भर्खरै :

पितृभूमि मुक्ति युद्धको ४० औँ विजय दिवस – ४

पितृभूमि मुक्ति युद्धको ४० औँ विजय दिवस – ४

तेस्रो भ्रमण
साउन ९ – १६, २०५० (July 24 – 31, 1993)

छलफल
उपत्यका अतिथि सदनमा आएर कोरियाली मजदुर पार्टीका प्रतिनिधिहरूसँग ३१ जुलाई अर्थात् १६ साउनको दिन फर्कने निश्चय गर्न आग्रह गर्दै थिएँ । तर, जीवनजीका निम्ति समय छोटो थियो भने मलाई आन्दोलनकै पिर थियो । देशभित्र आन्दोलन गर्ने, जनता लाठी र गोली खाने, जेल जाने हामी भने विदेशको भ्रमणमा बस्ने कुराले मलाई अत्याइरहेको थियो । कोरियाली मित्रले ठट्टामा भन्नुभयो, “का. जीवनलाई केही दिनको निम्ति कोरियामै छाडेर जानुहोस्, उहाँले धेरै कुरा हेर्न पाउनुभएको छैन ।”
मैले भनेँ, “आन्दोलनकारी साथीहरू पर्खिरहने छन्, पार्टीका साथीहरू प्रतिनिधिमण्डलको बाटो हेरिरहेका हुन्छन् र उहाँको परिवारलाई मैले के जवाफ दिने ?”
एक छिन हाँसो भयो । कार्यक्रमबारे पुनः छलफल भयो । का. जीवनले थप्नुभयो, काठमाडौँ पुगेर हिन्दूहरूले पशुपति नजानु र प्योङयाङ पुगेर महान् नेता का. किम इल सङको जन्मस्थल नहेर्नु त्यस्तै अधुरो यात्रा हुनेछ ।
मैले भनेँ, “हाम्रो का. जीवन मौलिकरूपले नै किसान हुनुहुन्छ । यसकारण, एक सहकारी संस्था र एक किसानको गाउँमा कार्यक्रम उचित नै होला । फेरि हामी बुद्धका देशका हौँ र हामीले बुद्ध विहारहरूको भ्रमण गर्न पायौँ भने हामीलाई नेपाल नै पुगे जस्तो हुन्छ । फेरि मेट्रो (जमिनमुनिको रेल) र सिँचाइको विराट योजना पश्चिमी समुद्री बाँध छुटाउँदा का. जीवनजीमाथि अन्याय हुनेछ किनभने नेपालमा न मेट्रो छ न त समुद्र नै ।”
कोरियाली मित्रहरू हाँस्नुभयो र हाम्रो राय र इच्छालाई पार्टीको आवश्यक ठाउँमा पु¥याउने बचन दिँदै हामीसँग बिदा लिनुभयो । झन्डै २ घण्टापछि हामीले राखेका कार्यक्रमको प्रस्तावबारे सकारात्मक भएको खबर पाइयो, दिइयो । खाना खाएर प्योङयाङको १० बजे (काठमाडौँको १ः३० बजे) ओछ्यानमा पल्ट्यौँ ।
का. किम इल सङको जन्मथलो (१५ साउन, ०५०/30 July, 1993)
बिहान झलमल घाम लागेको थियो । बिहानको चमेना खाएर हामी कोरियाली जनताका महान् नेता का. किम इल सङको जन्मस्थल माङयोङडेको निम्ति प्रस्थान गर्याैँ । ८ बजेको थियो, हामी त्यस महात्माहरूको कुटीजस्तो ठाउँमा ओल्र्यौँ । त्यहाँका व्यवस्थापकले हाम्रो स्वागत गरेर परिचय दिँदै भन्दै गए, “१५ अप्रिल, १९१२ को दिन राष्ट्रपति किम इल सङ जन्मनुभएको यो ऐतिहासिक स्थल हो ।”
हो, पूर्वी सभ्यताका एक सपुत, ओजस्वी, देशभक्त, साम्यवादी सिद्धान्तका एक विचारक, जुछे विचारधाराका सिद्धान्तकार र दुरदर्शी, रणविद्, अजय सेनापति र कोरियाली राष्ट्रको एक अतुलनीय सूर्यको उदय ८१ वर्ष पहिले त्यही भएको थियो ।
का. किम इल सङको पुख्र्याैली घर, पुराना सामान, कृषि ज्यावल, हजुरबा, हजुरआमा, आमाबुबा र काकाहरूका तस्बिर र त्यस परिवारका पुराना वीरताका गाथाहरू सुन्दै हामी उहाँको कुस्ती खेल्ने, पढ्ने र सुस्ताउने स्थलहरू उक्ल्यौँ ।
मैले जीवनजीको अनुहार हेर्दा सन्तोषको चमक देखेँ । यो ठाउँमा मेरो तेस्रो भ्रमण थियो ।
यहाँबाट हामी माङयोङडेको सहकारीको एक नजिकैको गाउँमा पुग्यौँ । गाउँका किसानहरू सबैजसो खेतमा हिँडिसकेका थिए । हामी ढिलो पुगेका थियौँ । हामीलाई एउटा घरमा स्वागत गरियो । त्यो घर किसानको घरजस्तै थिएन । कहीँ पनि पराल, छ्वाली, कुखुरा, भेडा–बाख्रा, खरानीको थुप्रो केही पनि थिएन । जीवनजीलाई विश्वास गर्न गा¥हो प¥यो । किसान भनेको मैलो हुन्छ र किसानको घर भनेको फोहोर हुन्छ भन्ने हाम्रो सोचाइमा पूरै हेरफेर ल्याउनुपर्छ भन्ने कुरामा जीवनजी सहमत हुनुभयो ।
त्यस एकतले आधुनिक घरभित्र पस्यौँ । केन्द्रीय तापको बन्दोबस्त गरिएको घर हो । २–४ वटा कुराकानी गर्यौँ । फोटो खिच्यौँ र कोर्यो राजाको चिहान हेर्ने कार्यक्रमतिर लाग्यौँ ।
राजा तोङमाई ओङको चिहान
प्योङयाङको दक्षिणमा रहेको राई ओक पो जिल्लास्थित कोगुरो वंशको संस्थापक राजा तोङमाई ओङको चिहानमा पुग्यौँ । सहर र बस्तीहरू छिचोल्दै खेत, खलिहानहरू र गाउँ पार गर्दै त्यस ठाउँमा पुग्यौँ ।
कोरियामा एक शक्तिशाली राज्य खडा गरेर विदेशी हमलाहरूसँग जुझ्ने र हराउने राजाको रूपमा तोङमाई ओङलाई लिइन्छ । हुन त कोगुरो जनता घोडचढी, वाण हान्ने र सैनिक कलामा निपुण हुनाले देशलाई विदेशी आक्रमणहरूबाट जोगाउन सफल भएको बताइयो । ५०० वर्ष राज्य गर्ने यस कोगुरो वंशले सन् ४२७ मा जियान भन्ने ठाउँबाट आफ्नो राजधानी प्योङयाङ सारेका थिए । राजधानी सार्दा तिनीहरूले राजा तोङमाई ओङको चिहानलाई पनि त्यस ठाउँमा सारेका थिए ।
सानैदेखि साहसी, घोडचढीमा निपुण र वाण हान्ने कलामा दक्ष भएका अनेक किंवदन्तीहरूसहित त्यस राजाको भित्तेचित्रहरूको कक्ष हेरेर हामी चिहानमै पुग्यौँ ।
३२ वर्गमिटरको चौकुने दबुलीमा ११–१२ मिटर उँचो माटोको ढिस्को जस्तो चिहानको तल टेबुल जस्तो एउटा ढुङ्गा मृतात्माको पूजाआजाको निम्ति राखिएको छ । त्यसको सामुने एउटा ढुङ्गाको चारैतिर प्वालै प्वाल भएको ढुङ्गाको बत्ती राख्ने ठाउँ वा ‘मताकलाँली’ छ । बाटोको दुवैतिर ४–४ जना सैनिक अफिसरहरू र दरबारी कर्मचारीहरूका ढुङ्गाका मूर्तिहरू उभ्याइएका छन् । पछाडितिर तिनीहरूका घोडाका मूर्ति पनि उभ्याइएका छन् । यसले त्यस राजाको आठ रत्न वा आठ जना सल्लाहकारहरू भएको अनुमान हुन्छ । दुइटा ढुङ्गाका बाघ कोगुरो जनताको बहादुरीको प्रतीक मानिन्छ ।
ढुङ्गाका अनेक सफा चोक र खुड्किलाहरू पार गर्दै त्यो चिहान हेर्यौँ र त्यसपछि नजिकैको बुद्ध मन्दिरतिर गयौँ । जोङरुङ विहार पनि मृतात्माको शान्तिको निम्ति नजिकै त्यही समयमा बनाइएको भनिन्छ । ३०,००० वर्गमिटरभित्र बनेको त्यस विहारलाई किम इल सङ विश्वविद्यालयका शिक्षक र विद्यार्थीहरूले पत्ता लगाएर १९७४ मा पुनःनिर्माण थालेका हुन्, जो पहिले युद्ध र अरु कारणहरूले पुरिसकिएको थियो ।
विहारमा गयौँ, त्यहाँका व्यवस्थापकहरूसँग पनि कुराकानी भयो । त्यसको उच्चस्तरीय बनावट र सुन्दरता, कोरियाली कलात्मक परिचय र इतिहासको संस्मरण नै त्यसको महत्व थियो । कोरियाली मजदुर पार्टी र राष्ट्रपति किम इल सङले राष्ट्रिय गौरव र आत्मविश्वास नै कोरियाली ऐतिहासिक परम्परा हो भन्ने कुरा नयाँ पुस्तालाई बुझाउन पनि त्यसको जीर्णोद्धार र पुनःनिर्माण गरेका हुन् भन्न सकिन्छ ।
मेट्रो भूमिगत रेलवे
दिउँसो ३ः३० बजे मेट्रोमा पुग्यौँ । १०० मिटर तल सुल्ल बग्ने भ¥याङबाट झरिरहँदा मैले जीवनजीको मुख हेरेँ । उनी बडो विस्मित् भई चारैतिर हेर्दै थिए । त्यस भूमिगत रेलका हरेक बिसौनीको आ–आफ्नै विशेषता छ । यसका नामहरूले एकातिर प्रजग कोरियाको जीवनलाई प्रतिबिम्बित गर्छ भने अर्कोतिर हरेक बिसौनीको आकारप्रकार र श्रृङ्गारले वास्तुकला र शिल्पकलाको विविधतालाई मूर्तिमान गर्छ । मोजाइक अर्थात् काँच, सिंहमर्मर वा विभिन्न रङ्गका चिनियाँ माटाका वा काँचका टुक्राहरू वा मूल्यवान ढुङ्गाका टुक्राहरूले अनेक ठुलठुला चित्रहरू बनाइएका छन्, जस्तै रागोन नदीको स्वर्ग आदि ।
पुनःनिर्माण, गौरव, चिराग, विजय, पुनःएकीकरण, विजयोत्तर फिर्ती, सुनौला बालीको लहलह, मुक्ति, स्वर्गजस्ता नामहरूको बिसौनीले प्रजग कोरियाको ऐतिहासिक महत्वका दिनहरूका स्मरण र प्रगतिलाई समेत सङ्केत गर्छ । छोटोमा ती बिसौनीहरू कोरियाली जनताका जीवनका अनेक स्थितिहरूको प्रतीक बनेका छन् ।
गौरव स्टेसनले साँच्चै कोरियाली जनताको सम्पन्नता र गौरवलाई नै प्रतिबिम्बित गर्छ । बिसौनीको तल नपुग्दै कोरियाको सुन्दरतम ताल भएको पेक्डु पहाडको चित्रको सजावटले मलाई त जिल्यायो ।
यसरी जहाँ गए पनि कोरियाली जनताका हातहरूको सीप र शैली देखेर मनमनमा भन्दै थिएँ, “कोरिया विश्वकर्माको देश हो ।”
पश्चिमी समुद्री बाँध
मेट्रोको एक बिसौनीबाट अर्को बिसौनीमाथि उक्ल्यौँ । हाम्रो मोटरहरू अब पश्चिमी समुद्री बाँधतिर गइरहेको थियो । ८० किलोमिटर नाघेर हामी ४ः३० बजे त्यस बाँधको सबभन्दा उँचो मण्डपमा पुग्यौँ । त्यस बाँधका अधिकारीहरूले हामीलाई स्वागत गर्दै बाँधबारे बताए । त्यसपछि चिया खाँदै हामीले बाँध बनाउँदा कोरियाली जनसेनाले कसरी छाल र आँधीबेहरीसँग जुझे र निर्माण कार्य गरेका थिए, कसरी राष्ट्रपति किम इल सङ, प्रिय नेता का. किम जोङ इल र पार्टी नेताहरूले त्यसबारे ध्यान दिनुभएको थियो भन्नेबारे सबै वृत्तचित्र भिडिओमा हेर्यौँ ।
समुद्र र बाँध आउने फोटोहरू लिन जीवनजी सा¥है उत्सुक थिए, फोटोहरू खिचिए, धन्यवाद दिँदै त्यहाँका अधिकारीहरूसँग बिदा लियौँ ।
कोरियाली पार्टीको उपहार
साँझ उपत्यका अतिथि सदनमा अन्तर्राष्ट्रिय सम्बन्धको सहनिर्देशकले कोरियाली मजदुर पार्टीका महासचिव का. किम इल सङले नेमकिपाका अध्यक्षलाई पठाउनुभएको उपहारलाई हस्तान्तरण गर्नुभयो । मोजाइकका कोपिला, फूल र बिरुवाका बुट्टाहरूले सिङ्गारिएको सेरामिकको कलश हेर्दा टल्कने र साँवला रङ्गको थियो । सेरामिक प्रविधिमा कोरियाको मौलिकता र विशिष्टता त्यस कलशमा झल्किन्थ्यो । सगुन र मित्रताको प्रतीक यस उपहारको निम्ति नेमकिपाको केन्द्रीय समितिको तर्फबाट का. किम इल सङलाई धन्यवाद दियौँ र दुई पार्टीको मित्रतालाई झन् सुदृढ बनाउन र का. किम इल सङको सुस्वास्थ्यको निम्ति टोस्ट प्रस्ताव गर्यौँ ।
अन्तिम दिन (१६ साउन, ०५०/31 July, 1993)
आज मेरो तेस्रो कोरिया भ्रमणको अन्तिम दिन थियो । हिजो राति नै सामान मिलाइसकेको थिएँ । रात त्यसै बितेको थियो ।
८ बजे बिहान नेपालमा बाल सांस्कृतिक टोलीको नेतृत्व गरेर विदेश सांस्कृतिक सम्पर्क समितिका उपाध्यक्ष तथा शिक्षा एवं सांस्कृतिक उपमन्त्री का. चोन योन वक भेट्न आउनुभयो । हाम्रो प्रतिनिधिमण्डल ४० औँ विजय दिवसमा भाग लिन प्योङयाङमा पाउँदा उहाँले खुसी व्यक्त गर्नुभयो, बसाइँ र स्वास्थ्यबारे सोधपुछ गर्नुभयो । यसपालिको छोटो भ्रमण भयो, तर व्यस्त समयमा पनि हामी कोरिया पुगेकोमा धेरै धन्यवाद दिनुभयो ।
हाम्रो प्रश्नको उत्तरमा उहाँले भन्नुभयो, “नेपाल भ्रमणताका ७–८ वर्षका नानीहरूसमेत कोही पनि बिरामी भएनन्, आज पनि ती बाल कलाकारहरू नेपाल भ्रमण र सांस्कृतिक कार्यक्रमहरूको सम्झना गर्छन् ।”
अन्तमा उहाँले शुभयात्राको कामना गर्नुभयो र हामीले नेपालका स–साना नानीहरू अहिले पनि कोरियाली बाल सांस्कृतिक कार्यक्रमलाई सम्झिरहेका छौँ र फेरि नेपालमा बाल सांस्कृतिक टोलीलाई स्वागत गर्ने इच्छा व्यक्त गर्यौँ ।
उहाँलाई बिदाइ गरेर हामी कोरियाली मजदुर पार्टीको सचिवज्युले दिनुभएको दिवाभोजमा सामेल भयौँ । त्यसबेला घडीमा ११ः३० बजेको थियो ।
हाकसान सहकारी
२ बजे हामी हाकसान सहकारी पुग्यौँ । सहकारीको अध्यक्षले मलाई चिन्नासाथ भने, “तपार्इँ पुरानो कामरेड हुनुहुन्छ, मैले चिनेँ ।” उनले आफ्नो रिपोर्ट सरल भाषामा बताए, द्वेभाषीले त्यसलाई अङ्ग्रेजीमा अनुवाद गर्दै गए र त्यसलाई मैले नेपालभाषामा जीवनजीलाई बताउँदै गएँ ।
त्यसपछि हामीले त्यस सहकारीका विभिन्न विभागहरू हेर्यौँ । एउटा किसान परिवारको घरमा गएर कुराकानी गर्यौँ र अन्तमा मिथेन ग्यास अथवा नेपालमा गोबर ग्यास भनिने प्लान्ट हेर्यौँ । एक ठाउँमा देखाउनकै निम्ति गोबर ग्यासको एक चुलो पनि राखिएको छ । सलाइ बालेर हेर्याँै, मधुरो चुलो बल्यो । मैले हाँसेर सहकारीको अध्यक्षलाई सोधेँ, “पहिले आउँदा तपाईँले यो ग्यास प्लान्ट देखाउनुभएन ?” जवाफ पाएँ, “तपाईँको अर्को भ्रमणमा यस सहकारीको अरु धेरै नयाँ नयाँ कुराहरू देखाउनेछु ।”
जीवनजीको एक प्रश्नको उत्तरमा उनले भने, “प्रजग कोरियामा कुनै प्रकारको कर जनताले तिर्नुपर्दैन । किसानहरूका सबै घरहरू सरकारले बनाइदिएको हो ।”
स्वदेशतिर
५ बजे हामी प्योङयाङको हवाई अड्डामा पुग्यौँ । त्यहाँ कोरियाली मजदुर पार्टीका सचिव र अन्य विदेशसँग सम्बन्धित कोरियाली कामरेडहरूसँग भेट भयो । प्रतीक्षालयमा चिया, कफी र फलफुलका रसहरू पिउँदै कुराकानी हुँदै गयो ।
कुराकानीको क्रममा कोरियाली मजदुर पार्टीका सचिव का. ह्योङ वाङ योपले भन्दै जानुभयो, “माक्र्सवाद धर्मप्रति आलोचनात्मक दृष्टिकोण राख्छ अर्थात् माक्र्सवादमा धर्मको नकारात्मक पक्षमात्रै छ, त्यसको सकारात्मक पक्ष छैन । धर्मको सकारात्मक पक्षलाई पनि हेर्नु पर्छ ।…. अरु चर्चाको कुरा छोडौँ, इटालीको क्याथोलिक चर्चमा समेत गीत र प्रार्थना हुन्छ वा नाचगान हुन्छ, अनि धर्मका कुराहरू हुन्छन् । कोरा राजनैतिक कुराहरूले मात्रै सबैलाई समेट्न वा चित्त बुझाउन सकिन्न । त्यसलाई सरस बनाइनुपर्छ ।…. सबैले जनताको प्रेम र समर्थन पाउन चाहन्छन्, तर सबैले जनताको प्रेम पाउँदैनन् । शक्ति हुनेले शक्तिबाट र धन हुनेले धनबाट प्रेम पाउन चाहन्छन्, शक्ति र धनले मानिसको मन जित्न सक्दैन । शेक्सपियरको किङ लियरकी छोरीसँग सोध्दा तिनले तिनी स्वयं आफ्नो बुबालाई होइन, बुबाको शक्तिलाई मात्रै प्रेम गरेकी कुरा भनिन् । यसको अर्थ हो– शक्ति र धन नै मात्र सबै कुरा होइन ।”
समय भयो भन्ने खबर आयो । आ–आफ्ना हाते थैलाहरू (ब्रिफकेशहरू) बोकेर हिँड्यौँ । बिदा लिने ठाउँमा कोरियाली कामरेडहरूले शुभयात्राको कामना गरे, का. सचिवसँग अँगालो हाल्दै बिदा लियौँ ।
६ बज्यो, कोरियाली हवाई जहाजले कोरियाली धर्ती छोड्यो र ११.३० मा बैङ्कक पुग्यौँ र १ः३० बजे बैङ्ककको एकस्तरीय पाँचतारे होटल पुग्यौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *