भर्खरै :

आर्थिकरूपमा स्वतन्त्र देशमात्र स्वतन्त्र र सार्वभौम हुनसक्ने

आर्थिकरूपमा स्वतन्त्र देशमात्र स्वतन्त्र र सार्वभौम हुनसक्ने

काठमाडौँ, २१ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मा.वि., ख्वप कलेज, शारदा क्याम्पस मावि र ख्वप कलेज अफ लका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको वार्षिक भेटघाट कार्यक्रम शनिबार काठमाडौँमा सम्पन्न भयो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले आर्थिकरूपमा स्वतन्त्र नहुने देश यथार्थरूपमा स्वतन्त्र र सार्वभौम हुन नसक्ने बताउनुभयो ।
शिक्षकहरूले विद्यार्थीहरूलाई देशभक्तिको भावना जगाउने शिक्षा दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
बाँसबारी छाला जुत्ता कारखाना, भृकुटी कागज कारखाना, हेटौडा कपडा कारखाना, ट्रलिबस सेवालगायत सार्वजनिक उद्योग÷कारखानाहरू भारतीय विस्तारवाद र एकाधिकार पुँजीको स्वार्थबमोजिम सत्तामा गएका पार्टीहरूले डुबाउँदै निजीकरण गरेको अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
अध्यक्ष रोहितले पेरिस क्रान्तिको कमीकमजोरीबाट शिक्षा लिई अगाडि बढेको कारण नै अक्टोबर समाजवादी क्रान्ति सफल भएको उल्लेख गर्नुभयो ।
बैङ्क पुँजीवादी व्यवस्थाको स्नायु भएको धारणा राख्दै उहाँले बैङ्क निजी नभई सरकारबाट सञ्चालित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
देशको समानुपातिक विकासको लागि सबै सेवा र सुविधा राजधानीमा मात्र केन्द्रित नगरी देशैभरि समानढङ्गले विकासका कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा अध्यक्ष रोहितले जोड दिनुभयो ।
विश्वविद्यालय भनेको देशलाई स्वतन्त्र र आर्थिकरूपमा सबल बनाउने नीति तथा योजना बनाउने सैद्धान्तिक र वैचारिक हतियार हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “देशको विकासमा प्राध्यापक र बौद्धिक वर्गले चिन्तन गर्नु जरुरी छ ।”
जातजातिमा आधारित पिछडिएको समाज, सांस्कृतिक स्तर नउठेको जनता र निर्वाचनमा आचारसंहिताविपरीत पुँजीवादी पार्टीले गरिने गलत क्रियाकलापका कारण इमानदार, देशभक्त राजनीतिक पार्टीले निर्वाचनमा जित्न नसकेको धारणा उहाँले व्यक्त गर्नुभयो । “साम्राज्यवादी र विस्तारवादीहरूको डलर खाएर काम गर्ने देशद्रोही नेता र कर्मचारी भएसम्म नेपालको विकास सम्भव छैन”, अध्यक्ष रोहितले भन्नुभयो ।
कार्यक्रमका सभापति, भक्तपुर नगरपालिकाका प्रमुख एवं विद्यालय÷कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले प्रतिस्पर्धाको युगमा प्रतिस्पर्धा गर्न सक्षम हुनुपर्ने धारणा राख्दै गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक तथा कर्मचारीहरू प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।
विश्वविद्यालयले युगअनुसारको पाठ्यक्रम दिन नसक्नु र नतिजा प्रकाशनमा ढिलासुस्ती हुनु पनि विद्यार्थीहरू विदेशिनुको कारण रहेको उहाँले बताउनुभयो ।
ख्वप शैक्षिक सर्कलले गुणस्तरीय शिक्षा दिइरहेको स्पष्ट पार्दै उहाँले यस वर्ष ख्वप कलेजका विद्यार्थीले स्नातकोत्तर तहतर्फ अङ्ग्रेजीमा सर्वोत्कृष्ट नतिजा हासिल गरेको छ भन्नुभयो ।
नेपाल–भारतबिचको सम्झौताले देशका सम्पूर्ण जलविद्युत् वैधानिकरूपमा भारतको कब्जामा गएको चर्चा गर्दै प्रमुख प्रजापतिले भारत नेपाललाई भुटानकै स्थितिमा पु¥याउन चाहन्छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले विश्वविद्यालय भनेको देश र समाजको निम्ति काम गर्ने नयाँ पुस्ता तयार गर्ने थलो हुनुपर्ने धारणा राख्नुभयो ।
डा. नर्मन बेथुन, होचि मिन्ह, चे ग्वेभारा, डा. कोटनिस, चाउएनलाई, लु सुनजस्ता व्यक्तित्वहरूबाट नयाँ पुस्तालाई जानकारी गराउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले हरेक विद्यालय र कलेजमा साप्ताहिकरूपमा विभिन्न साहित्यिक तथा प्र्राज्ञिक कार्यक्रमहरू चलाउनुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “सांस्कृतिक तथा साहित्यिक गतिविधिमार्फत युवाहरूलाई देशभक्तिको भावना दिनु आवश्यक छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले राजनीतिक पार्टी एउटा दर्शन र चिन्तनको चौतारी हुनुपर्ने धारणा राख्नुभयो ।
बौद्धिक वर्गले चिन्तन गर्नुपर्ने तर नेपालको बौद्धिक वर्गमा चिन्तनको खडेरी पर्नु चिन्ताजनक विषय भएको उहाँले बताउनुभयो ।
वाग्मती प्रदेशसभा सदस्य गीता काफ्लेले पनि आतिथ्य ग्रहण गर्नुभएको उक्त कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप अस्पतालका निमित्त निर्देशक डा. मजेशप्रताप मल्ल, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य इ. सुनिल दुवाल, ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य र ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा शिक्षकहरूले राख्नुभएको जिज्ञासालाई अध्यक्ष रोहितले स्पष्ट पार्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *