भर्खरै :

भक्तपुर नपा वडा नं. ९ मा शुक्रबारबाट नगर स्वास्थ्य केन्द्र शुभारम्भ

भक्तपुर नपा वडा नं. ९ मा शुक्रबारबाट नगर स्वास्थ्य केन्द्र शुभारम्भ

भक्तपुर, २० पुस । भक्तपुर नगरपालिका वडा नं. ९ मा नगर स्वास्थ्य केन्द्र शुभारम्भ गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार एक कार्यक्रमबिच सो केन्द्र शुभारम्भ गर्नुभयो ।
सो अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले नगरवासीहरूको लागि सहजरूपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नगरका विभिन्न वडाहरूमा नगर स्वास्थ्य सेवा केन्द्रहरूको विस्तार गरिएको उल्लेख गर्दै संविधानले नागरिकलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा पाउने अधिकारलाई संरक्षण र संवद्र्धन गरेकोले भक्तपुर नपाले उक्त कार्यलाई प्राथमिकतामा राखी अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले विभिन्न कलेजहरू सञ्चालन गर्दै आइरहेको र हाल ख्वप सर्कलअन्तर्गत नर्सिङ, इन्जिनियरिङ र कानुनजस्ता विषयहरू पनि सुलभरूपमा नपाले पठनपाठन गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नपाले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै घरदैलो नर्सिङ सेवा सञ्चालन गर्दै आएको बताउँदै उहाँले स्वास्थ्य बीमा बोर्डले ख्वप अस्पताललाई दिनुपर्ने रकम अझ सोधभर्ना नगराएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नगर स्वास्थ्य केन्द्रबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म जनतालाई आधारभूत स्वास्थ्य सेवाहरू उपलब्ध गराउने जानकारी दिँदै बिहान ७ बजेदेखि ९ बजेसम्म घरदैलो नर्सिङ सेवा पनि चालु रहने बताउनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले ख्वप अस्पतालमा दैनिक ८०० देखि ९०० को हाराहारीमा बिरामी स्वास्थ्य जाँचको लागि आउने गरेको बताउँदै वडास्तरबाट नगर स्वास्थ्य केन्द्र स्थापनाले नगरवासीहरूलाई सहज हुने बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडा सदस्य तथा कार्यपालिका सदस्य छोरीमैँया सुजखू, वडा सदस्य इन्द्रबहादुर प्याथ, स्वास्थ्यकर्मी कृष्णशोभा लवजूले पनि बोल्नुभएको थियो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित नगर स्वास्थ्य केन्द्र बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुल्नेछ र सो केन्द्रबाट निःशुल्क औषधि वितरण, डट्स क्लिनिक, परिवार नियोजन, खोप सेवा, ओपीडी चेकजाँच, निःशुल्क ड्रेसिङ सेवालगायतको सेवा सुविधाहरू प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *