यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
अङ्ग्रेजी भाषामा लेखिएका सामग्रीमा हिज्जेको गल्ती हम्मेसी भएको देखिँदैन । कहीँकतै भइहाले पनि ‘यहाँ यस्तो हुनुपर्नेमा यस्तो भएछ’ भनेर तुरुन्तै सुझाव आउँछ । यत्रतत्र हल्लाखल्ला हुन्छ । त्यति भएपछि सतर्कता अपनाइन्छ । तुरुन्तै सुधार्ने काम पनि गरिन्छ । भाषिक लेखाइमा गल्ती गर्नु भनेको एक किसिमको अपराधै हो भन्ने भावना पैदा हुन्छ । नेपाली भाषामा भने, जेजस्तो लेखे पनि त्यस्तो नभएर ‘यस्तै हो’ भन्ने खालको सोचाइ पाइन्छ । नेपाली भाषा राष्ट्रभाषा भएर पनि यसको सट्टा अङ्ग्रेजी भाषालाई बढी महत्व दिइँदै छ । हाम्रा विद्यालयहरू ‘अङ्ग्रेजी माध्यम’ का बन्दै छन् । त्यस्ता विद्यालयमा पढ्ने विद्यार्थीहरू नेपालीमा कुनै वाक्य लेख्नुप¥यो भने पहिला त्यसलाई इङ्गलिस वर्ड’ मा सोच्छन् र नेपाली लेख्न नसकेपछि अङ्ग्रेजी शब्दमै लेखिदिन्छन् । जताततै अङ्गे्रजी हाइहाइ भएपछि, नेपाली शब्द जान्नुलाई गौरवको कुरो नमानेर नजान्नुलाई इज्जतको कुरो ठानिँदै छ । यो, हाम्रो भाषाप्रतिको अपमान नै हो ।
अशिक्षित, मातृभाषा नेपाली नभएका र नेपाली भाषा कम प्रयोग गर्नेले बोलाइ/लेखाइमा गल्ती गर्नु स्वाभाविकै हो । तर, यहाँ त शिक्षित व्यक्तिहरू नै आ–आफ्ना भाषिक प्रयोगको तालमा रमाएका देखिन्छन् । नेताहरूलाई भाषण गर्न पाए भयो; ‘नेपालीको शुद्ध प्रयोग आवश्यक पर्ने’ नै ठान्दैनन् । कतिपय पत्रकारहरू पनि भाषिक प्रयोगमा सचेत छैनन् । यस्तो भएपछि विज्ञ र ठूलाबडाको सिको अरूले पनि गर्ने नै भए । एकातिर अन्य भाषाका शब्दलाई नेपालीमा मिसाएर खिचडी बनाउने, अर्कातिर प्रयोग गरिएका शब्द पनि गलत भइदिने अवस्थाले नेपाली भाषा निरन्तर विकृत हुँदै छ । ‘नेपालीमा त जे लेखे पनि कुरा बुझिए भइहाल्छ नि !’ भनेजस्तो प्रवृत्ति विकसित हुँदै छ । उदाहरणको लागि त्यस्ता केही शब्द लिऊँ ।
क्षतिपूर्ति : यो शब्द ‘क्षति’ र ‘पूर्ति’ गरी दुईओटा शब्दको सन्धिबाट भएको हो । ‘क्षति’ को सामान्य अर्थ ‘हानि’, ‘नोक्सानी’ हो । (पाकेको धानलाई असिनापानीले क्षति ग¥यो ।) ‘पूर्ति’ को पनि सामान्य अर्थ ‘पूरा गर्ने काम’ हुन्छ । (बजारमा मागअनुसारको प्याज पूर्ति भएन ।) यसरी हेर्दा ‘क्षतिपूर्ति’ शब्दको सामान्य अर्थ ‘भएको नोक्सानी पूरा गर्ने काम’ हुन्छ । (उसको ल्यापटप मैले फुटाइदिएँ । अब मैले उसलाई क्षतिपूर्ति दिनुपर्ने भयो ।)
नेपाली बृहत् शब्दकोशले ‘क्षतिपूर्ति’ अर्थ यस्तो दिएको छ : (१) कसैको हानि भएको वस्तु पूरा गर्ने वा नोक्सानी भराइदिने काम (२) क्षति भएका वस्तुको सट्टामा दिइने रकम वा धन; हर्जाना ।
यसरी हेर्दा, कसैले कसैको कुनै चीज नोक्सान गरिदिएपछि नोक्सान गर्नेले नोक्सान हुनेलाई नोक्सान भएबराबरको जे दिनुपर्छ त्यो नै क्षतिपूर्ति हो । यसरी, यस्तो क्षतिपूर्ति मान्छेको हुन सक्दैन । तर, यहाँ त मान्छे मारिँदा पनि क्षतिपूर्ति दिने/उपलब्ध गराइने कुरा सुनिन्छ !
संसारका कतिपय देशमा कुनै नेपाली वा विदेशी नै मारिँदा पनि त्यहाँको कानुनअनुसार ‘ब्लड मनि’ तिराउने कानुनी व्यवस्था छ । यो शब्द सही लाग्छ । तर, ‘ब्लड मनि’ को नेपाली अर्थ बुझाउने शब्द क्षतिपूर्ति होइन । हाम्रो कानुनमै यस्तो व्यवस्था नभएकोले पनि होला, नेपालीमा यस्तो शब्द प्रचलनमा पनि छैन ।
‘क्षतिपूर्ति’ सँगै अर्को ‘राहत’ भन्ने शब्द पनि प्रचलित छ । ‘राहत’ भनेको ‘प्राकृतिक प्रकोपमा परेकाहरूलाई तत्कालका लागि उपलब्ध गराइने सरसहयोग’ हो । (बाढीले घर बगाएकाहरूलाई सरकारले राहत उपलब्ध गरायो ।) प्राकृतिक प्रकोपमा परेर परिवारजन गुमाएका परिवारलाई सरकारले वा अरू कसैले उपलब्ध गराउने वस्तु/नगद ‘राहत’ हुनसक्छ । तर त्यहाँ पनि त्यो, मृतकका परिवारका लागि ‘राहत’ हुन सक्दैन । हामीकहाँ भने सरकारी पक्षबाटै हत्या गरिएका वा कसैद्वारा हत्या गरिएका सदस्यका परिवारलाई (आन्दोलनपछि ?) उपलब्ध गराइने रकमलाई कहिले ‘क्षतिपूर्ति’ र कहिले ‘राहत’ पनि भनिएको सुनिन्छ/पढिन्छ । कस्तो विडम्बना ! त्यस्तो रकमलाई ‘सहानुभूति रकम’ सम्म भन्न सकिएला । तर यस्तो शब्द प्रयोग गरिएको वा चलाइएको नै छैन । ‘सान्त्वना’ पिर परेका वा आशा गरेका कसैलाई शान्त बनाउने, चित्त बुझाउने वा सम्झाउने काम हो । (गोपीको बुबा बित्नुभएछ । यसो सान्त्वना दिन जानुपर्ने ! ब्याडमिन्टनमा प्रथम पुरस्कार पाउने आस गरेको हरिले सान्त्वनामै चित्त बुझाउनुप¥यो ।)
ऐन : नेपाली वर्णमालामा स्वर वर्ण र व्यञ्जन वर्ण गरी दुईखाले वर्ण छन् । अ, आ, इ, ई स्वर वर्ण हुन् भने क, ख, ग, घ व्यञ्जन वर्ण । स्वर वर्णको सहायताले बनेका क (क्+अ)सहित का (क्+आ), कि (क्+इ), की (क्+ई), कु (क्+उ), कू (क्+ऊ), के (क्+ए), कै (क्+अइ), को (क्+ओ), कौ (क+अउ) जस्ता मात्रा लागेका र अन्त्यका अनुस्वार (क्+अम्) तथा विसर्ग (क+अह) सहित बाह्रओटा अक्षरको समूह वा समष्टि रूपलाई बा¥हखरी भनिन्छ ।
स्पष्टै छ : व्यञ्जन वर्ण ‘क’ लाई एकार ( े) दिँदामात्र के (क्+ए) बन्छ । तर, स्वर वर्णको ‘ए’ स्वयं जन्मँदै ए (एकार) छ । अब ‘ए’ मा एकार ( े) लगाउनासाथ यो अक्षर ऐ (अइ) बन्छ । तर, हाम्रा कतिपय शिक्षित वक्ताहरू ‘ऐन’ लाई ‘एन’ भन्छन् ।
‘प्रवेश द्धार’ का ठाउँमा ‘प्रवेश द्धार’ लेखिँदा कसरी पढ्ने होला ? फेरि ‘जीर्णोद्धार’ लाई ‘जीर्णोद्वार’ लेख्ने उल्टो हेक्का कसरी आएको होला ? ‘तामाङ’, ‘ट्रेनिङ’, ‘ड्राइभिङ’, ‘भञ्ज्याङ’, ‘इन्जिनियरिङ’ लेख्दा पुग्नेमा किन तिनमा ‘ग’ पनि झुन्ड्याएर ‘तामाङ्ग’, ‘ट्रेनिङ्ग’, ‘ड्राइभिङ्ग’, ‘भञ्ज्याङ्ग’, ‘इन्जिनियरिङ्ग’ का रूपमा अशोभनीय बनाइएको होला ?
आतिथ्य : भाषणबाजी बढ्ता हुने हाम्रो देशमा भइरहने अनेक थरी कार्यक्रममा आफ्नै कार्यालयमा पनि अतिथि बन्ने/बनाउने चलन मौलाइआएको छ । तर, त्यस्ता कार्यक्रमअघि दिइने/गरिने निम्तो कार्डमा र कार्यक्रम सकिएपछिको समाचारमा ‘फलानाको आतिथ्यतामा’ भन्ने पदावली यत्रतत्र पाइन्छ । “आतिथ्य’ मात्र भन्दा पुग्छ, ‘आतिथ्यता’ भन्दा अशुद्ध हुन्छ” भन्दा पनि पत्याइँदैन । यस्तै गरी ‘इमानदारिता’, ‘धैर्यता’, ‘सौन्दर्यता’ जस्ता शब्दहरूले पनि आनन्दसँग खुट्टो घुमाएकै छन् । यस क्रममा ‘सुचारु’ शब्द पनि निकै अगाडि छ ।
‘चारु’ शब्द तत्सम हो । यसले अर्थ ‘राम्रो’ हुन्छ । यसमा ‘सु’ थप्दा ‘झन् राम्रो’ भन्ने अर्थ आउँछ । तर, ‘कक्षा सुचारु भयो’, ‘बन्द भएको सडक सुचारु भयो’ जस्ता वाक्य लेख्न/बोल्न अभ्यस्त भएकाहरू यस्ता कुरा वास्तै गर्दैनन् । अशुद्ध शब्द प्रयोग गर्ने पनि एउटा बानी रहेछ । लागेको बानी छुटाउन गा¥हो हुन्छ । ‘आफ्नो बानी को छोड्छ अर्काको बानी को लिन्छ ?’ भन्दै डाडु्पन्यू लिएर नाच्ने बुहारीको कथा नेपाली समाजमा प्रचलितैै छ ।
कुनै पनि भाषाको सिकाइ प्रक्रिया लामो हुन्छ । यो बिस्तारै सिकिँदै जाने कुरा हो । सिक्दै जाँदा गल्ती हुनु स्वाभाविकै हुन्छ । यस क्रममा लेखाइमा कतिपय शब्दको हिज्जे बारम्बार गल्ती हुने गर्दछ । कतै उच्चारणमा त्रुटि हुन्छ । यो व्यक्ति विशेषमा भरपर्ने कुरा हो । भाषिक सिकाइमा सिकारुको मातृभाषा, उसको शैक्षिक स्तर, भाषिक प्रभाव, सङ्गतजस्ता कुराहरूले प्रभाव पारेको हुन्छ । त्यस्तै, त्रुटि वा गल्तीको पनि प्रकार र स्तर हुन्छ । यसतर्फ प्रत्येक नेपाली भाषा प्रयोक्ता र भाषापे्रमीले ध्यान पु¥याएर शुद्ध प्रयोगमा जोड दिनु आवश्यक देखिन्छ ।
Leave a Reply