भर्खरै :

भक्तपुर नगरपालिका र चीनको लशान नगरपालिकाबिच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापनाबारे समझदारी पत्रमा हस्ताक्षर

भक्तपुर नगरपालिका र चीनको लशान नगरपालिकाबिच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापनाबारे समझदारी पत्रमा हस्ताक्षर

भक्तपुर, २६ मङ्सिर । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको वाग्मती प्रदेशको भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको स्—छुवान प्रान्तको लशान नगरपालिकाबिच मङ्गलबार मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापित भएको छ ।
लशान नगरपालिका उपप्रमुख लेइ चियनसिनको नेपाल भ्रमणको अवसरमा भक्तपुर नगरपालिका र लशान नगरपालिकाबिच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापनाको समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
समझदारी पत्रमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र लशान नगरपालिका जनसरकारका प्रमुखको अनुमतिमा उपप्रमुख लेइ चियनसिनद्वारा संयुक्तरूपमा हस्ताक्षर गर्नुभएको हो ।
भक्तपुर नगरपालिका र चीनको स्—छुवान प्रान्तको लशान नगरपालिकाबिच भएको छलफलपछि यी दुई नगरपालिकाहरूबिच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापना गरी भविष्यमा दुई नगरपालिकाहरूबिच पारस्परिक सम्बन्ध विकास र विस्तारका कार्यहरूलाई अगाडि बढाउने उद्देश्यका साथ उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
समानता र पारस्परिक लाभका आधारमा दुई नगरपालिकाले अर्थतन्त्र, व्यापार, संस्कृति, शिक्षा, पर्यटन, स्वास्थ्य, हस्तकला, खेलकुदलगायतका क्षेत्रमा विभिन्न प्रकारका सहकार्य र आदानप्रदान गरिने र आदानप्रदानको प्रगतिको आधारमा दुवै नगरपालिकाले उपयुक्त समयमा अन्तर्राष्ट्रिय भगिनी सहर सम्बन्धको स्थापनालाई अगाडि बढाउन मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापना गरिएको हो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका र लशान नगरपालिकाबिच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापना गरी भविष्यमा पारस्परिक हित हुने गरी सहकार्य र सहयोग गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गर्न पाएकोमा खुसी प्रकट गर्नुभयो ।
प्रमुख प्रजापतिले समझदारी पत्रमा उल्लेख भएबमोजिम दुई नगरपालिकाबिच समानता र पारस्परिक हितलाई ध्यानमा राखेर अर्थतन्त्र, व्यापार, शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, हस्तकला, खेलकुदलगायतका क्षेत्रमा सहयोग आदानप्रदान हुने आशा व्यक्त गर्नुभयो ।
त्यस्तै लशान नगरपालिकाका उपप्रमुख लेइ चियनसिनले दुई नगरबिचको मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापनाबाट हुने आर्थिक, पर्यटन तथा सांस्कृतिक आदानप्रदानले दुवैको सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
लशान सिचुवान प्रान्तकै विकासको सम्भावना बोकेको नगरपालिकाको रूपमा विकास भइरहेको अवगत गराउँदै उपप्रमुख चियनसिनले मैत्रीपूर्ण सम्बन्ध स्थापनाबाट दुई नगरबिच हुने कृषि, सम्पदा संरक्षण, सांस्कृतिक पर्यटन आदानप्रदानले दुवै नगरको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो ।
भक्तपुर अवलोकनको क्रममा भक्तपुर नपाले जनताको लागि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी कलेज र अस्पताल सञ्चालनबाट आफूहरू निकै प्रभावित भएको उल्लेख गर्दै उहाँले भक्तपुरको सम्पदा पुनःनिर्माण कार्य निकै स्वागतयोग्य भएको बताउनुभयो ।
समझदारी पत्र हस्ताक्षर समारोहमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू, शाखा प्रमुखहरू, नपाबाट सञ्चालित कलेजका प्रमुखहरू तथा नगरका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।
सोही समारोहमा चिनियाँ कम्युनिस्ट पार्टी लशान नगर समितिका शैक्षिक कार्य समिति सहसचिव लिउ यउज्युन, चिनियाँ कम्युनिस्ट पार्टी लशान नगर समितिको संस्कृति, रेडियो र पर्यटन ब्युरोका योजना प्रमुख लिऊ सियाओफाङ, चिकपा लशान नगर स्वास्थ्य आयोगका उपनिर्देशक याङ यान, चिकपा लशान नगर समितिको आर्थिक सहकार्य तथा परराष्ट्र मामिला ब्युरोका उपनिर्देशक यु लिवन, चिकपा लशान नगर समितिका सदस्य एवम् लशान विशाल बुद्ध अवलोकन क्षेत्रका प्रमुख तथा लशान विशाल बुद्ध अवलोकन क्षेत्र अनुसन्धान संस्थानका अध्यक्ष फान युआनयुआनलगायतको उपस्थिति थियो ।
यसअघि टोलीले भक्तपुर दरबार क्षेत्र, टौमढी, दत्तात्रय क्षेत्रको अवलोकन गरेको थियो । टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप अस्पताल र ख्वप कलेज अफ इन्जिनियरिङको पनि स्थलगत अवलोकन गरी त्यहाँको वस्तुगत अवस्थितिबारे जानकारी लिएको थियो ।
लशान नगरपालिकाका उपप्रमुख लेइ चियनसिनको नेतृत्वमा आएको प्रतिनिधिमण्डल टोलीलाई भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले स्वागत गर्नुभएको थियो भने नगर प्रमुख सुनिल प्रजापतिसँग भनपा सभाकक्षमा भेटवार्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *