भर्खरै :

अल–अरौरी हत्यापछि हमासले इजरायलसँगको वार्ता स्थगन

अल–अरौरी हत्यापछि हमासले इजरायलसँगको वार्ता स्थगन

गाजा ३ जनवरी (प्रेस टीभी) । मङ्गलबार साँझ दक्षिणी लेबनानमा इजरायली क्षेप्यास्त्र हमलाबाट हमासका शीर्ष नेतामध्ये एक सालेह अल–अरौरी मारिएपछि हमासले इजरायलसँग युद्धविराम वार्ता स्थगन गरेको घोषणा गरेको छ । “हामीले कतार र इजिप्टका दाजुभाइलाई वार्ता रोकिएको जानकारी गराएका छौँ,” नाम नबताउने सर्तमा स्रोतले भन्यो । अहिलेसम्म कतार र इजिप्टले युद्धविरामको मध्यस्थता गर्दै आएका छन् ।
हमासले प्यालेस्टिनी नेताहरूविरुद्ध इजरायली आक्रमण र ‘हत्या योजनाहरू’ बढेको हुँदा गाजापट्टीमा युद्धविराममा पुग्ने कुनै पनि वार्तालाई अस्वीकार गरेको छ । लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर दहियाहमा रहेको हमासको कार्यालयलाई लक्षित गरी इजरायली हमलामा हमास पोलिटब्युरोका उपप्रमुख अल–अरौरीका साथै केही सहयोगीहरू पनि मारिएका छन् ।
उक्त क्षेप्यास्त्र हमलालाई ‘बर्बर र जघन्य’ आतङ्कवादी कार्य, लेबनानको सार्वभौमसत्ताको उल्लङ्घन र प्यालेस्टिन र प्यालेस्टिनी जनताविरुद्ध इजरायली आक्रमणको विस्तारको रूपमा आलोचना गर्दै हमासले इजरायली आक्रमणमा आफ्ना सात सदस्यहरू मारिएको पुष्टि गरेको छ ।
लेबनानी सशस्त्र समूह हिजबुल्लाहले उक्त आक्रमण लेबनानी जनता, सुरक्षा र सार्वभौमसत्तामाथि गम्भीर आक्रमण भएको बताएको छ ।
यो अपराधको प्रतिक्रिया र सजायबिना कहिल्यै पूरा हुनेछैन । यो आक्रमणले वर्तमान इजरायल–हमास द्वन्द्वमा ‘खतरनाक विकास’ को सङ्केत गरेको चेतावनी दिएको छ ।
इरानले बेरुतमा ड्रोन हमलामा हमास नेता अल–अरौरीका साथै दुई अल–कसाम ब्रिगेडका कमान्डरहरूको हत्या गर्ने इजरायलको ‘घृणित’ कदमको निन्दा गरेको छ । अल–कसाम ब्रिगेड हमासको सशस्त्र विंग हो ।
हालैका हप्ताहरूमा, इजरायली अधिकारीहरूले प्यालेस्टिनी क्षेत्रहरू र बाहिरका हमास नेताहरूलाई मार्ने धम्की दिएका थिए, विशेषगरी अल–अरौरीलाई इजरायलले अक्टोबर ७ मा दक्षिणी इजरायलमा ‘अल–अक्सा आँधी’ आक्रमणको लागि प्रत्यक्षरूपमा जिम्मेवार भएको आरोप लगाएको थियो ।
५७ वर्षीय अल–अरौरी प्यालेस्टिनको वेस्ट बैङ्कमा अल–कसाम ब्रिगेड र यसका सेलका संस्थापक हुनुहुन्थ्यो । उहाँ १८ वर्षभन्दा बढी समयसम्म इजरायलको जेलमा बन्दी बनाइनुभएको थियो र सन् २०१० मा उहाँलाई रिहा गरी इजरायली अधिकारीहरूले प्यालेस्टिनी क्षेत्रबाट निर्वासित गरेका थिए । सोही वर्ष उहाँ हमास पोलिटब्युरो सदस्यको रूपमा निर्वाचित हुनुभएको थियो । अल–अरौरी २०१७ मा हमासको शीर्ष नेतृत्व अङ्गमा नम्बर २ नेता बन्नुभएको थियो ।
इरानका रक्षामन्त्री ब्रिगेडियर जनरल मोहम्मद–रेजा अष्टियानीले प्यालेस्टिनी हमास प्रतिरोधी आन्दोलनका एक शीर्ष अधिकारीको हत्याको निन्दा गर्नुभएको छ र संयुक्त राज्य अमेरिकालाई ‘यसको गम्भीर परिणामको लागि आफूलाई तयार रहन’ चेतावनी दिनुभएको छ । राजधानी तेहरानमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकपछि अष्टियानीले यस्तो टिप्पणी गर्नुभएको हो ।

हमास पोलिटब्युरो सदस्य इज्जत अल–रिश्कले यसलाई ‘कायरतापूर्ण हत्या’ भन्नुभएको छ । अरौरी हमासको पोलिटब्युरोमा एक वरिष्ठ अधिकारी हुनुहुन्थ्यो र उनको सैन्य मामिलाहरूमा गहिरो संलग्नता भएको मानिन्छ । उहाँले यसअघि कब्जा गरिएको वेस्ट बैङ्कमा समूहको उपस्थितिको नेतृत्व गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *