भर्खरै :

हामादेव बचतको १६ औँ वार्षिक साधारणसभा

हामादेव बचतको १६ औँ वार्षिक साधारणसभा

भक्तपुर, ७ पुस । हामादेव बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
उक्त सहकारीको उद्घाटन गर्दै ‘मजदुर’ दैनिकका सम्पादक विष्णुगोपाल कुसीले असल बचत, असल ऋणी, असल कर्मचारी, असल पदाधिकारी भए संस्था भरपर्दो, विश्वासिलो र टिक्ने बताउनुभयो ।
समुदायमा आधारित सहकारी संस्थाले साधारणसभा, आर्थिक पारदार्शिता, लेखा परीक्षण, आर्थिक स्रोत परिचालन, सदस्य विस्तार, रकम सङ्कलन, ऋण लगानी, सहकारी शिविर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले संस्था सानो र ठुलोभन्दा पनि सही ढङ्गले परिचालन गर्नुपर्ने बताउनुभयो ।
व्यक्तिमुखी प्रवृत्तिको विकास भइरहेको बेला समुदायमा आधारित सहकारी संस्था स्थापनाको महत्वबारे चर्चा गर्दै उहाँले वायु सेवा निगम कालोसूचीमा पर्नु र ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललाई भ्रष्टाचारको कालोसूचीमा राख्नु चिन्ताको विषय भएको बताउनुभयो ।
इजरायलले प्यालेस्टिनमाथि गरेको बर्बर आक्रमणको निन्दा गर्दै प्यालेस्टिनमा सर्वसाधारण नागरिकको हत्या गरेर रगतको खोलो बगिरहेको बताउनुभयो ।
हत्यारा र भ्रष्टाचारीहरूलाई कारबाही गर्नुपर्ने सरकारले उल्टो मिनाहा गरेर अपराधीहरूको हौसला बढाउने काम गरेको उहाँले बताउनुभयो ।
समाज सुधार माविका पूर्वप्रअ लक्ष्मीनारायण दुवालले संसारमा पुँजीवाद र समाजवाद पक्षधरबिच द्वन्द्व चलिरहेको उल्लेख गर्दै सहकारी समाजवादउन्मुख संस्था हो भन्नुभयो ।
सरकारले एमसीसी सम्झौता गरेर अमेरिकी सेना नेपाल प्रवेश गर्ने बाटो खुलेको उल्लेख गर्दै उहाँले जीवनको सार पाउन समाज सेवा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
संस्थाका सल्लाहकार राम प्रजापतिले मानिसहरू पैसामा भुल्न नहुने, सहकारीका पदाधिकारीहरू क्रियाशील हुनुपर्ने र कमी कमजोरी सुधारेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
संस्थाका अध्यक्ष सहदेव प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रममा सचिव पुरञ्जली दुवालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रवि प्रजापतिले आर्थिक प्रतिवेदन र ऋण उपसमितिका संयोजक रामप्रसाद गोसाईले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
ज्येष्ठ नागरिकलाई सम्मान गरिएको सो कार्यक्रममा पञ्चकुमार प्रजापतिले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *