भर्खरै :

विदेशीको भरमा बसेसम्म देशको अर्थतन्त्र मजबुत नहुने

विदेशीको भरमा बसेसम्म देशको अर्थतन्त्र मजबुत नहुने

काठमाडौँ, १७ पुस । देशमा आर्थिक समस्या छ । अर्थमन्त्री प्रकाशशरण महतले पनि आर्थिक समस्या रहेको स्वीकारेका छन् । तर, उनले अर्थतन्त्र सुधारउन्मुख रहेको र आउँदा दिनमा आर्थिक वृद्धि हुने विश्वास दिलाए । सरकारले देशको अर्थतन्त्र सुध्रियो भनिरहँदा नेपाल उद्योग परिसङ्घ (सीएनआइ) ले अर्थतन्त्र अझै मन्दीमा रहेको तथ्याङ्क सार्वजनिक ग¥यो । सरकारले मन्दीको तथ्याङ्क लुकाउन नहुने सो सङ्घको दाबी हो । आशङ्का र अनुमानको भरमा कमी कमजोरी छोप्ने या बढाइचढाइ गर्नु सही कदम होइन । हचुवाको भरमा गरिएको टीकाटिप्पणीमा जनताको विश्वास हुँदैन । राष्ट्रको नाउँमा प्रम दाहालले सम्बोधन गर्दा क्रमभङ्ग गर्ने कुरा उठाएका थिए । सरकारले देशको अर्थतन्त्र मजबुत बनाएर विकास उचाइमा पु¥याएर क्रमभङ्ग गर्न सके त्यो देश र जनताको निम्ति फलदायी हुनेमा शङ्का छैन ।
देशको अर्थतन्त्रबारे पुस १७ गतेको ‘कान्तिपुर’ दैनिकमा लेखियो; ‘सरकारले अर्थतन्त्र सुध्रियो भनिरहँदा माग र उत्पादन नबढेको तथ्याङ्क सार्वजनिक ।’ समाचारमा अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार देखिँदैन; समग्र्र बजार माग खस्किएको छ; कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागेको छ; उद्योगको कच्चा पदार्थको आयातमा समेत गिरावट देखिएको उल्लेख छ । सोही दिनको ‘नयाँ पत्रिका’ दैनिकमा ‘अर्थतन्त्र अझै मन्दीमै : निजी क्षेत्र,’ ‘मन्दीको तथ्याङ्क सरकारले लुकायो’ भनी लेखियो । ‘राजधानी’ दैनिकमा ‘सरकारले भने जस्तो अर्थतन्त्रमा सुधार भएको छैन : परिसङ्घ’ शीर्षकको समाचार छापियो । विभिन्न पत्रिकाका यी शीर्षकले अर्थतन्त्रमा सुधार नभएको देखाउँछ । उद्योगी व्यवसायीले आफ्नो लगानीको योजना स्थगित गर्नु र लगानी गर्नेले सुधार गर्न नसक्नुको कारण केलाउनु जरुरी छ ।
सरकारले आफ्नै देशमा रहेको स्रोत र साधन उपयोग गर्न ध्यान नदिँदा, देशका राष्ट्रिय पुँजीपतिवर्गलाई भन्दा विदेशी उद्योगपतिलाई प्राथमिकता दिँदा र हरेक कुरा विदेशीको भरमा बस्दा देशको राजस्व नबढेको अर्थविद्हरूको गुनासो छ । सरकारको ध्यान उत्पादन बढाउनेतिर गएको दखिँदैन । देशको उत्पादन बढाउने र आम्दानी गर्ने चिन्ताभन्दा भएको आन्दानीमा पोस्ने, रमाउने कार्यले गर्दा आर्थिक समस्या बढेको अर्थविद्हरूको आकलन होइन भन्न सकिँदैन । अर्थतन्त्रको प्रतिकूल अवस्थाकै कारण गत वर्ष नै उद्योगी व्यवसायीको मनोबल कमजोर भएको थियो । उखु उत्पादन बढाएर स्वदेशमै चिनीमा आत्मनिर्भर बनाउन लाग्नुपर्ने सरकारले उखु किसानहरूको पीडा बुझ्दैन । उखु मूल्य नपाएर या चिनी मिलले उखु नकिनेर किसान खेतमै उखु सुकाउन बाध्य हुन्छ । अनि कसरी उत्पादन बढ्छ र आयस्रोत बढ्छ ? घुमाइफिराइ विदेशबाट सामान आयात गर्नेमा सरकार केन्द्रित हुन्छ ।
अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरेर देशको अर्थतन्त्र सुधिँ्रदैन । विदेशी लगानी बढेर या विदेशी उद्योगी व्यवसायीले देशमा उद्योग खोलेर, उनीहरूलाई बढावा दिएर के देशको आयस्रोत बढ्ने हो ? देशको अर्थतन्त्र सुदृढ हुने हो ? सरकारले देशको उत्पादनमा जोड दिनुपर्छ, स्वदेशी सामानको बिक्री वितरणमा प्राथमिकता दिनुपर्छ । यहाँका उत्पादित सामान खेर पठाएर विदेशी सामान भित्याएर देशको आयस्रोत बढ्दैन । देशको आयस्रोत बढ्दैन भने विकास पनि पछि पर्छ । विकास पछि पर्नु भनेको जनताको जीवनस्तर कमजोर हुनु हो । यसरी देशमा आर्थिक समस्या बढ्दै गएको छ । यो ठुला दलहरू भागबन्डाको राजनीति गर्दा र सत्तामुखी राजनीतिमा केन्द्रित हुँदाको परिणाम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *