भर्खरै :

कोरिया मुक्तिको ५० औँ दिवस तथा राष्ट्रिय पुनःएकीकरणको भव्य महोत्सव – ४

कोरिया मुक्तिको ५० औँ दिवस तथा राष्ट्रिय पुनःएकीकरणको भव्य महोत्सव – ४

चौथो भ्रमण
२३ साउन – २ भदौ, २०५२ (Aug 8 – 18, 1995)

प्योङयाङमा पुनःएकीकरण यात्रा र स्वागत समारोह
१६ फेब्रुअरी सांस्कृतिक भवनको आँगनबाट भव्य राष्ट्रिय पुनः एकीकरण मार्च (यात्रा) सुरु भयो । विभिन्न देशबाट आएका कोरियाली प्रतिनिधिहरू आ–आफ्नो बाजागाजा र ध्वजापताकासहित मोटरसाइकल, साइकल चढेका, नाचगान टोलीसहित ४ बजे सुरु भएको यात्रा झन्डै ५ः३० बजे का. किम इल सङ रङ्गशालामा भित्रियो । बाटोमा हजारौँ नरनारी, युवायुवती र बालबालिकाहरूको अभिवादन, ‘कोरिया एक हो’ भन्ने नारा तथा बालचरहरूको गीतको धुन आदि सा¥है भव्य थियो ।
६०,००० जना बस्ने स्थान भएको र १० हजार मैदानमा उभिएका जनसमुदायको उपस्थितिमा प्योङयाङका नागरिकहरूको तर्फबाट प्योङयाङ नगरपालिकाका नगरपिताहरूले स्वागतका भाषणहरू दिनुभयो । दक्षिण कोरियाबाट भर्खरै आएका युवा प्रतिनिधिहरूले पनि प्रत्युत्तर भाषण दिए । पुनः एकीकरणको पक्षमा युवा जनताको जोश र उत्साह बयान गर्न लायकको थियो । दक्षिण कोरियाबाट आएका १० लाख छात्रछात्राहरूका प्रतिनिधिहरूले सियोलबाट ३०–३५ माइलमात्र हिँडी पुग्नेमा किम योङ सामको तथाकथित नागरिक सरकारको सुरक्षा कानुनहरूका कारण फ्रान्स, मस्को र पेचिङ हुँदै प्योङयाङ आउनुपरेको कुरा बताए । प्योङयाङ नगरका पार्टी नेताहरू र नगरपिताहरूले विदेशी अतिथिहरूलाई स्वागत गर्नुको साथै कोरियाको पुनः एकीकरणको निम्ति सहयोग गर्दै आएकोमा धन्यवाद दिनुभयो ।

पुनः एकीकरण मन्तव्य दिनुहँुदै का. रोहित

पानमुनजोममा पुनःएकीकरणको उत्सव (३० साउन, ०५२/15 Aug, 1995)
१५ अगस्ट जापानी उपनिवेशबाट कोरिया मुक्तिको ५० औँ वर्षगाँठ हो । बिहान ४ः३० बजे नै उठेर ५ः५० बजेतिर विदेशी पाहुनाहरू बसबाट पानमुनजोमतिर हिँडे । हाम्रो बस ९ बजे कैसोङ सहरमा पुग्यो । कैसोङ सहरको दायाँबायाँबाट नरनारीहरू र युवायुवतीहरूले ‘कोरिया एक हो’ को नाराले अभिवादन गरे । ९ः२० बजे सबै बसबाट ओर्लेर आ–आफ्नो ध्वजापताका लिएर मार्चको लाममा बस्यौँ । २०–२५ वटा मोटरकार र बस लाममा थियो । १ घण्टाको यात्रापछि हामी पानमुनजोममा पुग्यौँ । त्यहाँ अमेरिकी सेनाको अगाडि जनसभा भयो । उत्सवमा आयोजक कोरियाली मित्रहरूले उत्सवको उद्घाटन भएको घोषणा गर्नुभयो ।
त्यस उत्सवमा मैले पनि नेपाल मजदुर किसान पार्टी र नेपाली जनता एवं संसारका तमाम प्रगतिशील जनताको तर्फबाट वीर कोरियाली जनतालाई बधाई र पुनःएकीकरणको दृढ समर्थन गरेँ तथा का. किम इल सङको पुनः एकीकरणसम्बन्धी प्रस्ताव अति व्यवहारिक भएको मन्तव्य प्रकट गरेँ ।
त्यसपछि विभिन्न देशका प्रवासी कोरियालीहरूको संयुक्त बैठक बस्यो । त्यस बैठकमा अमेरिका, जापान, क्यानाडा, रुस, चीन, अस्ट्रेलिया आदि देशका प्रवासी कोरियालीहरूले का. किम इल सङको महासङ्घ बनाई पुनःएकीकरण गर्ने प्रस्तावलाई व्यवहारिक बताए । बैठक भइरहँदा सियोलमा १० हजार छात्रछात्राहरूले प्रहरीको सदरमुकाममा हमला गरेको समाचार सुनाए ।
बैठकपछि फेरि पानमुनजोममा नाचगान सुरु भयो । अमेरिकी सैनिकहरूतिर पर्दा रहने गरी मञ्च बनाइएको थियो । जोशिला गीतहरूबाहेक कोरियाका परम्परागत नाचगान पनि प्रदर्शित भए ।
टन्टलापुर घाम थियो, तर युवायुवतीहरू नाचगानमा भाग लिँदै थिए । बूढापाकाहरू कोही छलफल गर्दै थिए भने कोही आराम गर्दै थिए । अन्तमा, दक्षिण कोरियाली युवाहरूले विश्वविद्यालयका १० लाख युवक–विद्यार्थीहरूको प्रतिनिधि भई पुनःएकीकरणको समर्थनमा सङ्घर्ष चालु राख्ने दृढता व्यक्त गरे । ६–७ बजे हामी पानमुनजोमको गैरसैनिक इलाका DMZ बाट हिँड्याँै । राति १०ः३० बजे हामी अतिथि सदन पुग्यौँ ।

पेक्डु पहाडमा

लेखक र कविहरूसँग भेटघाट (३१ साउन, ०५२/16 Aug, 1995)
भाषा दुई सभ्यताको साँचो हो र साहित्य पढेर समाज कस्तो छ भन्ने बुझ्न सक्छौँ, कोरियाली साहित्य नेपाली भाषामा अनुवाद भएको भए दुई देशको विषयमा बुझ्न धेरै सजिलो हुने थियो, नेपालमा लेखनाथ, देवकोटा, सिद्धिचरण र बालकृष्ण समजस्ता लेखक र कविहरू थिए, तर नयाँ पुस्तामा विविधता छ, विजय मल्लका जस्ता गद्य कविता र कविहरू पनि छन् भनी मैले नै कुराकानी सुरु गरेँ ।
बिहान ९ बजेको थियो । ३१ साउन अथवा १६ अगस्टको दिन कोरियाली साहित्यकारहरूमध्ये एकजना कवि, एकजना उपन्यासकार र एकजना समालोचक थिए । मैले कोरियाली साहित्यमा आज त्यसको उद्देश्य, कस्ता चरित्रहरूलाई निर्माण गर्ने वा चित्रित गर्ने, लेखनीय स्वतन्त्रता, लेखकहरूको सुविधा, सुखान्त दुखान्त आदिबारे मेरो प्रश्नको उत्तरमा उहाँहरूले पालैपालो जवाफ दिँदै जानुभयो, “नेपालीमा अनुवाद भएको ‘फूल बेच्ने केटी’ कोरियाली लेखक, कवि, कलाकारहरूले नै प्रिय नेता किम जोङ इलको पनि योगदानसहित जोडेर महान् नेता किम इल सङको ७० औँ जन्मोत्सवको सुअवसरमा गीति नाटक बनाएका हौँ । ‘फूल बेच्ने केटी’ मूलरूपमा उपन्यास थियो ।”
नेपाली साहित्यमा अन्य विदेशी भाषाको छाप परेजस्तै कोरियाली साहित्यमा पहिले विदेशी छाप थियो । नेपालको स्थिति त पिँजडाको सुगाको जस्तो मात्र थियो भने हाम्रो त ‘नर्कको स्थिति’ थियो । पहिले जापानले लेखक र कविहरूको मात्रै होइन सम्पूर्ण जनताकै स्वतन्त्रता खोसेको थियो । पुराना राजनैतिक नेताहरूले प्रजातन्त्र र स्वतन्त्रताको कुरा गर्थे† ठुलो देशमाथि भर पर्थे; तर देशलाई मुक्त गर्न सकेनन् । पछि महान् नेताले मात्रै जुछे विचारको आधारमा लेखक, कवि, कलाकार र सारा जनतालाई मुक्त गर्नुभयो । उहाँले युवावस्थादेखि जीवनको अन्तिम क्षणसम्म पनि देश र जनताको निम्ति काम गर्दै जानुभयो । उहाँले अनेक वीरताका कामहरू गर्नुभयो । त्यसकारण, महान् नेताको चरित्र चित्रण हुने गरी राष्ट्र र भाग्य भन्ने सिनेमा उपन्यासबाटै बनाइएको हो । स्वाभाविकरूपले देश र जनताको निम्ति मरी मेट्ने वीरहरूलाई नै मुख्य पात्रहरू बनाइन्छ । त्यसो नगरे लेखक र कविहरू दोषी हुनेछन् र कृतघ्न हुनेछन् ।
यसकारण, अहिले हामी साहित्यकारहरूले पार्टी, जनता र नेता एक हुन् भन्ने भावना जगाउने, प्योङयाङ र सहरको केटी भएर पनि गाउँमा गएर बस्ने वा विवाह गर्ने, सेनामा काम गरी अपाङ्ग भएका देशभक्तहरूको जीवन साथी बनिदिनेजस्ता नैतिकता जगाउने र साम्यवादी विचार फैलाउने उपन्यास, कविता र कथाहरू सिर्जना गर्छौँ ।
मानिसहरूले घाम पाइरहे पनि त्यसको महत्व बुझेका हुँदैनन् । त्यस्तै, विदेशी कुप्रभावबाट देशलाई बचाउन चाहने महान् नेताको गुणगान किन नगर्ने, वर्ग के हो, उसको धर्म के हो र देशभक्ति मुख्य कुरा हो भन्ने कुरामा हामी बढी जोड दिन्छौँ ।
१९४७ मै पेक्डू पर्वत जस्तो काव्य लेख्ने कवि छन् र ‘सदाको निम्ति बाँचिरहनु हुन्छ’ भन्ने काव्य लेख्ने महाकवि र नयाँ युवा कवि ताराहरू हाम्रो साहित्यिक आकाशमा उदाएका छन् । इनार र कुवामा पानीको स्रोत कहिल्यै नसुके जस्तै महान् नेता का. किम इल सङबाट अनेक शिक्षा र भावनाहरू पाइरहन्छौँ र प्रिय नेता जनरलबाट पनि हामीले निर्देशनहरू पाइरहेका छौँ । यसकारण, उहाँहरूबारे हामी नलेखी बस्नै सक्दैनौँ । कसैबाट कुनै न कुनै रूपबाट प्रभावित नभइकन केही कुरा लेख्नै सकिन्न ।
महान् नेता पनि उपन्यासहरू पढ्नुहुन्थ्यो । साहित्य त सबैले थोर बहुत पढेकै हुन्छ । उहाँले पनि गोर्कीको आमा, ओष्ट्रोवस्कीको अग्निदीक्षाजस्ता उपन्यासहरू पढ्नुहुन्थ्यो । उहाँ कवि लेखकहरूलाई भन्नुहुन्थ्यो, “साहित्यकारहरूले युग र इतिहासको आवश्यकतालाई देखाउनुपर्छ ।” प्रिय नेताले भन्नुभएको छ, “उपन्यासकारहरू सुनभन्दा पनि मूल्यवान छन् र कविहरू युगको बिगुल फुक्नेहरू हुन्, करोडौँ बन्दुकभन्दा एउटा कविता र लाखौँ फौजभन्दा एक लेखकले बढी भूमिका खेल्छ ।” उहाँले साहित्यमा समाजवाद र राष्ट्रियताको भावना भिजेको हुनुपर्छ तथा सारमा समाजवाद र राष्ट्रिय भावना झल्केको हुनुपर्छ भन्नुभएको छ ।
“मानिसको जीवनमा सङ्घर्षमात्र होइन सुख दुःख, हाँसो, प्रेम पनि हुन्छ । मानिसलाई स्वाधीनतातिर डो¥याउनुपर्छ, त्यो काम साहित्यिक मोर्चाको हो । पात्रको चयन गर्दा कोरियाली साहित्यमा उसको दृष्टिकोण र स्वभावलाई ध्यानमा राख्ने गरिन्छ । कोरियाली साहित्य वीरगाथाहरूले भरिएको साहित्य हो, त्यसो भन्न पाउँदा घमण्ड होइन हामीलाई गौरव लाग्छ । महान् नेताको जीवनमा आधारित १५ भागको अमर इतिहास र प्रिय नेताको बारेमा अमर निर्देशनको ३–४ भाग प्रकाशित भइसकेको छ । जनता र नेता एउटै रगत, आत्मा र शरीर भएको हुनाले साम्राज्यवादीहरू डराएका हुन्, त्यति अणुबमसँग पनि डराउँदैनन् ।
१० वर्ष यताको कोरियाली साहित्यमा नेता र जनताको मेलमिलापबारे ३०० वटा जति लामा र मझौला उपन्यासहरू छन् । मजदुर र किसानको शैली फरक हुन्छ । हामी अन्तमा आँसुले भरे पनि निराशावादी होइन, आशावादी दुःखान्त चाहन्छौँ । ओल्मी टापु भन्ने एक कृति छ । १९५० को युद्धको बेला पछि हट्ने नीतिअनुसार पछि हटेको त्यो टापुमा ३०० जना कोरियाली सिपाहीहरू थिए । पछि अमेरिकीहरूले सबैलाई मारिदिएका थिए ।
हाम्रो साहित्यले जुछे विचारधारालाई आधार बनाएको छ र त्यसैबाट हामीले विदेशको सांस्कृतिक हमलाबाट देशलाई जोगाउन सक्छौँ ।”
हामीले दक्षिण कोरियाली प्रजातान्त्रिक राष्ट्रिय मोर्चा प्योङयाङ नियोगमा कामरेडहरूसँग भेट्नुपर्ने भएको हुँदा पछि पछि फेरि लामो छलफल गर्ने गरी बिदा लियौँ ।

अमेरिकी सैनिकहरुतिर पर्दा रहने गरी बनाइएको मञ्चमा सांस्कृतिक कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *