भर्खरै :

ख्वपका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान

ख्वपका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान

भक्तपुर, ६ पुस । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजमा शैक्षिक वर्ष २०७५/७६ मा स्नातक तहअन्तर्गत बीबीएस., बीए, बीएस्सी, बीएड, बीबीएम कार्यक्रममा भर्ना भएका विद्यार्थीहरूको बिदाइ तथा त्रिवि परीक्षा नतिजातर्फ एमए अङ्ग्रेजीमा सर्वोत्कृष्ट र बीबीएम आठौँ सेमेस्टरमा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरूलाई सम्मान कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विदेशमा उच्च शिक्षा हासिल गरेर पनि नेपाल र नेपाली जनताको सेवा गर्ने भावनाले विद्यार्थीहरूले अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालमा भएका विषयहरू नेपालमै अध्ययन गर्नुपर्ने र विदेशमा उच्च शिक्षा हासिल गरेर पनि देशको विकासमा आफ्नो ज्ञान र सीप प्रयोग गरी देशको सेवा गर्नुपर्नेमा जोड दिँदै उहाँले संसारका विभिन्न देशमा भएका क्रान्ति र विकासबारे सिक्दै नयाँ पुस्ता अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले विद्यार्थीहरूले सिक्ने विषयमा कहिल्यै विचलित हुन नहुने धारणा राख्नुभयो ।
विद्यार्थीहरूलाई देश विदेशको राजनीति र त्यहाँको क्रान्तिबाट सधैँ प्रशिक्षित गर्नुपर्ने धारणा राख्दै उहाँले आफू जुनसुकै पदमा बसेर काम गरे पनि आफ्नो समाजप्रति उत्तरदायी भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरूबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान र योग्य जनशक्ति उत्पादन भइरहेको बताउनुभयो ।
हरेक महिना १० हजारभन्दा बढी विद्यार्थी विदेश पढ्न गएको तथ्याङ्कले हाम्रो शिक्षा नीतिमाथि नै गम्भीर प्रश्न उठिरहेको चर्चा गर्दै उहाँले विद्यार्थी विदेश पलायन हुनुमा सरकार र विश्वविद्यालयहरूका पदाधिकारी जिम्मेवार भएको बताउनुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले विद्यार्थीहरूले आफ्नो अध्ययन र अनुसन्धानको क्रमलाई चालु राख्न मार्गनिर्देश गर्दै विद्यार्थीहरूको सफलता नै कलेजको उपलब्धि भएको बताउनुभयो ।
कार्यक्रममा ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य, ख्वप कलेजका उपप्राचार्य डा. राजेशकुमार श्रेष्ठ, शिक्षक कमिनिका न्याईच्याई र एम.ए. अङ्ग्रेजीमा स्वर्णपदक हासिल गरेकी पलिस्था रन्जितकारले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले ख्वप कलेजअन्तर्गत बीबीएम आठौँ सेमेस्टरमा ‘फो सीजीपीए’ ल्याउन सफल विद्यार्थीहरू अल्का मानन्धर, नविना जति र निकिता वयजू र एम.ए. अङ्ग्रेजी साहित्यमा ‘३.९१ सीजीपीए’ ल्याउन सफल विद्यार्थी पलिस्था रन्जितकारलाई सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *