लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
भक्तपुर, ७ माघ । भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालित चारमहिने आधारभूत पाक शिक्षा तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले खाने परिकार स्वस्थकर र स्वादिष्ट बनाउन पाक शिक्षाको जरूरी छ भन्नुभयो ।
उहाँले भन्नुभयो, पर्यटकहरूलाई रैथाने परिकार खुवाउँदा देशको अर्थतन्त्र बलियो हुन्छ । पाक शिक्षा तालिम भएकाहरूले जिल्लाभित्रका रैथाने खाद्यान्न र देशको विभिन्न जिल्लामा उत्पादन हुने खाद्यान्नबारे जानकारीमा राख्नु आवश्यक छ । पाक शिक्षाको तालिम वैदेशिक रोजगारीमा जानको लागि लिने होइन, नेपालमा रोजगारी गरेर, स्वदेशी र विदेशीको सेवा गर्न उपयोग गर्नु उपयुक्त हुनेछ ।”
पाक शिक्षामा लागेकाहरूलाई सुर्ती, खैनी, मदिरा (वियर–रक्सी) खुवाउनेहरू कम हुनेछैनन् । धूमपान र मदिरापान गर्नेहरूलाई मुट, किड्नीलगायत रोग लाने खतरा बढी हुन्छ । यसतर्फ पाक शिक्षा तालिम पाएका सबै सचेत हुनु आवश्यक छ, सांसद सुवालले सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “एक सरकारी कर्मचारीले गुनासो गरे – कागजात मिलेर आएपछि भुक्तानी गर्नुपर्ने हुन्छ । यो भन्दा बढी सोधीखोजी गर्ने अधिकार आफूसँग छैन । यस्ता फर्जी कागजातको भुक्तानी गर्नुपर्दा कान्सिरीका रौँ तात्छन् तर के गर्नु ?”
केही वर्षअगाडि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको स्थापना दिवस कार्यक्रममा प्रमले यहाँ उपस्थित भएकाहरूले भ्रष्टाचार नगरे देशको आधा भ्रष्टाचार नियन्त्रण हुने बताए । त्यो कार्यक्रममा मन्त्री र सचिवहरू बढी उपस्थित थिए । त्यसको केही समयपछि एक सचिवले आक्रोश पोखे, “सिंहदरबार भ्रष्टाचारको अखडा भयो ।” “देशको प्रमुख कार्यकारी बस्ने सिंहदरबार नै भ्रष्टाचारको अखडा भए देशको अन्य क्षेत्रको अवस्था कति नाजुक होला ?” सांसद सुवालले भन्नुभयो ।
जुनसुकै जिम्मेवारीमा बसे पनि इमानदार हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “देश र विदेशको इतिहास र भूगोल अध्ययन गर्नु जरूरी छ । प्रजातन्त्र समाजवादी र पुँजीवादी समेत हुनेबारे जानकारीमा राख्नुपर्दछ । नेपालमा अहिले पुँजीवादी प्रजातन्त्र हो । पुँजीवादी प्रजातन्त्रमा धेरै सङ्ख्यामा भएका गरिबहरूलाई दुःख हुन्छ । यसकारण, समाजवादी गणतन्त्र र साम्यवादबारे जानकारीमा राख्नु आवश्यक छ ।”
युवाहरू समाज र देशको सेवामा पनि अघि बढ्नु जरूरी रहेको उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पर्यटकीय गन्तव्यस्थल र सांस्कृतिक नगरको रूपमा विकास भइरहेको भक्तपुर अहिले जीवित सङ्ग्रहालयको रूपमा परिभाषित हुनु भक्तपुरवासीहरूको लागि गौरवको विषय भएको बताउनुभयो ।
जनसङ्ख्या र क्षेत्रफलको हिसाबले सानो समाजवादी देश क्युवाको पर्यटन विकासबाट नेपालले पनि सिक्नुपर्ने बताउँदै उहाँले भक्तपुर नपाले युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सीपमूलक तालिमका साथै भाषा, सिलाइलगायतका तालिम सञ्चालनमा जोड दिँदै आएको बताउनुभयो ।
रेमिट्यान्सको भरमा देश सञ्चालन गर्ने शासकहरूको सोच निन्दनीय भएको बताउँदै उहाँले तालिमका प्रशिक्षार्थीहरूलाई सफल व्यवसायीहरूको रूपमा विकास गर्न उत्साहित गर्नुभयो । कुनै पनि काम ठुलो वा सानो नहुने बताउँदै प्रमुख प्रजापतिले श्रमको सम्मान गर्ने बानी हामीमा हुनुपर्छ भन्नुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले जनताको चाहना र आवश्यकताअनुसार काम गर्दै आइरहेको बताउँदै आफूसँग भएको सीपलाई उद्यम र व्यवसायमा परिणत गर्न प्रशिक्षार्थीहरूलाई मार्गनिर्देश गर्नुभयो ।
शिक्षालाई उत्पादन श्रमसँग जोड्ने नेपाल मजदुर किसान पार्टीको उद्देश्य भएको उल्लेख गर्दै उहाँले भक्तपुरको शैक्षिक जग बलियो र मजबुत भएकै कारण भक्तपुर आज शैक्षिकरूपमा अगाडि बढिरहेको बताउनुभयो ।
चार महिने आधारभूत पाक शिक्षा तालिमका प्रशिक्षक विष्णु श्रेष्ठले प्रशिक्षार्थीलाई आफ्नो तर्फबाट उत्कृष्ट प्रशिक्षण दिने प्रयास आफूबाट भएको बताउँदै युवालाई बिदेसिनबाट रोक्न र आत्मनिर्भर बनाउन तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रशिक्षार्थी दुर्गाप्रसाद श्रेष्ठले तालिम सञ्चालनको लागि भक्तपुर नपालाई प्रशिक्षार्थीहरूको तर्फबाट धन्यवादज्ञापन गर्दै पाक शिक्षा तालिमबाट सिकेको सीप जीवनउपयोगी भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन गर्नुभएको उक्त कार्यक्रममा कार्यपालिका सदस्य रोशनमैँया सुवालले स्वागत मन्तव्य र वडा सदस्य हेरा ख्याजुले पनि बोल्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सांसद सुवालले तालिममा सहभागी ६६ जना प्रशिक्षार्थी र प्रशिक्षकद्वय विष्णु श्रेष्ठ र सुनिल सुवाललाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
Leave a Reply