भर्खरै :

धार्मिक प्रवचनलाई आर्थिक कोणबाट हेर्दा

धार्मिक प्रवचनलाई आर्थिक कोणबाट हेर्दा

“तपाईँसँग जति नै घर भए पनि मरेपछि चित्तामै सुत्ने हो; तपाईँसँग जति नै पैसा भए पनि तपाईँलाई बेरिने कात्रोमा खल्ती हुँदैन; दराजमा जति नै लुगा भए पनि मरेपछि नाङ्गै जाने हो । त्यसैले यो धनको मोहमा नपर । यसले सुख दिँदैन । धनको पछि लाग्नुको सट्टा भगवान्को पछि लाग, दान दक्षिणा सबै ममा अर्पित गर, म तिमीलाई स्वर्गको मार्ग देखाइदिन्छु ।” धार्मिक कथावाचकहरू यस्तै यस्तै उपदेश दिन्छन् । कस्तो विरोधाभाष कुरो ! एकातिर पैसा कमाउनु आवश्यक नरहेको कुरा गर्छन् भने अर्कोतिर दानको अपेक्षा गर्छन् ।

वास्तवमा आर्थिक कोणबाट हेर्दा यो जस्तो फजुल कुरो केही छैन । पैसा नकमाउनु भनेको काम नगर्नु भन्नुजस्तै हो । पैसा कमाउन काम गर्नुपर्छ । काम गरेपछि वस्तु वा सेवा उत्पादन हुन्छ । अहिलेको समयमा हाम्रो वरपरको समाजमा अरुलाई झुक्याएर, सरकारी सम्पत्ति हिनामिना गरेर, भ्रष्टाचार गरेर कमाएका मान्छे देख्दा पैसा कमाउनु छ भने भनेकै अनैतिक काम गर्नैपर्नेजस्तो हामीलाई लाग्छ । तर, त्यस्तो गैरकानुनी र अनैतिक कामलाई अर्थशास्त्रभित्र आर्थिक गतिविधि मानिँदैन भनेर भनिरहनुु पर्दैन । स्वयम्सिद्ध तथ्य के हो भने पैसा कमाउनु भनेको आर्थिक गतिविधिमा संलग्न भई वस्तु तथा सेवा उत्पादन गरेर धनको सिर्जना गर्नु हो जुन अन्ततः समाजको हितमा हुन जान्छ । एउटा सामान्य उदाहरणबाट यो कुरालाई स्पष्ट पारौँ । एकजना किसानले आफ्नै जमिनमा मात्र होइन अरुको जमिन पनि बहालमा लिएर आफैँ र काम गर्ने मान्छे थपेर मेहनतका साथ तरकारी खेती गर्छन् । फलस्वरूप थुप्रै तरकारी उत्पादन हुन्छ । उनको खेतबाट उत्पादन भएको तरकारी बजारसम्म आउँदा एकातिर आपूर्ति बढ्दा उपभोक्ताले सस्तोमा तरकारी पाउँछन् भने अर्कोतिर तरकारीको उत्पादन बढ्दा किसानले पनि मनग्य पैसा कमाउँछन् । यसरी किसानले पैसा कमाउँदा समाजले पनि लाभ पाउँछ ।
यस सन्दर्भलाई चिनियाँ नेता देङ सिओपिङको प्रसिद्ध उद्धरण जोड्न सकिन्छ । उनले एउटा सभामा ‘लाखको मात्र होइन, करोडको कुरा गर’, ‘करोड होइन; अर्बको कुरा गर’ भन्दै चिनियाँ युवाहरूलाई आग्रह गरेका थिए । भनाइको तात्पर्य युवाहरू ठुला ठुला आर्थिक गतिविधिमा संलग्न होउन् भन्ने थियो । उक्त उद्धरणले सन् १९८० को दशकको उत्तरार्धमा चीनको आर्थिक विकास र आधुनिकीकरणमा देङको जोडलाई झल्काउँछ । चीनले अन्य विकसित देशहरूसँग मिल्न र चिनियाँ जनताको जीवनस्तरमा सुधार ल्याउन आर्थिक वृद्धि र आधुनिकीकरणमा ध्यान दिनुपर्ने उनको विश्वास थियो । देङको आह्वान युवाहरूलाई ठुलो सोच्न र चीनको भविष्यको लागि उनीहरूको आकाङ्क्षामा उच्च लक्ष्य राख्न प्रोत्साहित गर्ने तरिका थियो । उनी युवा पुस्ताले उद्यमशीलता र नवप्रवर्तनको विचारलाई अँगालेको हेर्न र देशको आर्थिक वृद्धिलाई टेवा पुग्ने नयाँ व्यवसाय र उद्योगहरू सिर्जना गर्न कडा परिश्रम गराउन चाहन्थे । देङले चिनियाँ जनतामा आत्मविश्वास र महत्वाकाङ्क्षाको भावना जगाउने प्रयास गरेका थिए । चीनका युवा पुस्ताले असाधारण लक्ष्य हासिल गर्नेतर्फ ध्यान केन्द्रित गर्ने हो भने युवाहरूले आफ्नो प्रयासमा सफलता हासिल गर्ने सम्भावना बढी हुने देङको विश्वास थियो । यसले युवाहरूलाई नयाँ विचार र आविष्कारहरू ल्याउन प्रेरित गर्दै आर्थिक वृद्धिलाई अगाडि बढाउन सहयोग पु¥यायो । युवाहरूले आफ्नो लक्ष्य ठुलो बनाउन प्रोत्साहित हुँदा जोखिम मोल्ने र नयाँ रोजगारी सिर्जना गर्नुका साथै आर्थिक गतिविधिलाई उत्प्रेरित गर्ने सम्भावना भएका महत्वाकाङ्क्षी परियोजनाहरू पछ्याउने सम्भावना बढी हुन्छ । हालैका वर्षहरूमा चीन विश्वव्यापी आर्थिक शक्तिको रूपमा द्रुतरूपमा अगाडि बढेको छ । यो कथनले आर्थिक विकासलाई धेरै तरिकामा मद्दत गर्न सहयोग ग¥यो ।
यस भनाइको विपरीत, हाम्रो देशमा धार्मिक कथावाचकहरू ‘पैसाको पछि नलाग्नु’ भन्दै उपदेश दिन्छन् । यसमा कुनै शङ्का छैन कि यी दुई कथनहरू – ‘लाखको कुरा गर्नु, करोडमात्र होइन अरबको कुरा गर्नु’ र ‘पैसाको पछि नलाग्नु’ – धन र आर्थिक सफलताप्रति धेरै फरक मनोवृत्तिलाई प्रतिनिधित्व गर्दछन् । एकातिर, देङ सियाओपिङको भनाइले चिनियाँ जनताको जीवनस्तर सुधार्ने माध्यमको रूपमा आर्थिक वृद्धि र विकासलाई अँगाल्न आह्वान गरेको छ भने अर्कोतर्फ ‘पैसाको पछि नलाग्नु, बरु भगवानको पछि लाग्नु’ कथनले नेपालीहरूलाई भाग्यवादी बनाएर अन्धविश्वासी बन्न प्रेरित गरेको छ ।
यसको अर्थ पैसाकै बारेमात्र सोच्नुपर्छ भन्ने पनि होइन । भौतिक सम्पत्तिमा मात्र होइन नम्रता, करुणा र उदारताजस्ता मूल्यहरूको महत्वलाई पनि जोड दिनुपर्छ । धनको मात्र पछि लाग्दा नैतिक र सामाजिक कल्याणको लागि हानिकारक हुन सक्छ भन्ने वास्तविकतालाई मनन गरेर आर्थिक गतिविधिमा हाम्रो संलग्नतालाई सीमित राख्नुपर्छ । सद्गुण जीवन बिताएर र अरूलाई मद्दत गरेर पनि साँचो आनन्द आउँछ ।
यस सन्दर्भमा भारतीय नेता महात्मा गान्धीको भनाइलाई पनि यहाँनिर जोडेर विश्लेषण गर्न सकिन्छ । उनले एकपल्ट भनेका थिए, “भगवान् गरिबको घरमा बस्छन् ।” गान्धी सामाजिक न्याय र अहिंसाप्रति आफ्नो प्रतिबद्धताका लागि परिचित भए पनि यो भनाइ मान्छेलाई भाग्यवादी बनाउने धार्मिक पाखण्डीहरूको मनसायसँग मिल्न आउँछ । साँचो महानता धन वा शक्तिमा होइन तर अरूप्रति करुणा र सेवामा पाइन्छ भन्ने गान्धीको विश्वास हुन सक्छ । तर, गरिब हुनु भगवान्को कृपा रहेकोजस्तो सोच बनाउँदा सामन्तीहरूले गरिबमाथि गर्ने शोषणलाई न्यायोचित बनाउने तर्क हुन जान्छ ।
‘पैसा कमाउनु’ र ‘लोभी नहुनु’ बिच सन्तुलन
एकातिर, गाँस, बास र स्वास्थ्य सेवाजस्ता हाम्रा आधारभूत आवश्यकताहरू पूरा गर्नका लागि पैसा कमाउनु आवश्यक हुन्छ भने अर्कोतिर त्यसैको निम्ति हामीले गर्ने काम समाजको हितसँग मिल्न जान्छ । अर्कोतर्फ पैसा कमाउने इच्छालाई सन्तुलनमा राखेर यसमा अत्यधिक संलग्न हुनबाट बच्नुपर्छ । हाम्रो ध्यान पैसामा धेरै केन्द्रित हुँदा करुणा र उदारताजस्ता महत्वपूर्ण मूल्य तथा मान्यताहरू गुमाउनुको साथै लोभ, इष्र्या र अन्य नकारात्मक भावनाबाट टाधा हुन पनि गा¥हो हुन जान्छ । त्यसैले पैसाको मात्र वरिपरि हुने हाम्रो मनोवृत्तिको बारेमा पनि सजग हुनुपर्छ । नैतिक मूल्यमान्यताप्रति प्रतिबद्धता कायम राख्दै आर्थिक सफलता प्राप्ति गर्नु सहज लक्ष्य हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *