भर्खरै :

किम इल सङको ८० औँ शुभजन्मोत्सव – ५

किम इल सङको ८० औँ शुभजन्मोत्सव – ५

दोस्रो भ्रमण
वैशाख १–१६, २०४९ (Apr. 13-28, 1992)

पार्टी स्थापनाको ऐतिहासिक सङ्ग्रहालय (१४ वैशाख, २०४९/26 Apr., 1992)
बिहान १० बजे पार्टी स्थापनाको ऐतिहासिक सङ्ग्रहालय हेर्न गयौँ । एक महिला इन्चार्जले सङ्ग्रहालयको परिचय दिँदै भन्दै गइन् – प्योङयाङको हाइबाङ–सान पर्वतस्थित यस पार्टी स्थापना सङ्ग्रहालय जापानविरोधी लडाइँंको विजयपछि महान् नेता किम इल सङ स्वदेश फर्केपछि आफ्नो अफिसको रूपमा प्रयोग गर्नुभएको भवन हो । यहाँ उहाँले १४ भन्दा बढी विदेशी प्रतिनिधि पाहुनालाई स्वागत र भेटघाट गर्नुभएको थियो, १९४५ देखि ४८ सम्म पार्टी, सरकार, प्रशासन र सेनाको कार्यालयको रूपमा प्रयोग गर्नुभएको थियो । यस सङ्ग्रहालयमा १७ अक्टोबर १९२६ मा उहाँले १४ वर्षको उमेरमा ‘साम्राज्यवाद–मुर्दावाद’ भन्ने सङ्घको स्थापना गर्नुभएको र जनताको क्रान्तिकारी सेनालाई पैसा, ज्ञान र शक्तिले मद्दत गर्न जनतालाई गर्नुभएको आह्वान, दस्तावेज र चित्रहरू छन् ।
पार्टी सदस्यताबारे एक प्रश्नको उत्तरमा तिनले भन्दै गइन् – १९४५ अक्टोबरमा पार्टी स्थापना हुँदा सदस्य सङ्ख्या २००० मात्र थियो । प्रजातान्त्रिक सुधारको बेला त्यो सङ्ख्या ४५३० पुग्यो र १९४६ को जुलाईतिर भूमिसुधारको बेला त्यो सङ्ख्या २,७६,००० पुग्यो । त्यसबेला ८० प्रतिशत सदस्य सङ्ख्या किसानहरूको थियो । १९४६ अगस्टमा नयाँ पार्टीको महाधिवेशन हुँदा सदस्य सङ्ख्या ३,५६,००० पुग्यो र १९४७ को जनवरीमै त्यो सङ्ख्या ७,०८,००० पुग्यो ।
यसरी तिनले ४ राजनैतिक पार्टीहरू र १५ सामाजिक सङ्गठन र सम्मेलनका प्रतिनिधिहरूबारे बताउँदै सङ्ग्रहालयको विभिन्न कोठाको परिचय दिँदै गइन् ।
त्यो सङ्ग्रहालय साँचो अर्थमा पार्टी स्कूल हो । त्यहाँ कार्यकर्ताहरूलाई जुछे विचारधारामा आधारित पार्टी निर्माण र विकासबारे शिक्षा दिइन्छ । कोरियाली क्रान्तिको महत्वपूर्ण विशेषता त जापानविरोधी लडाइँमा विजयपछि मात्रै कम्युनिस्ट पार्टी स्थापना हुनु हो र नयाँ प्रजातान्त्रिक पार्टीसँग एकीकरण भई कोरियाली मजदुर पार्टी बन्नु हो । सङ्ग्रहालयमा ती सबै इतिहासका महत्वपूर्ण घटनाहरूका दस्तावेज, चित्रहरू, टाइपराइटर, अखबार, विधान, नक्साहरू, पुस्तिका, पर्चा, पोस्टर, सदस्यता फर्म आदि सामानहरूको नमुना, फोटोकपी र मौलिक कागजपत्र प्रदर्शित थिए । ती सामग्रीमार्फत कार्यकर्ताहरूलाई व्यवहारिक तालिम दिन सजिलो र सशक्त बनाइएको अनुभव हुन्छ । आफ्नो पार्टी निर्माण र क्रान्तिबारे वर्षाैँसम्मको प्रामाणिक दस्तावेजहरू सुरक्षित राख्नु र सङ्ग्रह गर्नु कम दुसाध्य कार्य होइन । यही कुरा यस पार्टी स्थापनाको सङ्ग्रहालयले गरेर देखाएको छ, यो कम महत्वपूर्ण र गौरवको कुरा होइन । त्यस सङ्ग्रहालयमा ‘साम्राज्यवाद–मुर्दावाद’ अर्थात् १९२६ तिर बनाइएका सङ्गठनहरूको कागजपत्र समेत त्यस क्रान्ति र आँधीबेहरीमा जोगाएर राख्नु साँच्चै प्रखर चेतनाकै कार्य हो ।
नेपाली पार्टीका नेता र कार्यकर्ता साथीहरूले सिक्नुपर्ने कुरामध्ये एउटा यो हो । आफ्नो पार्टी दस्तावेज, अखबार र अन्य कागजपत्रहरू रेकर्ड राख्ने बानी बसाल्नुपर्छ । आफूले गरेका ठुलठुला सङ्घर्षहरूका रेकर्ड र सम्झनाहरू आफूलाई गौरवको कुरा हुनुका साथै नयाँ पुस्तालाई शिक्षा हुने कुरा साथीहरूले बिर्सनु हुँदैन भन्ने कुरा मेरो मनमा लाग्यो ।
डायसोङ बजार
हरियाली वातावरणको सानो कमल पोखरी र चिटिक्क परेको सङ्ग्रहालयबाट बिदा लिएर २ः३० बजे हामी डायसोङ बजार (Daesong department store) गयौँ । त्यहाँ पनि विदेशी सामान महँगो छ । भूतपूर्व सोभियत सङ्घमा खानलाउन कम पैसाले पुग्ने हुँदा मानिसहरूसँग प्रशस्त पैसा जम्मा भइसकेको थियो । तर, नयाँ नयाँ किसिमका हेर्दा चिटिक्क पर्ने र देखावा किसिमका सामान रुसमै तयार थिएनन् । यसकारण, ती रुसीहरू विदेशी सामानको निम्ति मरिमेट्थे, लाम लाग्थे, धेरै धेरै पैसा खर्च गर्न तयार हुन्थे । त्यही झिलिमिली र विदेशी वस्तुप्रतिको मोहमा सोभियत सङ्घ समाप्त भयो । विदेशी वस्तुमात्रै भित्रिएन बरु विदेशी विचार र व्यवस्था नै भित्रियो । देश कङ्गाल भयो, जनता दुःखी भए, देशको इज्जत र गौरवमा दाग लाग्यो ।
सायद सोभियत सङ्घको नकारात्मक शिक्षा लिएर कोरियाले विदेशी वस्तुलाई छेलोखेलोसित राख्न दिएको छ । झिलिमिली मनपराउने र खर्चालु ग्राहकहरूको निम्ति बाटो खोली दिएर विदेशी वस्तुप्रतिको मोह भङ्ग गर्ने काम पनि मैले त्यहाँ देखेँ । विदेशी सामान कम छैनन् । तर, किन्ने मानिसहरू सा¥है कम पाएँ ।
जापानी, जर्मनी र अन्य पश्चिमी देशहरूसँग व्यापार गरेर वा ती देशका सामानहरू किनेर कोरियाली जनताले विभिन्न देशहरूसँगको सम्बन्ध सुधार्ने नीति लिएको हो भन्ने मैले अनुमान गरेँ । ४ बजे बजारबाट उपत्यका अतिथि सदन पुग्दा नेपाल–कोरिया मैत्री सङ्घका सचिव विष्णुसुन्दरजीसँग भेटघाट भयो । विदेशमा नेपालीहरू भेटेर अनुभवको आदानप्रदान गर्दा रमाइलो र मन हलुङ्गो हुने रै’ छ भन्ने मैले त्यही अनुभव गरेँ ।
विष्णुसुन्दरजीलाई बिदा दिइसकेपछि ५ बजे का. किम चाङ गोनसँग नेपाल मजदुर किसान पार्टी र कोरियाली मजदुर पार्टीका व्यवहारिक कुराकानी भयो । उहाँ कोरियाली मजदुर पार्टीका अन्तर्राष्ट्रिय मामलाका उपप्रमुख हुनुभएकोले देश विदेशसँग कोरियाको सम्बन्धबारे जानकारी लिन पनि मलाई सजिलो भयो । उहाँका अनुभवहरू मलाई सा¥है रमाइलो लाग्यो ।
अस्पतालमा (१५ वैशाख, ०४९/27 Apr., 1992)
बिहान ८ बजे दाँत देखाउन अस्पताल गएँ । भनिन्छ, चिनियाँ र कोरियालीहरू जन्मजात दाँतका चिकित्सक हुन्, भारतीयहरू जन्मजात दार्शनिक भनेजस्तै । यसकारण, दुखेको दाँतबारे सल्लाह लिन पुगेको थिएँ । विदेशीहरूको निम्ति अलग्गै अस्पतालको बन्दोबस्त रहेछ । अन्य विदेशीहरू पनि विभिन्न विभागमा डाक्टर जचाउँदै थिए, पैसा पर्दैनथ्यो । कोरियामा जचाउन र औषधि गर्न रोगीहरूले पैसा खर्च गर्नुपर्दैन, सबै पैसा सरकारले व्यहोर्छ ।
हल्लिएको मेरो दाँतको आफ्नै कथा थियो– जेलदेखिको रोगले नराम्रोसँग नचापेसम्म डाक्टर र वैद्यको अगाडि नपर्ने बानी मेरो मात्रै हो कि बहुमत नेपाली जनताको स्वभाव हो थाहा छैन । कोरियाली डाक्टरले सोधे, तपाईँ यहाँ कति दिन बस्नुहुन्छ ? “म भोलि यहाँबाट उड्छु,” मैले भनेँ । महिला डाक्टरले अलि अप्ठेरो मान्दै भनिन्, “यो दाँत राख्नुभएन । यसलाई तुरुन्तै निकाल्नुपर्छ, तर भोलि नै यहाँबाट हिँड्ने भएको हुँदा हवाईजहाजमा तपाईँलाई केही भयो भने अप्ठेरो हुन्छ, अहिले यसलाई रहन दिउँ । तर, घर पुग्नासाथै अझ हवाई अड्डाबाटै तपाईँ सिधै अस्पताल जानुभए हुन्छ, विस्तार नगर्नु होला ।” डाक्टरको सल्लाहलाई धन्यवाद दिँदै म त्यहाँबाट बिदा भएँ ।
त्यहाँबाट १० बजे नरबहादुरजीको पेचिङको भिसाबारे कुराकानी गर्न चिनियाँ दूतावास पुगेँ । तर, १२ बजे चिनियाँ दूतावासको पहिलो सचिव सान चियान अतिथि सदनमा पुग्दा हामी त्यहाँ पुगिसकेका थिएनौँ ।
जनताको विशाल अध्ययन गृह
खाना खाइसकेपछि १ः३० बजे हामी The grand people’s study house पुग्याँै । त्यसबारे मलाई थाहा थिएन । आश्रितजीले एक दिनअगाडि यसको बयान गर्नुभएको थियो । मैले त्यस साँझ कोरियाली कामरेडलाई हाँस्दै भनेको थिएँ, “मेरो पहिलो कोरिया भ्रमणमा र अहिले पनि विशाल जनअध्ययन गृहमा मेरो कार्यक्रम राख्नुभएन, सा¥है राम्रो र हेर्नलायक भनिन्छ, किन हो ?”
बडो सहजताका साथ कोरियाली कामरेडले उत्तर दिनुभयो, “सबै कुरा अहिले नै हेर्नुभयो भने पछिका भ्रमणहरूमा तपाईँलाई हामीले के नयाँ कुरा देखाउन सकौँला नि ?”
मैले भनेँ, “कोरिया वास्तवमा संसारको गुप्त धनजस्तै प्रचारमा नआएको सुन्दरतम देशमध्ये एक हो, यहाँ हेर्ने वस्तुहरूको कमी छैन ।” त्यसको भोलिपल्टै यो कार्यक्रम बनेको थियो ।
बाहिरबाट हेर्दा साधारण कोरियाली घरजस्तो देखिने जनताको विशाल अध्ययन गृह वास्तवमा नामअनुसारको भव्य र विशाल छ । मैले १९६० मै पेइचिङको पुस्तकालय, नेपालमा राष्ट्रिय र अन्य पुस्तकालयहरू, भारतका केही नाउँ चलेका पुस्तकालयहरू पनि हेरेको छु । तर, मैले हेरेका ती पुस्तकालयहरूभन्दा यो अध्ययन गृह हरेक कुरामा अर्थात् आकार, गुण र विविधतामा धेरै अगाडि छ र मैले कल्पना गरेको भन्दा विशाल छ ।
१८ महिनाभित्र महान् नेता किम इल सङ, प्रिय नेता किम जोङ इल र कोरियाली मजदुर पार्टीको निर्देशनमा निर्माण भएको त्यो अध्ययन गृहले १ लाख वर्गमिटर ओगटेको छ । १ अप्रिल, १९८२ मा अर्थात् २१ महिनामा पूरा तयार भइसकेको थियो । निर्देशिकाले भन्दै गइन् – अहिले यसमा १७० देशका ८४ भाषाका १ करोड ३० लाख पुस्तकहरू छन् र यसको क्षमता ३ करोड पुस्तकहरूको छ । यसका ६०० कोठाहरू छन्, ५००० मानिसहरूलाई बसेर पढ्ने बन्दोबस्त छ र दिनको १२,००० मानिसहरूले यसलाई प्रयोग गर्न सक्छन् ।
कामदारहरूलाई पनि बुद्धिजीवीकरण गर्ने उद्देश्यले निर्माण भएको त्यस अध्ययन गृहमा मजदुरहरू आउँछन्, अध्ययन गर्छन् र कक्षामा समेत बस्छन् । त्यसमा अध्ययन गर्ने १५ वटा कोठाहरू छन् र १७ वटा प्रवचन दिने वा कक्षा सञ्चालन गर्ने कोठाहरू छन् ।
ती कोठाहरूमा विभिन्न उमेरका केटा र केटी, महिला र पुरुषहरू अध्ययन गर्दै थिए, केही आँखा चिम्लेर सम्झन कोसिस गर्दै थिए भने केही पुस्तक र कापीमाथि घोप्टो परेर बसेका थिए । अखबार र पत्रपत्रिका पढ्नेहरू अर्कै कोठामा थिए । प्रवचन कक्षामा स्वचालित अर्थात् आफैँ लेख्ने र मेटिने कालो पाटी, ध्वनिको बन्दोबस्त, टेप रिकर्ड, भी.डी.ओ.रेकर्ड आदि हुने र रेकर्ड गर्ने व्यवस्था देखेँ । प्रवचन कोठाहरूको जम्मा ८०० सीटको बन्दोबस्त छ । पुस्तक लेनदेन गर्ने र पुस्तक ल्याउने कार्य सबै कम्प्युटर र स्वचालित थियो । पुस्तकको नाम, विषय, लेखकका सूची अथवा नम्बर दिएपछि तुरुन्तै व्यवस्थापकले कम्प्युटरमार्फत उक्त पुस्तक मगाउँछन्, पुस्तक स्वचालित यन्त्रद्वारा त्यहाँ हाजिर हुन्छ ।
विदेशी पुस्तकहरू घर लान सक्छन् र त्यसलाई रेकर्डमार्फत सुन्न सक्छन् साथै सामाजिक, प्राकृतिक विज्ञान, अर्थशास्त्र र अन्य विषयहरूको गोष्ठी र छायाङ्कन ती कोठाहरूमा हुन्छन् । टेलिफोन र पत्रहरूबाट प्रश्नहरू अध्ययन गृहको प्रश्न विभागमा मानिसहरूले पठाउँदा त्यस्तै २–४ वटा प्रश्नहरू भएपछि वा एकै जनाको प्रश्न भए पनि समयमा त्यसबारे सम्बन्धित विद्वान्, विशेषज्ञ वा जानकारलाई निम्त्याई प्रवचन गर्न अध्ययन गृहले बन्दोबस्त गर्छ । त्यसबारे प्रश्नकर्ताहरूलाई टेलिफोन वा पत्रबाट जनाउ दिन्छ । त्यस प्रवचनलाई रेडियो र टी. भी. मा प्रसारण गर्छ र अध्ययन गृहको पत्रिकामा समेत छाप्छ । प्रश्नकर्ता टाढाको भएमा उसले रेडियो र टी. भी. मार्फत वा अखबारमार्फत त्यो उत्तर वा त्यसबारे प्रवचन प्राप्त गर्छ । केही दिनपछि प्योङयाङ आएर त्यस प्रवचनको सुन्ने टेप वा हेर्ने टेप चाहन्छ भने कक्षामा भिडियो प्रदर्शन गर्ने बन्दोबस्त छ ।
महाविद्यालय र विश्वविद्यालयमा कारणवस वा पाठ छुटेका विद्यार्थीहरूले यहाँ आएर त्यसलाई प्रश्न र प्रवचनबाट पाठ अध्ययन गर्छन् ।
जीवनका विभिन्न क्षेत्रका अधिकारी, वैज्ञानिक, प्रतिनिधि, विश्वविद्यालयका प्राध्यापकहरूबाट नियमितरूपमा अध्ययन गृहमा प्रवचन हुन्छ, कक्षा हुन्छ र प्रश्न उत्तर पनि गर्ने गर्छन् । त्यहाँ छाप्ने, फोटोकपी गर्ने आदि विभिन्न सुविधाहरू पनि उपलब्ध छ ।
हामी विभिन्न अध्ययन कोठा, प्रवचन कोठा, छायाङ्कन कोठा आदिमा गयौँ, गीत सिक्ने र सिकाउने कोठामा गयौँ । मानिसहरू बेला, मान्डोलियन र अन्य बाजाहरू विभिन्न कोठाहरूमा बजाइरहेका थिए । केही गीतको टेप रेकर्ड कोठाहरूमा हेडफोन राखेर गीतहरू सुन्दै थिए र लेख्दै थिए । हामीले नेपाली गीत सुन्ने इच्छा जाहेर ग¥यौँ । तुरुन्तै क्यासेट ल्याइयो र क्यासेट बजाइयो । हामीले एअरफोन राख्यौँ र सुन्यौँ । अङ्ग्रेजी भाषा सिक्ने कोठामा गयौँ, भिडियोबाट भाषा सिकाउने दृश्यहरू र ठुलो कालोपाटीमा आफैँ लेख्ने र मेटिने प्रविधि हे¥यौँ ।
निर्देशिकाले भन्दै गइन् – यहाँ देशी र विदेशी भाषामा र विषयगत क्याटलग अर्थात् पुस्तक सूचीको बन्दोबस्त छ । २,६०,००० मानिसहरू अध्ययन गृहबाट लाभ उठाउँदै छन्, महिलाहरू र नेताहरूलाई आवश्यक परेमा पुस्तक र रेकर्डहरू घरसम्मै पु¥याउने व्यवस्था छ । प्रतिभावानहरूलाई प्रवचन गर्न आमन्त्रित गर्ने, १० वटा कोठाहरू अनुसन्धान वा शोध गर्नेहरूको निम्ति र अनुवाद गर्ने समेत बन्दोबस्त छ । १५ लाख मजदुरहरूलाई बुद्धिजीवीकरण गर्ने लक्ष्य राखेर अध्ययन गृहमा आधारभूत विज्ञान, गणित, जीवविज्ञान, रसायन शास्त्र, शिक्षकहरूको निम्ति स–सानो तालिम, नयाँ नयाँ प्रविधिबारे दैनिक कक्षाहरू हुन्छ ।
वास्तवमा यसलाई पुस्तकालय भन्नु भन्दा प्रश्न उत्तरका र आधुनिक विश्वविद्यालय भने हुन्छ । सङ्गीत र विद्याका विविध क्षेत्र पनि समावेश भएको हुँदा त्यस अध्ययन गृहलाई नेपाली भाषामा सरस्वतीको मन्दिर भने पनि फरक पर्दैन ।
प्रश्नोत्तर, सङ्गीत, भाषा, आधारभूत भूगोल आदि विषयका कोठाहरूमा पनि गयौँ । सारा व्यवस्थित थियो । एक उत्तरमा तिनीले भनिन्, “स–साना केटा–केटीहरूलाई यहाँ सदस्यता दिइन्न, तिनीहरू आ–आफ्नै स्कूलका पुस्तकालयहरू प्रयोग गर्छन् । १७ वर्षको उमेरदेखि मात्रै यहाँ सदस्य बन्न दिइन्छ, उमेर नपुगेका तर विशेष प्रतिभा भएका केटा–केटीको निम्ति त स्कूल कलेजको सिफारिसअनुसार हुनसक्छ ।”
विशाल जनताको अध्ययन गृह वास्तवमा कोरियाली परम्परागत वास्तुकलाको नमुना हो । शुभ्र, परिष्कृत शैली र सजावटले यसलाई बेजोड बनाएको छ । सिंहमर्मर र स्फटिकजस्तो सेतो ढुङ्गाका ठुलठुला खम्बाहरू सा¥है सुहाउँछन् । भवनको दुवैतिरका बार्दली वा मण्डपहरूका दुइटा घडीले ‘किम इल सङको गीत’ भन्ने क्रान्तिकारी भावना उनिएको विजय गीत बजाइरहन्छन् । अध्ययन गृहका सभा भवनहरू र आँगनहरू सबै सिंहमर्मरले बनेका छन् र ती सबै ठाउँहरूमा मणि, माणिक, रत्न, जुहारातहरू जडिएका फूलहरू कुँडिएका छन् । आँखालाई लोभ्याउने र कलालाई जगमगाउने ती श्रृङ्गारले भवनको सुन्दरतालाई प्रज्वलित गरेको थियो ।
विद्युत् स्वचालित उपकरणहरूले र कोरियाली सुन्दर कलात्मक बुट्टा र बास्तुकलाले सुशोभित जगमगाउँदो अध्ययन गृह सुन्दरताको अद्वितीय नमुना थियो । २० रङ्गका पन्नाहरू ती कलाकृतिमा जडिएका छन् जो पाक्डु पहाडबाट ल्याइएका हुन् । यस्तो भव्य, विशाल र सुन्दर जनताको अध्ययन गृहको लागत सोध्दा उत्तर आयो डा. हाङ झङ गोङको भनाइमा १० करोड अमेरिकी डलर अर्थात् ५ अर्ब नेपाली रूपैँया बराबर पर्दछ ।
पाँचतले यस भवनको भुइँतलामा ठुलो पुस्तक प्रदर्शनी थियो । कोरियाली भाषामा माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन, गोर्की, शेक्सपियर, लुशुन आदि संसारका नेता, लेखक, कवि र कलाकारहरूका सयौँ प्रसिद्ध पुस्तकहरूको अनुवाद भइसकेको रहेछ । वास्तवमा कोरियाली भाषा सा¥है सम्पन्न र समृद्ध भाषा रहेछ । हामी नेपालीहरू वास्तवमा त्यसबाट अनभिज्ञ रहेछौँ भन्ने लाग्यो । कोरियाली पुस्तकहरूको नाम र शीर्षकलाई अनुवाद गराएर हेर्दा म त विस्मित भएँ । भाषा र साहित्यको विकास नभई क्रान्तिलाई पनि सघाउ नपुग्ने र क्रान्ति नभई समाज अगाडि नबढ्ने ठम्याइ झन् पुष्टि भयो । अङ्ग्रेजी भाषा सिक्ने कोरियालीहरूको पाठ्यपुस्तक हेर्दा सा¥है व्यवस्थित पाठ्यक्रम लाग्यो । व्याकरण र शब्द भण्डारको आधारमा हरेक विषयको ज्ञान दिने पाठ्यपुस्तक अरुले पनि सिको गर्नुपर्ने खालको छ । २–४ तहका अङ्ग्रेजी पाठ्यपुस्तकमा सभ्यताका इतिहास, कपर्निकस, ग्यालिलियो वा वैज्ञानिक आविष्कारकहरू र अन्य आवश्यक विषयहरूको जानकारी ती पुस्तकहरूमा थिए । किताब प्रदर्शनी हेर्न पुगेकै थिएन, धीत मरेकै थिएन, समयको अभाव सम्झँदै हामी विद्याको दरबार ‘विशाल जनताको अध्ययन गृह’ बाट बिदा लियौँ ।
केटाकेटीको दरबार
अपराह्न ३.१५ मा हामी प्योङयाङको स्कूलका केटाकेटीहरूको दरबारमा पुग्यौँ । १,३३,००० वर्गमिटर क्षेत्रफलमा फैलिएको त्यो दरबारमा ६०० कोठाहरू छन् र एकै पटक ५००० केटाकेटी आफ्ना गतिविधि गर्न सक्छन्, दिनको १२,००० छात्र–छात्राहरू आउँछन् र स्कूलमा सिकेका विषयहरूलाई प्रयोग र अनुसन्धान गर्छन् तथा आफ्नो प्रतिभालाई विकास गर्छन् ।
शिक्षाको अतिरिक्त कार्यकलाप गर्ने यस केन्द्रमा १ लाख पुस्तक भएको एउटा पुस्तकालय छ । त्यसमा २०० स्थान छ । त्यसमा २००० स्थान भएको एउटा सभा भवन, एउटा व्यायामशाला र एउटा पौडी खेल्ने पोखरी छ ।
२ मई १९८९ मा यसको स्थापना भएको थियो र यसको जम्मा लागत १० करोड डलर अर्थात् ५ अर्ब रूपैयाँ पर्दछ भने जानकारी एक प्रश्नको उत्तरमा दरबारका एक अधिकारीले बतायो । स्कूलबाट छुटेपछि यहाँ विद्यार्थीहरू आएर आ–आफ्नो विषय र रुचिअनुसार गतिविधि गर्छन् । तालिम पाएका विद्यार्थीहरूको सांस्कृतिक टोलीले देश–विदेशमा समेत कार्यक्रम देखाएर संसारलाई मुग्ध पार्छ । १९९२ मा नेपाल आएर नेपाली जनतालाई छक्क पार्ने र नेपाली जनताको प्यार पाएको सांस्कृतिक टोली यसै दरबारको हो । साँच्चै त्यस टोलीले नेपाली केटाकेटी र बुढाबुढीको मन जितेको थियो । त्यस टोलीको सांस्कृतिक कार्यक्रम हेर्ने नेपाली केटोकटीहरूले आज पनि कोरियाली बाल कलाकारहरूले गाएका नेपाली गीत, नाचगान र बाजाको धुनलाई बिर्सेका छैनन् ।
हामीले दरबारका विभिन्न गतिविधिका कोठाहरू हे¥यौँ र केही उपहार प्रदान गयौँ ।
५ बजे हामी पुनः बजार गयौ र ६ः३० बजे अतिथि सदन पुग्यौँ । रात्रीको खानापछि सामान मिलाउन लाग्यौँ ।
स्वदेशतर्फ (१६ वैशाख, २०४९/28 Apr., 1992)
बिहान ८ बजे अतिथि सदनबाट प्योङयाङ हवाई अड्डातिर लाग्यौँ । कोरियाली कामरेडहरूसँग बिदा लियौँ र धन्यवाद दियौँ । उहाँहरूले फेरि कोरियाको भ्रमणको निम्ति आमन्त्रण गर्नुभयो । १० बजे हवाईजहाज पेचिङको निम्ति उड्यो । कोरियाका दृश्यहरू हवाईजहाजभित्र पनि झलझली सम्झिरहेको थिएँ । कोरियाका पार्टी कामरेडहरू र साथीहरूका अनुहार र भनाइहरू चलचित्रझै मनमस्तिष्कमा निरन्तर प्रतिध्वनित भइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *