भर्खरै :

एक पदयात्रीको आँखामा भक्तपुर नगर (बहाबही) को महाविहार

एक पदयात्रीको आँखामा भक्तपुर नगर (बहाबही) को महाविहार

भक्तपुर नगरपालिकाको आयोजनामा पुस १४ गते ‘बहाबही चिनौँ, सम्पदा संरक्षण गरौँ’ भन्ने नाराका साथ योमरी उत्सव तथा सांस्कृतिक सम्पदा कार्यक्रम शाक्य वुद्धाचार्य, मानन्धर बौद्ध धर्मालम्बीका परम्परागत सांस्कृतिक बाजा गाजाहरू, भजन समूह र हजारौँ पदयात्रीका साथ सम्पन्न भयो । भक्तपुर नगरपालिकाले योमरी पूर्णिमाको अवसर पारेर नगरका विभिन्न ठाउँमा रहेका २४ वटामध्ये १९ वटा बहाबही (महाविहार) को अवलोकन पदयात्रीले गरे २०७९ सालमा भक्तपुर नगरका ऐतिहासिक तथा सांस्कृतिक पोखरीहरू चिनाउने र संरक्षण गर्ने उद्देश्यले यस्तै योमरी उत्सवसहित विभिन्न बाजागाजाका साथमा सांस्कृतिक पदयात्रा दत्तात्रयमा सम्पन्न गरेको थियो ।
यस्ता सांस्कृतिक पदयात्राले भक्तपुरका मूर्त अमूर्त, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण हुने र लोपोन्मुख अवस्थामा रहेका सम्पदाहरूको संरक्षण र सवद्र्धन गर्न मद्दत गर्नेछ । यस्ता बहाबही चिनाउने उद्देश्यले आयोजना गरिएको सम्पदा पदयात्राले नेपालमा बौद्ध धर्म र दर्शनबारे खोजमूलक अध्ययन र अनुसन्धानमा मद्दत पुग्नेछ ।
सांस्कृतिक पदयात्राले यसअघि थाहा नभएका बहा बही (महाविहार) हरू भक्तपुरका जनताले अवलोकन गर्ने अवसर पाए । अखण्डशील महाविहार बुल्चाबाट सुरु भएर अन्तिम मङ्गल धर्मद्वीप महाविहार पलिखल हुँदै योमरी यातामा सम्पन्न भएको सम्पदा पदयात्राको क्रममा भक्तपुरमा रहेका २४ वटा बहा बहीमध्ये १९ वटा बहाबहीको अवलोकन गर्ने अवसर प्राप्त भयो ।
भक्तपुर नगरको वडा नं. १० विभिन्न ऐतिहासिक र सांस्कृतिक सम्पदामा धनी रहेको पाइन्छ । यस वडामा ५ वटा बहाबही रहेका छन् । यसै वडामा ६ वटा पोखरीहरू बा¥ह पुखु (कमलविनायक पोखरी), लामुग पुखु, क्वाठण्डौ पुखु, बेखाल पुखु, ग्वङ्ग पुखु र नाग पुखु रहेका छन् । ढुङ्गेधारा पनि यही वडामा सबभन्दा बढी पाइन्छ ।
पदयात्राको क्रममा सबैजसो महाविहारमा महाविहारका कुल नाइके विशेष बौद्ध पहिरनमा सजिएर पदयात्रीहरूलाई स्वागत र अभिवादन गरिरहेको आकर्षक देखिन्छ । त्यस्तै ठाउँ ठाउँमा हाकुपतासीमा सजिएका महिला दिदी बहिनीहरूले योमरी, बारा, चटामारीलगायतका विभिन्न खाद्य परिकार र घरेलु उत्पादन प्रदर्शन बिक्रीकक्ष (स्थल) आकर्षणको केन्द्र नै भयो ।
बुद्ध जन्मेको ठाउँ लुम्बिनी, बुद्धले बोधिसत्व ज्ञान प्राप्त गरेको ठाउँ बोधगया, कुशीनगर आदि ठाउँमा जान नसक्ने धर्मालम्बी जनताको लागि प्रतीकात्मकरूपमा राखिएको ठाउँ भक्तपुरमै पाइन्छ । पदयात्राको क्रममा भक्तपुरको इनाचो खँचास्थित मुनि महाविहारमा पदयात्रीहरूलाई त्यसको भक्तपुर दिएको पाइन्छ । त्यहाँ गुरुले शिष्यहरूलाई प्रवचन दिइरहेको दृश्य अभिरुचिपूर्वक अवलोकन गर्ने अवसर पदयात्रीहरूले पाए । त्यस्तै विहारको उत्तरपट्टिको कलात्मक भवनको भित्तामा आकृतिसहितको लुम्बिनी, बोधगया, कुशीनगर आदि राखेको पाइन्छ । जसरी गोसाईकुण्ड, मनोकामना, बद्रीनाथ, केदारनाथ, काशी जान नसक्ने धर्मालम्बी जनताको लागि यही भक्तपुरको दरबार क्षेत्र हनुमानघाटलगायत विभिन्न ठाउँमा मन्दिर, देवता, घाट, तीर्थहरू बनाएका थिए ।
यसरी भक्तपुरका जनताले भक्तपुरलगायत देशका अन्य जिल्ला, ठाउँमा सांस्कृतिक र ऐतिहासिक सम्पदा संरक्षण गर्ने काममा सहयोग गरिरहेको कुरा सबै देशवासीलाई थाहा भएकै कुरा हो ।
भक्तपुर नगरपालिका अनि भक्तपुरका जनताको न्यानो माया, निःस्वार्थ साथ र सहयोगले यहाँको सम्पदा संरक्षण र सफाइले गर्दा आज यो सहर सबै देशी, विदेशी पर्यटकको लागि आकर्षणको केन्द्र बनेको छ । यो विद्यार्थी, शिक्षक, प्राध्यापक, अन्वेषक, विद्वानहरूको लागि अध्ययन, अवलोकन र अनुसन्धानको केन्द्र बन्दै आएको छ । भक्तपुर सहर नेपालको मात्र नभएर विश्वकै ज्ञानविज्ञानको केन्द्र वा खुला विश्वविद्यालय भएको कुरा हाम्रो देशका विद्वान, संस्कृति, इतिहासविद्हरूले भन्दै लेख्दै आएका छन् ।
विश्वका धेरै ठाउँ घुमेर पनि ५० वर्षको लामो बसाइँका कारण यहाँको ऐतिहासिक नाचगान, रीतिरिवाज, संस्कार, कला, संस्कृति, परम्परा र वास्तुकलाबारे रामो ज्ञान हासिल गरेका जर्मन सम्पदाविद् निल्स गुल्सोले भक्तपुरजस्तो सुन्दर जीवित सङ्ग्रहालय संसारको अन्य ठाउँमा नभएको बताए । बेलायती यात्री ई.ए. पावलले भक्तपुर नघुमेको यात्रीले विश्वको आधा भाग नघुमेजस्तै हुनेछन् भनेका छन् । यी भनाइले भक्तपुर ऐतिहासिक, सांस्कृतिक, धार्मिक वैज्ञानिक र शैक्षिकरूपले कति महत्वपूर्ण र गौरवपूर्ण छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।
यसरी देशकै ऐतिहासिक, सांस्कृतिक, शैक्षिक, धार्मिक, जीवित सङ्ग्रहालय, शिक्षालय, विश्वविद्यालयको रूपमा रहेको भक्तपुरको सम्पदामा हाम्रा विद्यार्थी भाइबहिनीहरूलाई अवलोकन गराउनु आवश्यक देखिन्छ । साथै पर्चामा उल्लेखित महाविहारको आकर्षक फोटोको साथमा सामान्य परिचय सबैले देखिने गरी राख्नुपर्ने देखिन्छ । सबै महाविहारमा सजिलैसँग अवलोकन भ्रमण गर्ने बाटो र विहार वरिपरि सफाइमा पनि ध्यान दिनुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *