भर्खरै :

निर्वाचनलाई फटाहा र ठगहरुको चंगुलबाट बचाउनुपर्ने

भक्तपुर, २७ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले निर्वाचनमा फटाहा र ठगहरु हावी हुँदै गएको बताउँदै नेमकिपाविरुद्ध गरिएका भ्रामक प्रचारबाजीपछि लाग्न नहुने बताउनुभएको छ । पछिल्लो समय नेमकिपाले क्षेत्र नं २ मा अर्कै पार्टीलाई समर्थन गर्ने निर्णय गरेको भनी एमाले, नेपाली कांग्रेसलगायतका केही दलहरुले भ्रामक प्रचार प्रसार गर्दै हिँडेकोतर्फ संकेत गर्दै अध्यक्ष बिजुक्छेले निर्वाचनलाई फटाहा र ठगहरुको चंगुलबाट बचाउनुपर्ने बताउनुभयो । उहाँले नेमकिपाका योग्य र इमान्दार उम्मेदवार हुँदा हुँदै अरु पार्टीलाई समर्थन गर्नु कुनै औचित्य नरहेको पनि स्पष्ट पार्नुभयो ।

संसदमा प्रखर प्रतिपक्षको अनिवार्य उपस्थिति नै प्रजातन्त्रको सौन्दर्य भएको बताउँदै उहाँले माओवादी र एमाले दुवै कुनै पनि दृष्टिकोणबाट वामपन्थी नभएको स्पष्ट पार्नुभयो ।

रफत सञ्चार क्लबद्धारा सोमबार आयोजित पत्रकार भेटघाट र उम्मेदवार परिचय कार्यक्रममा उहाँले उक्त विचार व्यक्त गर्नुभएको हो । उहाँले नेपाली कांग्रेस र एमालेले गरेको फट्याइँलाई उदांग्याउन पत्रकारहरुमा आग्रह गर्नुभयो । संसदमा प्रखर प्रतिपक्षको अनिवार्य उपस्थिति नै प्रजातन्त्रको सौन्दर्य भएको बताउँदै उहाँले माओवादी र एमाले दुवै कुनै पनि दृष्टिकोणबाट वामपन्थी नभएको स्पष्ट पार्नुभयो ।
दक्षिण एसियाली देशहरुको प्रमुख शत्रु भारतीय विस्तारवाद र एकाधिकार पूँजी भएको बताउँदै अध्यक्ष बिजुक्छेले भारतीय विस्तारवाद र नेपालका शासक दलाल पार्टीहरुकोविरुद्ध नेमकिपाले संघर्ष गर्ने बताउनुभयो । एमाले र माओवादी पटकपटक सरकारमा गए पनि तिनीहरुले मजदुर र कामदार जनताको निम्ति कुनै काम नगरेकोमा उहाँले आलोचना गर्नुभयो ।
नेमकिपा केन्द्रीय सचिव एवं प्रतिनिधिसभा निर्वाचन भक्तपुर क्षेत्र नं १ का उम्मेदवार प्रेम सुवालले विभिन्न गठबन्धनको नाममा भारतको दलाल बन्नेहरुकोविरुद्ध नेमकिपाको उम्मेदवारी रहेको बताउनुभयो । भारतले नाकाबन्दी गरी नेपाललाई सास्ती दिएको समयमा समेत नेपालका ठूला दलहरु चुप रहनुले तिनीहरु भारतीय विस्तारवादको कठपुतली भएको सचिव सुवालले बताउनुभयो । कुख्यात डनहरु दिनेश अधिकारी ‘चरी’ मर्दा एमालेले र कुमार घैंटे मर्दा नेपाली कांग्रेसले सहिद घोषणा गर्न माग गरेको स्मरण गर्दै सचिव सुवालले ठूला पार्टीहरुले राजनीतिको नाममा अपराधीहरुलाई चोख्याउने काम गरेको बताउनुभयो । उहाँले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दलको उम्मेदवारी नै खारेज गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा निर्वाचन भक्तपुर क्षेत्र नं २ का उम्मेदवार अनुराधा थापामगरले राजनीतिक पार्टीहरु संख्यालेभन्दा पनि विचार र सिद्धान्तले ठूलो अथवा सानो हुने बताउँदै थ्रेसहोल्ड ल्याएर ठूला पार्टीहरुले आफूले आफैलाई संकुचित सावित गरेको बताउनुभयो । नेपाल भारतको खुला सिमाना नियमित र सुरक्षित बनाउनुपर्ने बताउँदै थापामगरले वैदेशिक रोजगारीको नाममा थुप्रै नेपाली महिला दिदीबहिनीहरु खाडी मुलुकमा बेचिन बाध्य भएको बताउनुभयो ।
रफत सञ्चार क्लबले आयोजना गरेको उक्त कार्यक्रममा नेमकिपाकातर्फबाट प्रदेशसभा सदस्य उम्मेदवारहरु सरोजराज गोसाई, सुरेन्द्रराज गोसाई, प्रेमजनथापा र नीरज लवजूले देशलाई भारतीय विस्तारवादको सूक्ष्म व्यवस्थापनबाट र दलाल पार्टीहरुको चंगुलबाट जोगाउन मादल चिन्हमा मतदान गरी नेमकिपालाई विजयी गराउन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *