उचित मूल्य पाउने र कृषकहरू उत्साहित हुने बताउनुभयो ।
सरकारले नयाँ नयाँ बीउबिजन र आधुनिक खेतीको लागि आवश्यक बन्दोबस्त गर्नुपर्ने उहाँले बताउनुभयो ।
भक्तपुर नपा कृषि समितिका सदस्य गोविन्द दुवालले गुणस्तरहीन रासायनिक मलको प्रयोगका कारण किसानहरूको उत्पादनमा कमी आएको बताउँदै किसानहरूले अनुदानको मल पनि दोब्बर मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
भक्तपुर नपाका कृषि प्राविधिक रवि ख्याजुले मलखाद् व्यवस्थापन, जथाभावी रासायनिक मलको प्रयोगको नकारात्मक असर र त्यसलाई न्यूनीकरण गर्न प्राङ्गारिक मलको प्रयोग र फाइदाको विषयमा प्रस्ट पार्नुभयो ।
कार्यक्रममा कृषि समितिका सदस्य कृष्णलाल किसी, भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *