के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
भक्तपुर, ५ पुस । विश्व कम्युनिस्ट आन्दोलनका एक महान् नेता स्तालिनको १४५ औँ जन्म दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी, भक्तपुर नगर समितिले बिहीबार कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरेको छ ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पुँजीवादी सरकारमा जाने एमाले, माओवादीजस्ता तथाकथित कम्युनिस्ट पार्टीहरू रुसका मेन्सेभिक पार्टीजस्ता हुन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “मेन्सेभिकहरूले सशस्त्र सङ्घर्ष नगरेर चुनावबाटै समाजवादी व्यवस्था ल्याउने कुरा गरे । मेन्सेभिकहरूले पुँजीपतिवर्गसँग मिल्ने र राजा जारसँग पनि मिल्ने नीति लिए ।”
नेपालका कम्युनिस्ट आन्दोलनमा डा. माझीले राजा महेन्द्रको २०१७ सालको कदमको विरोध नगरेको उदाहरण राख्दै उहाँले डा. माझी पछि गएर राजसभाको सभापतिसमेत भएको घटना मेन्सेभिक प्रवृत्ति हो भन्नुभयो ।
अध्यक्ष रोहितले समाजवादको नारा दिने तर सार्वजनिक संस्थानहरू तथा उद्योगहरू बन्द गराउने शासक पार्टीहरू समाजवादी हुन नसक्ने भन्दै समाजवादी व्यवस्थाको निम्ति सशस्त्र सङ्घर्ष नै गर्नुपर्ने विचार राख्नुभयो ।
उहाँले भन्नुभयो, “क्रान्ति नगरी निर्वाचनबाट समाजवाद आउँदैन । प्रगतिशील कर प्रणाली लागू गरेर पनि समाजवाद आउँदैन ।” कम्युनिस्टहरूले गणतन्त्रमात्र भनेर नपुग्ने बरु समाजवादी गणतन्त्र नै भन्नुपर्ने उहाँको जोड थियो ।
अध्यक्ष रोहितले विचारधाराले नै मानिस सही वा गलत हुने तर्क गर्नुभयो । उहाँले जसरी पनि पैसा कमाउने उद्देश्य राख्ने मानिस कम्युनिस्ट हुन नसक्ने बताउनुभयो । व्यापक जनताको हितको निम्ति काम गर्नुपर्ने भन्दै उहाँले खराब वा गलत मानिसलाई समयमै पार्टीबाट निष्काशन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
व्यक्तिगत स्वार्थ नहेर्नु नै स्तालिनको शिक्षा हो भन्दै अध्यक्ष रोहितले सहकारी संस्थाहरूलाई व्यक्तिगत हितमा दुरुपयोग गर्नु गलत भएको भनाइ राख्नुभयो । सहकारी संस्थाले गरिब किसानको सेवा गर्नुपर्ने भन्दै उहाँले व्यक्तिको हितको कुरा कहिल्यै टुङ्गिन्न तर समाजकै हितको कुरा गर्नुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाई स्तालिनको योगदान र स्तालिनविरुद्धको दुष्प्रचारबारे प्रस्तुति राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सृजना सैँजुले स्तालिनको जीवन र योगदानबारे बोल्नुभएको थियो ।
नेमकिपा, भक्तपुर नगर समितिका अध्यक्ष एनबीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपप्राध्यापक विश्वमोहन जोशीले दोस्रो विश्वयुद्धमा स्तालिनको भूमिकाबारे प्रस्ट पार्नुभएको थियो ।
कार्यक्रममा मीरा दुगुजूले स्तालिनको जन्मदिवसको कार्यक्रमको औचित्यबारे बोल्नुभएको थियो ।
Leave a Reply