भर्खरै :

गाजामा बालबालिकाका लागि पिउने पानीको सङ्कट, युनिसेफद्वारा चिन्ता व्यक्त

गाजामा बालबालिकाका लागि पिउने पानीको सङ्कट, युनिसेफद्वारा चिन्ता व्यक्त

संयुक्त राष्ट्रसङ्घ, २१ डिसेम्बर (एएफपी) । गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’ को दुःखद् मृत्यु हुन सक्ने चेतावनी दिइएको छ ।
संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का प्रमुख क्याथरिन रसेलले बुधबार गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’ को दुःखद् मृत्यु हुन सक्ने चेतावनी दिनुभएको हो ।
युनिसेफकी कार्यकारी निर्देशक रसेलले भन्नुभयो, “पर्याप्त मात्रामा स्वच्छ पानीको पहुँच जीवन र मृत्युको विषय हो । गाजाका बालबालिकाले ‘थोपा थोपा’ मात्र स्वच्छ पानी पिउन पाएका छन् । यसका कारण बालबालिका र उनीहरूका परिवारले असुरक्षित स्रोतहरूको पानी प्रयोग गरिरहेका छन् जुन अत्यधिक प्रदूषित छ । सुरक्षित पानीको अभावमा आगामी दिनमा अझ धेरै बालबालिका अभाव र रोगका कारण मर्नेछन् ।”
करिब १० हप्ताभन्दा बढी समयदेखि निरन्तर बमबारी भइरहेको घटनापछि मानवीय सतर्कता अपनाइएको हो । गाजापट्टीको पानी उत्पादन, उपचार र वितरण सञ्जाललाई ठूलो असर पार्ने बमबारीबाट बच्नका लागि १४ लाखभन्दा बढी विस्थापित गाजावासीले प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय युएनआरडब्लुएद्वारा सञ्चालित सुविधाहरूमा वा नजिकै आश्रय लिएका छन् ।
युनिसेफका अनुसार दक्षिणी राफा प्रान्तमा हालै विस्थापित बालबालिकासँग दैनिक डेढदेखि दुई लिटरमात्र पानी छ र स्वच्छ खानेपानीको सेवा ‘अवरूद्ध अवस्थामा’ छ ।
संयुक्त राष्ट्रसङ्घीय निकायले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बाँच्नका लागि मात्र दैनिक न्यूनतम तीन लिटर पानी आवश्यक पर्छ । पिउने पानीको अभावका कारण लाखौँ विस्थापित भएका र तीमध्ये आधा बालबालिका पनि खाद्यान्न, आवास, औषधि र सुरक्षाको खाँचोमा छन् ।”
युनिसेफले बालबालिकामा झाडापखाला, रोग र कुपोषणको जोखिम बढी हुने भएकोले यस अवस्थाको असर विशेषगरी चिन्ताजनक रहेको चेतावनी दिएसँगै गाजामा आधारभूत पानी र सरसफाइ सेवा प्रदान गर्ने कम्तीमा ५० प्रतिशत सरसफाइका सेवाहरू पनि क्षतिग्रस्त वा नष्ट भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *