भर्खरै :

सहकारी संस्थाहरू समाजवादी अवधारणाअनुसार अगाडि बढ्नुपर्ने

सहकारी संस्थाहरू समाजवादी अवधारणाअनुसार अगाडि बढ्नुपर्ने

धुलिखेल, २१ पुस । काठमाडौँ मनमैजूको सुकुन्दा बचत तथा ऋण सहकारी संस्थाको १६ औँ साधारणसभा शनिबार धुलिखेलमा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले सहकारी संस्थाहरू समाजवादी अवधारणाअनुसार अगाडि बढ्नुपर्ने विचार राख्नुभयो । सहकारी संस्थाहरू गरिब किसानको निम्ति सहयोगी हुनुपर्ने भन्दै उहाँले मजदुरहरूले आफ्नो सहकारी खोलेर उद्योग सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले सरकारले आफ्नो दायित्व पूरा नगरेको कारण सर्वसाधारण नागरिकलाई दक्ष तथा सीपयुक्त बनाउन सहकारी संस्थाहरूले काम गर्नुपर्ने भन्दै निरास युवाहरूमा आशा जगाउन युवाकेन्द्रित कार्यक्रम गर्नुपर्ने विचार राख्नुभयो । युवालाई पुँजीवादी रोगबाट बचाउन सहकारीले पनि काम गर्न सक्छ भन्दै उहाँले व्यक्तिवादी, पैसामुखी तथा उपभोक्तावादी समाजले समाजवादको सपना साकार हुन दिँदैन भन्नुभयो ।
संस्थाका अध्यक्ष सनकमान महर्जनले युवाहरूलाई राजनीतिक चेतना दिन सकिएन र समाजप्रति जिम्मेवार बनाउन सकिएन भने देशले उँभोगति लिन सक्दैन भन्नुभयो ।
सुकुन्दा साकोसका उपाध्यक्ष गणेशमान महर्जनले पारदर्शी ढङ्गबाट काम गरिरहेको बताउनुभयो ।
चिरायु बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि रामलाल महर्जनले सहकारीका सञ्चालक नचिनेर बढी ब्याज पाउने लोभमा पैसा बुझाएका कारण कैयौँले दुःख पाएको बताउनुभयो ।
सुकुन्दा साकोसका श्रीकुमार महर्जनले समुदायमा आधारित सहकारी बचतकर्ताको निम्ति सुरक्षित हुने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *