भर्खरै :

नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा

नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा

लन्डन, ११ वैशाख (एएफपी) । विगत २४ वर्षदेखि इजरायलमा जेलमा रहेका प्यालेस्टिनी नेता मरवान बरघोटी प्यालेस्टिनको ‘लोकतान्त्रिक नवीकरण’ को नेतृत्व गर्न सक्ने एक सशक्त व्यक्तिका रूपमा रहेको उहाँका छोरा अरब बरघोटीले एएफपीसँगको कुराकानीमा दाबी गर्नुभएको छ ।
समर्थकहरूले ‘प्यालेस्टिनको नेल्सन मण्डेला’ भनेर प्रशंसा गर्ने गरिएका ६६ वर्षीय बरघोटी इजरायलको सबैभन्दा उच्च ओहोदाका कैदी हुनुहुन्छ र प्यालेस्टिनी मुद्दाको प्रतीक बन्नुभएको छ ।
कब्जामा रहेको वेस्ट ब्याङ्कका धेरै भित्ताहरूमा बरघोटीका तस्बिरहरू टाँसिएका छन् । उहाँ युद्धमा इजरायली आक्रमणबाट अधिकांश भूभाग नष्ट हुनुअघि गाजामा पनि देखिनुभएको थियो ।
सन् २००० को दशकको सुरुवातमा भएको दोस्रो इन्तिफादा, प्यालेस्टिनी विद्रोहका नेताहरूमध्ये एक, मारवान बरघोटीलाई ९० वर्षीय प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको सम्भावित उत्तराधिकारीको रूपमा प्रायः उद्धृत गरिन्छ ।
सन् २००२ मा बुबा जेलमा पर्दा बरघोटीका छोरा अरब ११ वर्षको मात्र हुनुहुन्थ्यो । इजरायली अदालतले सन् २००४ को जूनमा इजरायल र कब्जा गरिएको वेस्ट बैङ्कमा पाँच जनाको ज्यान लिने गरी चार आक्रमणमा संलग्न भएको आरोपमा उहाँलाई आजीवन कारावासको सजाय सुनाएको थियो ।
वेस्ट ब्याङ्कको रामल्लाह सहरमा बस्दै आएका ३५ वर्षीय अरबले चार वर्षदेखि आफ्ना पितालाई भेट्नुभएको छैन तर आफ्नो रिहाइको अभियानमा आफ्नो जीवन नै समर्पित गर्नुभएको छ ।
प्यालेस्टिनी इस्लामिक समूह हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको घातक आक्रमणपछि उहाँले पितासँग प्रत्यक्ष सम्पर्क गर्नुभएको छैन ।
आफ्नो बुबाको खबर वकिलमार्फत निरन्तर प्राप्त गर्नुहुन्छ । अन्तिमपटक अप्रिल १२ मा आफ्ना वकिलले बुबालाई भेटेको र उहाँलाई हालैका हप्ताहरूमा तीनपटक हिंसात्मक आक्रमण गरिएको थियो ।
“हामीले उहाँमाथिको दुव्र्यवहार र यातनाको बारेमा थाहा पायौँ,” अरबले आफ्नो बुबाको रिहाइको लागि लन्डनमा एक अन्तर्वार्तामा एएफपीसँग भन्नुभयो ।
इजरायली कारागार अधिकारीहरूले एक विज्ञप्ति जारी गर्दै आरोपहरू ‘झूटो, यसअघि लगाइँदै आएको आरोपको निरन्तरता र पूर्ण रूपमा निराधार भएको’ बताउनुभएको छ ।
अगस्टको तस्बिरमा बरघोटीका बुबा कमजोर र शारीरिक रूपमा दुब्लो देखिनुभएको थियो तर वकिलले उहाँलाई ‘सधैँजस्तो तकडा, मानसिक रूपमा धेरै तीक्ष्ण’ भएको बताएका थिए ।
बरघोटीका अनुसार वर्षौंको कारावासपछि पनि उहाँका बुबाको लोकप्रियता कम भएको छैन ।
“हामीलाई एकीकृत नेतृत्वको सख्त आवश्यकता छ । मलाई लाग्छ कि उहाँले यसको प्रतिनिधित्व गर्नुहुन्छ । उहाँ प्यालेस्टिनमा भविष्यको लोकतान्त्रिक नवीकरण र एकताको प्रतिनिधित्व गर्नसक्नुहुन्छ ।
अब्बासको फताह पार्टीका लामो समयदेखि सदस्य रहेका मरवान बरघोटीलाई हमासका लडाकुसहित सबै प्यालेस्टिनी राजनीतिक गुटहरूले नेताको रूपमा स्वीकार गर्न सक्ने दुर्लभ व्यक्तित्वमध्ये एक मानिन्छ । इजरायली जेलमा रहेका उहाँ चाँडै रिहा हुने कुनै सङ्केत भने छैन ।
अरबले जोड दिनुभयो, “विनाशकारी गाजा युद्ध र वेस्ट बैङ्कमा फैलिरहेको यहुदी बस्तीको बावजुत उहाँका बुबाले आफ्ना जनताका लागि कहिल्यै आफ्नो आशा त्याग्नुभएको छैन ।”
बरघोटी अझै लामो समयदेखि प्रचार गरिएको दुई–राज्य समाधानमा विश्वास गर्नुहुन्छ, जसले भविष्यमा प्यालेस्टिन राज्य इजरायलसँगै एक छिमेकीको रूपमा देख्नेछ ।
“उहाँले वर्तमान इजरायली सरकारले मूल रूपमा दुई–राज्य समाधानलाई जानाजानी मारिरहेको छ र सम्पूर्ण विश्वले यसलाई हेरिरहेको छ,” अरबले भन्नुभयो ।
उहाँले भन्नुभयो, “मलाई लाग्छ, अन्य कुनै पनि कुराभन्दा बढी उहाँको सबैभन्दा ठुलो उद्देश्य प्यालेस्टिनी स्वतन्त्रता हो, सम्मानका साथ बाँच्नु हो ।”
अरब वर्तमान प्यालेस्टिनी नेतृत्व र रामल्लाहमा रहेको प्यालेस्टाइन प्राधिकरण (पीए) को आलोचक हुनुहुन्छ ।
“दुर्भाग्यवश उनीहरूले प्यालेस्टिनी जनताले भोगिरहेको अवस्थालाई परिवर्तन गर्न सकेका छैनन् । उनीहरू प्यालेस्टिनी जनताको रक्षा गर्न असमर्थ छन्,” उहाँले दुखेसो पोख्नुभयो ।
यद्यपि उहाँले यो पनि स्वीकार गर्नुभयो कि “उनीहरू (प्यालेस्टिनी) लाई काम गर्न धेरै स्वतन्त्रता छैन ।”
मरवान बरघोटीको भविष्य अज्ञात छ ।
गाजा युद्ध सुरु भएदेखि इजरायलले उहाँलाई कुनै पनि कैदी आदानप्रदानमा रिहा गर्न अस्वीकार गरेको छ ।
“उहाँ वर्तमान इजरायली सरकारको वर्तमान महत्वाकाङ्क्षाका लागि राजनीतिक खतरा हुनुहुन्छ,” अरबले भन्नुभयो ।
तर अरब र उनको परिवारले आफ्ना बुबालाई कहिल्यै रिहा नगर्न सक्ने कुनै पनि विचारलाई स्वीकार गर्न अस्वीकार गर्नुहुन्छ । यो ‘हामीले सोचेको विकल्प होइन’ ।
“उहाँ मेरो र समस्त प्यालेस्टिनीको नायक हुनुहुन्छ । उहाँ पक्कै पनि मेरो देशको ‘नमुना व्यक्ति’ हुनुहुन्छ । एक प्यालेस्टिनीको रूपमा उहाँले मलाई आशा दिनुहुन्छ र म कुनै पनि तरिकामा उनको दृष्टिकोणलाई समर्थन गर्न चाहन्छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *