क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
चौथो भ्रमण
२३ साउन – २ भदौ, २०५२ (Aug 8 – 18, 1995)
म्याङयोन्डे विद्यार्थी र केटाकेटीको दरबार
३ः३० बजे बस Myangyongde Student and Childrens’ Palace तर्फ गुड्यो । आमाले केटाकेटीलाई अँगालो हालेको आकारको त्यस भवनको जम्मा क्षेत्रफल २,५०,००० वर्गमिटर छ र भवन निर्माणस्थल मात्रै १,०३,००० वर्गमिटर छ । २ मई १९८९ मा यो भवन तयार भएको हो । यसमा एकपटकमा ५,००० छात्रछात्राहरूले गतिविधि गर्न सक्छन् र यसको जम्मा ६ वटा खण्ड र ८ तला छ । यसमा काम गर्ने र सहयोग गर्ने जम्मा ५०० शिक्षक र स्टाफ छन् । सिंहमर्मर र ऐनाले मात्रै बनेको यस भवनमा १५,००० टन ढुङ्गा र २,५०० टन काँच वा ग्लास प्रयोग भएको छ । यसमा २०० कक्षा कोठाहरू छन् । केटाकेटीहरूलाई सिक्न र सामानको निम्ति पैसा चाहिँदैन । अत्याधुनिक शैक्षिक सामग्रीहरूले यो संस्था सुसज्जित छ । कामरेड किम इल सङले यसको निम्ति २००० वटा उपहारहरू पठाउनुभएको छ । का. किम जोङ इलले पनि अत्याधुनिक सामानहरू उपहारको रूपमा पठाउनुभएको छ ।
यति भनी यसका निर्देशकले परम्परागत नाचगान सिकाइरहेको कोठा, गीतबाजाको कोठा, हारमोनियमजस्ता बाजा एकर्डिन, रेडियो संवादको कोठा, कार्चोपी भर्ने, कम्प्यूटर कोठा, सुलेखन (Calligraphy), कलात्मक शारीरिक अभ्यास (Art Gymnasium) मा केटाकेटीहरूको गतिविधि देखाउन लैजानुभयो । केटाकेटीहरू पोखरीमा पौडी खेलिरहेका थिए भने कोही बक्सिङ, टेबुलटेनिस आदि खेल खेलिरहेका थिए । २,००० स्थान भएको सभागृह (नाच भवन) मा केटाकेटीहरूको अति उत्कृष्ट कोरियाली नाचगान हे¥र्यौँ ।
यसरी ६९० कोठा भएको तारामण्डल, माछा पाल्ने, ताइक्वोन्डो, जुडो, अन्य वैज्ञानिक खेलकुद तालिमको बन्दोबस्त भएको भव्य बालदरबारबाट हामीले बिदा लियौँ । केटाकेटीहरूलाई यहाँ स्कूलको समयपछि तिनीहरूको रुचि र प्रतिभाअनुसार तालिम दिने गरिन्छ ।
युवा भवनमा रात्रि उत्सव
जापानी औपनिवेशिक शासनबाट कोरिया मुक्त भएको ५० औँ वर्षगाँठ र कोरियाको पुनःएकीकरणको निम्ति भव्य राष्ट्रिय पुनःएकीकरणको महोत्सव र सम्मेलनका प्रवासी कोरियाली प्रतिनिधि र विदेशी पाहुनाहरूको निम्ति युवा सङ्घले एक रात्रि उत्सवको आयोजना गरेको थियो । युवा सङ्घका प्रतिनिधिहरूले प्रवासी कोरियालीहरूलाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे । प्रवासी प्रतिनिधिहरूले बोल्दा महोत्सवलाई र सम्मेलन कोरियाको इतिहासमा युगान्तकारी घटनाको रूपमा लिए । अर्को वक्ताले यसलाई कोरिया नयाँ युगमा परिणत भएको बताए । दक्षिण कोरियाका १० लाख सदस्य भएको युवा विद्यार्थी सङ्घका प्रतिनिधि केटीले भनिन् – आज हामी एक छौँ भन्ने थाहा भयो, सङ्घर्षबाहेक अरु बाटो छैन र हाम्रो सङ्गठन पुनः एकीकरणको निम्ति अन्तसम्म सङ्घर्ष गरिरहनेछ । जापानी प्रवासी कोरियाली प्रतिनिधिले भने – ५० औँ मुक्ति दिवसभन्दा यो उत्सव पुनः एकीकरणको उत्सवमा फेरिएको छ । सबै कोरियाली जनता पुनःएकीकरणको पक्षमा छन् भने फुटपारुवाहरूलाई अरु बाटो हुनेछैन र तिनीहरूलाई इतिहासले आफैँ ठुलो पाठ सिकाउनेछ । अर्को प्रतिनिधिले सबै कोरियाली एक भएको यो पहिलो पाइला हो र महान् नेता किम इल सङको १० सूत्रीय प्रस्तावअनुसार कोरियाको एकीकरण भएमा अरु मतभेद सल्टिँदै जानेछन् भने ।
बिच बिचमा ‘यही शताब्दी वा दशाब्दीमा हामी पुनः एक होऔँ’, “एकताको बलमा हामी पुनः एकीकरण गरौँ’ जस्ता नाराहरू लाग्थ्यो ।
रात्रिभोजसँगै समूह गान, एकल गान र नाच सुरु भयो । सारा युवायुवती र पाका उमेरका प्रवासी कोरियालीहरूले सा¥है खुसी भएर नाचगानमा भाग लिए । तिनीहरू वर्षाैँ र पुस्तौँदेखि विदेशमा बसेका र आज बल्ल पितृभूमिमा हृदय खोलेर खेल्न पाएको अनुभव गरेको कुरो मेरो मनले ठम्यायो, पसिनाले निथ्रुक भिज्दा पनि तिनीहरू थाकेका थिएनन् । बल्ल १० बजेपछि उत्सव समाप्तिको घोषणा भयो ।
का. किम इल सङबारे (२ भदौ, ०५२/18 Aug, 1995)
बिहान १० बजे उपहारका सामग्रीहरू किन्ने उद्देश्यले ‘कूटनैतिक पसल’ पुगेँ । त्यो पसलमा अरु सामान र खानेकुराबाहेक विदेशी रक्सी, चुरोट, श्रृङ्गारका सामानजस्ता विलासिताका सामान बढी देखेँ । अङ्ग्रेजी भाषा सिक्ने कोरियालीहरूको निम्ति तयार गरिएको पाठ्यपुस्तक किन्न ‘कोरियो होटल’ मा गएँ । बिदाको दिन थियो, पसल पनि बन्द थियो । प्योङगाङ (Pyongang) नदीको नामबाट राखेको होटलमा गएँ, तर पाइन । दोस्रोपटक पनि असफल । राज्यबाट आवश्यक सबै कुरा मान्छेलाई वितरण गर्ने वा प्राप्त हुने भएकोले कहाँ कहाँ के के पाइन्छ भन्ने कुरा थाहा नपाउने रहेछ कि भन्ने लाग्यो । हुन त हामी सबै नेपालीलाई काठमाडौँको बजारका सबै कुरा थाहा हुन्न ।
त्यहाँबाट फर्केको केही बेरपछि कोरियाली केन्द्रीय संवाद समिति (KCNA) का संवाददाताले भेट्न चाहेको टेलिफोन आयो । मैले त भुसुक्कै बिर्सेछु ! मैले कोरियाको आफ्नो प्रभावबारे एक लेख दिने वचन दिएको थिएँ, तर अति व्यस्त कार्यक्रमले भनूँ वा निश्चित समयमा मात्रै लेख्ने बानीले भनूँ मैले आफ्नो वचन पूरा गर्न सकिन । यसकारण, मैले टेपमै का. किम इल सङसँग तीनचोटि भेटेको, एकचोटि बसेरै कुराकानी हुँदा उहाँले सरल भाषामा जनताको हितको निम्ति पश्चिमी समुद्रको बाँध बनाएको, त्यसले दुई प्रान्त जोड्ने यातायातको काम हुने, सिँचाइको निम्ति नहर लैजाने, नुनिलो पानीबाट जग्गा जोगाउने, बाढीबाट जोगाउने आदि बहुउद्देश्यीय योजनाबारे बताउनुभएको, देशको पुनः एकीकरण गर्ने कोरियाली जनताको इच्छालाई आफ्नो प्रतिबद्धता जनाउनुभएको, उहाँले देशको निम्ति बलिदान हुनुभएका र दुःखकष्ट सहेका साथीहरू झलझली सम्झिरहनुभएको, जीवनका बाँकी भाग पनि जनतामै समर्पित गर्ने उद्देश्य राख्नुभएको, उहाँको मार्मिक भाषणबारे बताएँ । व्यवहारमा उहाँ सा¥है सरल, दम्भरहित पाएँ । उहाँको व्यवहारमा पूरै पूर्वेली संस्कृति र सभ्यता प्रतिबिम्बित भएको देखेँ भनी बताएँ ।
विश्वास र इच्छाशक्तिका अवतार रि इन मोसँग
नेपालीहरूलाई अब ३४ वर्षसम्म दक्षिण कोरियाको जेलमा बसेका र ६ वर्षसम्म बडो दुःख–कष्टपूर्वक चल्नै नसक्ने स्थितिमा घर नपठाई दक्षिण कोरियाली अधिकारीहरूले राखिएका एक क्रान्तिकारी सैनिक पत्रकारबारे बताइरहनुपर्दैन । मानव अधिकारको ठुलो बखान गरेर तेस्रो विश्वमा राजनैतिक थिचोमिचो गर्ने संरा अमेरिकाकै कठपुतली दक्षिण कोरियाली शासनले एक हप्ताभित्र मर्ने र आफू हत्याको आरोपबाट मात्र बच्न रि इन मोलाई उत्तर कोरिया पठाएको थियो ।
रि इन मो अहिले राम्रो बोल्न सक्नु हुन्न अर्थात् बोली स्पष्ट छैन । उहाँको भनाइ उहाँकी श्रीमतीले र छोरीले बताइदिनुहुन्छ । उहाँहरूको भनाइअनुसार उत्तरमा आउँदा उहाँको तौल ४६ किलोको थियो र ज्वरो ३५ सेन्टिग्रेड थियो । अहिले उहाँ ७६ किलोको हुनुहुन्छ र स्थिति सामान्य छ । लामो अवधिसम्म दक्षिण कोरियाको प्रहरी अधिकारीहरूले चर्को यातना दिएको हुनाले उहाँलाई अहिले बरोबर टाउको र छाती दुख्छ । उहाँ अब खालि लेख्ने र विचार गर्ने गतिविधि मात्र गर्नुहुन्छ ।
का. किम इल सङ आफैँ आई उहाँको स्थिति बुझ्नुभयो । उहाँको जन्मोत्सवमा महान् नेता आफैँ आई बधाई दिनुभयो र अस्पताल पुग्नुभयो । प्रियनेता किम जोङ इलले उहाँको स्वास्थ्यमा सेवा पु¥याउन एक स्वास्थ्य दल नै खटाउनुभएको थियो । उहाँले २४ फेब्रुअरी १९९३ का दिन लेख्नुभयो, “हाम्रो पार्टीले जहिले पनि रि इन मोलाई विश्वास र इच्छाशक्तिको प्रतीकको रूपमा सम्झिरहनेछ ।”
सा¥है विनम्र भएर रि इन मोकी छोरीले भन्नुभयो, “बुबाले क्रान्तिको निम्ति खास केही योगदान गर्न सक्नुभएको होइन, भावनाले मात्रै काम गर्नुभएको हो, तर उहाँलाई किम इल सङ पदक र प्रजग कोरियाको वीर पदकबाट विभूषित गर्ने काम प्रिय नेताले गर्नुभएको छ । १९४९ मा सेनामा भर्ना हुँदा बाले आमालाई पियानो दिनुभएको थियो । ६० वर्षपछि त्यस कुरालाई सम्झनु भई उहाँले आमालाई पियानो पठाई दिनुभयो । कार, तीनतले घर, कोरियाली जनताले आफूलाई पठाएको अति राम्रो कोरियाली कार्पेट आदि सामान प्रिय नेताले बुबालाई पठाई दिनुभएको छ ।”
का. रि इन मोका जहान अहिले ६८ वर्षको हुनुहुन्छ र छोरी ४६ वर्षको । उहाँहरूले विभिन्न सङ्गठन, स्कूल, एकेडेमी र अन्य ठाउँहरूबाट पठाएका उपहारहरू देखाउनुभयो । त्यसमध्ये उहाँको विषयमा लेखिएको ‘भक्तपुर’ मासिक, भक्तपुरको कोरिया अध्ययन मण्डलबाट प्रकाशित ‘रि इन मो’ भन्ने सानो पुस्तिका, खुकुरी चिह्न
(बाय्च) भएको भादगाउँले टोपी आदि उहाँहरूले देखाउनुभयो । क्युवा, सिरिया, जापान, रुस र अन्य अनेकौँ देश र ठाउँहरूबाट पनि उपहार पठाइएको देखाउनुभयो । रि इन मो उत्तर फर्कनु भएपछि पेक्डू पहाड, आफ्नो गाउँ, जिल्ला र अन्य गाउँहरूको भ्रमण गर्नुभएको ठाउँका सम्पूर्ण तस्बिरहरू पनि उहाँहरूले देखाउनुभयो ।
का. किम इल सङ बित्नुभएको सुन्दा उहाँ एकछिन स्तब्ध हुनुभयो र भन्नुभयो “उहाँ मेरो मनमै हुनुहुन्छ ।” कोरियाली जनतालाई किम इल सङको देहवसान त आकाश खसे सरह नै हो । उहाँलाई पनि त्यस्तै गहिरो चोट प¥यो । यस कुरा थाहा पाएर जनरल किम जोङ इलले राम्रो ध्यान पु¥याई दिनुभएको कुरा सम्झेर उहाँले भन्नुभयो, “छोरा पनि बुबाजस्तै हुनुभएकोले डरको समस्या छैन, नेता राम्रो भएको पार्टीले विकास गर्दै जानेछ ।” यो कुरा उहाँको छोरीले बताउनुभयो ।
कोठाहरूमा रि इन मोका तस्बिर र चित्रहरू झुन्ड्याएको देख्दा उहाँको आजको स्थितिलाई पत्याउन गा¥हो देखियो । हात मिलाउँदै मैले उहाँलाई भनेँ, “म नेपालबाट आएको हुँ । नेपाल कोरियाली जनताको एक मित्र देश हो । नेमकिपा र नेपाली जनताको तर्फबाट तपाईँलाई सम्मान व्यक्त गर्न आएको हुँ । तपाईँको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्छु ।” उहाँ हाँस्दै हेरिरहनुभयो । मैले शान्ति र मित्रताको प्रतीकको रूपमा काठको सानो बुद्धको मूर्ति सम्मान स्वरूप सुम्पेँ । उहाँ पाङ्ग्रा भएको मेचमा बसेर डोकासम्म बिदा दिन आउनुभयो । हात मिलाउँदै बिदा भएँ । उहाँको जहान र छोरीले आँगनमा मोटरसम्म मलाई पु¥याउन आउनुभयो ।
बिदाइ
ठीक ६ बजे अतिथि सदनको १७ नं. घरमै कोरियाली मजदुर पार्टीका केन्द्रीय समितिका अन्तर्राष्ट्रिय मामलाका सह–निर्देशक र उपमन्त्री का. किम योङ गुन (Kim Yong Gun) र कोरियाली मजदुर पार्टीका केन्द्रीय समितिका अन्तर्राष्ट्रिय विभागका विभागीय प्रमुख का. किम हेक चुल (Kin Hyek Chul) आउनुभयो र का. किम जोङ इलबाट पठाइनुभएको उपहार र पत्र हस्तान्तरण गर्नुभयो । दिवाभोजको बेला जुछे विचारधारा, पुनःएकीकरणको उत्सव, सम्मेलन, दक्षिणको सरकारको उद्देश्य, अमेरिकासँगको सम्बन्ध, प्रजग कोरियाको व्यापार र प्रविधिको नयाँ क्षेत्र आदिबारे कुराकानी भयो । प्रसङ्गवश नेपालको प्रधानमन्त्री मनमोहन अधिकारी र गृहमन्त्रीको दुर्घटना र साधारण चोटपटकको उपचारबारे पनि कुरा भयो । दिवाभोजपछि उहाँहरूले शुभयात्राको कामना गर्दै बिदा दिनुभयो ।
२० साउनदेखि २ भदौ, २०५२ अर्थात् १९९५ को ५ अगस्टदेखि १८ अगस्टसम्म प्रजातान्तिक जनवादी गणतन्त्र कोरियामा बिताएका दिनहरूको सुखद अनुभूति, विभिन्न कामरेडहरूसँग भएका कुराकानी, भेटघाट र घुमेका ठाउँहरूको संस्मरण बोक्दै स्वदेश फर्कन प्योङयाङको विमानस्थल पुगेँ । १०ः२० बजे विमान चढेँ । १०ः३० बजे चीनको राजधानी पेचिङका निम्ति विमान उड्यो ।
Leave a Reply