जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
भक्तपुर, २१ पुस । ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को १६ औँ वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा उहाँले संस्थाका ज्येष्ठ सदस्यहरू र एसईई उत्तीर्ण संस्थाका शेयर सदस्य र सदस्य परिवारलाई सम्मान गर्नुभयो । उहाँले आ.व. २०७९/८० का असल बचतकर्ता चन्द्रलक्ष्मी सुजखु र असल ऋणकर्ता लक्ष्मीभक्त लाखेलाई सम्मान गर्नुभयो ।
कार्यक्रममा अतिथि प्रेम सुवालले किसानलाई खेतीपातीको लागि आवश्यक मल, बीउ, उपकरण व्यवस्था गर्न सहकारी संस्थाको अवधारणा सुरु भएको हो; सरकारहरूले यस्तो काम गर्न सहकारीहरूलाई उत्साहित गर्ने कानुनी व्यवस्था नगरेको हुँदा अहिले नेपालीलाई आवश्यक दाल, चामल, तरकारी भारतबाट आइरहेको छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा स्थापना भएका ३२ हजार सरकारी संस्थामध्ये केही संस्थाका सञ्चालकहरू जनताको बचत ठगी गरी बेपत्ता भएको समाचार छ । ओरियन्टल र सिम्रिक सहकारी संस्थाले जनताको अर्बाैँ रुपैयाँ बचत ठगी गरेको अहिलेसम्म फिर्ता गरेको छैन । मालपोत कार्यालयले सार्वजनिक जग्गा, पोखरी, पर्ती जग्गा, बगैँचा व्यापारीको नाममा दर्ता गरेको हुँदा भूमाफियाहरूको आत्मबल बढेको छ । सार्वजनिक जग्गा, पोखरी, नदी किनारा व्यक्तिको नाममा दर्ता गरिएको मालपोत कार्यालयहरूले पुनःसार्वजनिक गर्नु जरुरी छ ।”
समाजवाद र साम्यवादमा सार्वजनिक सम्पत्तिको संरक्षण हुने विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “समाजवादमा कामदारवर्गको सरकार, उत्पादनका मुख्यमुख्य साधन र सेवा सामाजिकीकरण, योग्यताअनुसार काम र कामअनुसारको ज्याला, शोषकको अन्त्य हुनेछ । साम्यवादमा मानिस सुसंस्कृत हुनेछन् । समाजवाद र साम्यवादको लागि मानिसको सांस्कृतिक स्तर माथि उठ्नु जरुरी छ । यसको लागि उत्पादन श्रमसँग जोडिएको शिक्षा आवश्यक छ । यसकारण, भक्तपुर नगरपालिकाले विद्यालय र कलेज सञ्चालनमा ल्याएको हो । सरकारहरू ख्वप विश्वविद्यालय सञ्चालन अनुमति दिन विलम्ब गर्दै छन् । नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन अनुमति पाएमा थोरै शुल्कमा चिकित्सा शिक्षा पनि पढाउनेछ ।”
नयाँ पुस्तालाई प्रतिस्पर्धी बनाउन शिक्षाको जग नै बलियो बनाउन शिक्षकहरूको भूमिका महत्वपूर्ण हुने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “अमेरिकी साम्राज्यवादले अफगानिस्तान, इराक, लिबियामा गरेको आक्रमण युद्धसँगै कब्जा हो । इजरायलले प्यालेस्टिनी भूमिमा गरेको आक्रमण पनि युद्धसँगै कब्जा र जातीय नरसंहार हो । इजरायलीले प्यालेस्टिनी जनताको बस्ती, अस्पताल, विद्यालय, कलेज र मस्जिदमा बमबारी गरेको युद्धमात्र होइन, जातीय नरसंहार हो ।”
उहाँले सहकारी संस्थाले ज्येष्ठ नागरिकको लागि आदर निकेतन सञ्चालन गर्न र संस्थाका सदस्यका छोराछोरीलाई राम्रो संस्कार सिकाउनु जरुरी छ भन्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले सहकारी मूल्यमान्यतानुसार सञ्चालित सहकारीहरूमा कुनै पनि समस्या नभएको र सहकारी सिद्धान्तनुसार कार्य गरे हरेक सहकारी लक्ष्यमा पुग्न सकिन्छ भन्नुभयो ।
उहाँले देको मिवा इतापाखे आवास एकीकरण आयोजना र भक्तपुर नपाद्वारा सञ्चालित कार्यक्रमबारे जानकारी दिनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.का सचिव जगनाथ प्रजापतिले भक्तपुरमा रहेका समुदायमा आधारित सहकारी संस्थाको क्रियाकलाप राम्रो रहेको बताउँदै जनताको बचत ठगी गरी फरार हुनेलाई कडाभन्दा कडा कारबाही गर्न आवश्यक छ भन्नुभयो ।
संस्थाका अध्यक्ष राजकुमार लघुको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार बालमुकुन्द बासुकला, कुमार लघु र कृष्णभक्त लघु तथा सिद्धी गणेश साकोसका अध्यक्ष रुद्रनारायण लाखाले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा १० वर्षभन्दा बढी सेवा गरेका ख्वप साकोसका कर्मचारीहरू रत्ना ब्यान्जू, रोजिना दुवाल र न्हुछेमाया बासुकलालाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । १६ औँ वार्षिक साधारणसभामा संस्थाका सचिव लक्ष्मीनारायण सुवालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, कोषाध्यक्ष अमर बासुकलाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा संयोजक लक्ष्मीदास बासुकलाद्वारा प्रस्तुत लेखा प्रतिवेदन पारित गरियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष राजेश ब्यान्जु र लेखा समिति सदस्य कृष्णराम सुलुले पनि बोल्नुभएको थियो ।
साधारणसभाले राजकुमार लघुको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति र लक्ष्मीदास बासुकलाको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन ग¥यो । साधारणसभाबाट नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन उपसमिति संयोजक गणेशप्रसाद सुवालले शपथ खुवाउँदै बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा सांस्कृतिक समूहले सांस्कृतिक प्रस्तुति र हरि भजनदाफा समूहले बाँसुरी धुन प्रस्तुत गरेको थियो ।
Leave a Reply