भर्खरै :

सचेत र सङ्गठित जनशक्तिबाटै चीनमा जनवादी क्रान्ति

काठमाडौँ, १८ पुस । नेपाल क्रान्तिकारी किसान सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा मङ्गलबार क्षेत्रपाटीमा माओ त्सेतुङको जन्म दिवसको अवसरमा प्रवचन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले अध्यक्ष माओले चिनियाँ जनतालाई राजनीतिक र वर्गीयरूपले सचेत पारी जनवादी क्रान्ति गरेको विचार व्यक्त गर्नुभयो ।
सङ्गठित र सचेत जनशक्तिबाटै अध्यक्ष माओले सन् १९४९ मा जनवादी गणतन्त्र ल्याउन सफल भएको उल्लेख गर्दै उहाँले जनताको घर–आँगनमा पुगेर जनताको समस्या बुझ्न र सांस्कृतिक स्तर उठाउन सांस्कृतिक क्रान्ति गरेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले देशका युवाहरूलाई विदेशबाट सिकेको ज्ञान, अनुभवबाट आफ्नो देशको जनताको सेवा गर्न माओले सुसूचित पारेको स्पष्ट पार्दै कम्युनिस्ट भनिने सत्तारुढ पार्टीले देशमा कम्युनिस्ट आन्दोलन र समाजवादी क्रान्ति पछि धकेल्न भारतीय एकाधिकार पुँजीको सेवा गरिरहेको बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एनबी श्रेष्ठले माओको जीवनमा जस्तोसुकै कठिन परिस्थिति आए पनि शत्रुसामु नझुकी चिनियाँ जनक्रान्तिको निम्ति अघि बढेको बताउनुभयो ।
नेमकिपा काठमाडौँका सदस्य ज्ञानीमैयाँ दराईले सत्तारूद कम्युनिस्ट भनिने पार्टीहरू विदेशी दलाल भइरहेकोमा चिन्ता व्यक्त गर्दै नेपालका कम्युनिस्टहरूले माक्र्सवाद–लेनिनवाद र माओ विचारधारालाई नेपालको देश, काल र परिस्थितिअनुसार लागु गर्न अघि सर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
किसान कार्यकर्ता राम श्रेष्ठले हरेक कार्यकर्ताहरू देश र जनताको सेवामा समर्पित भएर क्रान्तिको निम्ति अघि सर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
अर्का अग्रज किसान कार्यकर्ता नरमान महर्जनले कम्युनिस्ट पार्टीको सरकारले वृद्ध वृद्धाहरूको जीवन सुनिश्चित गर्ने उल्लेख गर्नुभयो ।
नेक्राकिसङ्घ काठमाडौँ जिल्ला समितिका अध्यक्ष हरिशरण श्रेष्ठले बहुमत जनताको सुखको निम्ति पुँजीवादी व्यवस्थाको अन्त्य गरी समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ भन्नुभयो ।
उक्त कार्यक्रममा मन्दिरा डंगोल, बन्दना श्रेष्ठ, काशीलाल डंगोलले विश्वका शान्तिप्रेमी र न्यायप्रेमी जनता साम्राज्यवादी नीतिको विरोधमा सङ्घर्ष गरिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *