रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
भक्तपुर, २ पुस । भक्तपुर नगरपालिका स्थापना भएको पुस २ गते ७५ औँ वर्षमा प्रवेश ग¥यो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको ७४ औँ स्थापना दिवसको अवसरमा सोमबार नगरपालिकाको सभाकक्षमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले जनप्रतिनिधि र कर्मचारीहरू आफ्नो काम, कर्तव्य र अधिकारबारे प्रस्ट हुनुपर्ने बताउँदै कर्मचारीहरू राजनीतिकरूपमा सचेत र सङ्गठित हुन जरुरी रहेको बताउनुभयो ।
प्रदेश सरकार प्रभावकारीरूपमा सञ्चालन हुन नसक्दा जनतामा निराशा छाएको बताउँदै उहाँले प्रदेशका मुख्यमन्त्रीहरू जनताको समस्या सम्बोधन गर्नुभन्दा पनि ठुल्ठुला भवनहरू निर्माणमा आफ्नो समय खर्चिरहेको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायत नयाँ नयाँ विषयमा भक्तपुरलाई ‘टेस्ट ट्युब’ को रूपमा विकास गर्न सके देशलाई नै फाइदा पुग्ने बताउँदै उहाँले नेपालमा सङ्घीयताको सफल कार्यान्वयन हुन नसक्दा र स्वायत्तताको दुरुपयोग हुँदा देश विखण्डित हुने खतरा बढिरहेको बताउनुभयो ।
सांस्कृतिक नगर बनाउने विषयमा छलफल आवश्यक भएको बताउँदै उहाँले देशका शासकहरूले पुरानै शैलीमा शासन गर्न खोजेमा सङ्घीयता असफल हुने खतरा निम्तिने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको इतिहासबारे प्रस्ट पार्दै निर्वाचन घोषणापत्रमार्फत जनतालाई दिएका वचनहरू एक एक गरी पूरा गर्न भक्तपुर नपाका जनप्रतिनिधिहरू कटिबद्ध भएर अगाडि बढिरहेको बताउनुभयो ।

संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी भक्तपुर नपाले आवश्यकताअनुसार ऐन, नियम, विनियम र कार्यविधि बनाई जनताको हितमा काम गर्दै आइरहेको चर्चा गर्दै उहाँले भक्तपुरलाई सफा, सुन्दर र विश्वकै हेर्नलायक नगर बनाउने काममा नगरपालिकासँगै जनताको पनि निरन्तर साथ र सहयोगको आवश्यकता औँल्याउनुभयो ।
राजनीतिलाई जनताको सेवा गर्ने नीतिअनुरूप भक्तपुर नपाका जनप्रतिनिधि र कर्मचारीहरू परिचालित रहेको बताउँदै प्रमुख प्रजापतिले निर्वाचनमा भाग लिई जनताको सेवा गर्ने नीतिअनुसार पञ्चायती व्यवस्थामा पनि अविचलितरूपमा जनतालाई राजनीतिकरूपले सचेत पार्ने अभियानमा नपा क्रियाशील रहेको प्रस्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिका देशभरिका स्थानीय सरकारको लागि अनुकरणीय नगरपालिकाको रूपमा रहेको बताउनुभयो । उहाँले देशकै परिपक्व नगरपालिकाको रूपमा रहेको भक्तपुर नपाको गौरवपूर्ण इतिहासलाई कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र, पर्यटकीय गन्तव्य स्थल र सांस्कृतिक नगर घोषणा गर्ने योजनासहित भक्तपुर नगर अघि बढिरहेको पनि सोही क्रममा बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले सुशासन, कार्यशैली, कर्मचारी अनुशासन आदिमा भक्तपुर नपा अब्बलरूपमा प्रस्तुत भइरहेको बताउनुभयो ।
भक्तपुरलाई सफा र सुन्दर बनाउन यहाँका सफाइ कर्मचारीहरूको ठुलो भूमिका रहेको बताउँदै उहाँले भक्तपुर नपाले विदेशी सहयोगविना आफ्नै बलबुतामा भक्तपुरको विकास गर्नु नै यहाँको मुख्य विशेषता भएको बताउनुभयो ।
नेपाल नगरपालिका कर्मचारी एसोसियसनका अध्यक्ष गौतमप्रसाद लासिवाले इमानदार र भ्रष्ट कर्मचारीहरूको पहिचान गरी आवश्यक पुरस्कार र दण्डको व्यवस्था हुनुपर्ने बताउँदै तालिम र प्रशिक्षणमार्फत कर्मचारीहरूको वृत्ति विकासमा ध्यान दिनु आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले कलेज र अस्पताल स्थापनाको उद्देश्य र त्यसबाट प्रवाहित सेवा सुविधाबारे अवगत गराउनुभयो ।
भनपा–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको उक्त कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
सोही क्रममा प्रमुख अतिथि बिजुक्छेँले सकिमना पुन्हीको दिन हलिमली ब्वज्या (नसा ब्वज्या) सम्बन्धी फोटो प्रतियोगिता र लघु वृत्तचित्र प्रतियोगिताका विजयीहरू नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

भक्तपुर नपाले सकिमना पुन्हि (२०८० मङ्सिर ११) को अवसरमा हलिमलि ब्वज्याको फोटो प्रतियोगितामा सुरेशराज शाक्य प्रथम, जयराम प्रजापति द्वितीय, किपा किजु डिजिटल फोटो तृतीय, उज्ज्वलचन्द्र बुद्धाचार्र्यले सान्त्वना पुरस्कार पाउनुभएको थियो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई रु. २० हजार, द्वितीय हुनेलाई रु. १५ हजार, तृतीय स्थान हासिल गर्नेलाई १० हजार र सान्त्वनालाई ७ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै, भक्तपुरको मौलिक पहिचान झल्किने कला, साहित्य, संस्कृति, शिक्षा र स्वास्थ्यलगायतका विषयको लघु वृत्तचित्त प्रतियोगितामा ‘विश्वया उत्कृष्ट नमुना सहर ख्वप’ नामक ख्वप मिडिया सर्कलको प्रस्तुति रहेको लघु वृत्तचित्रका हरिकृष्ण दुवाल प्रथम, ‘क्वाटी’ का तुल्सीकेशरी बासी द्वितीय, ‘कला संस्कृति’ का अनिष वेंजु तृतीय, ‘बिस्का जात्रा’ का रवीन्द्र किजुले सान्त्वना पुरस्कार पाउनुभएको थियो । त्यस्तै, प्रतियोगितामा प्रथम हुने विजेतालाई नगद रु. २५ हजार, द्वितीय हुनेलाई रु. २० हजार, तृतीय हुनेलाई रु. १५ हजार र सान्त्वनालाई रु. १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
Leave a Reply