भर्खरै :

मित्रकुञ्जबाट निर्माणाधिन ‘नागमती बाँध परियोजना’ को औचित्यमाथि प्रश्न

मित्रकुञ्जबाट निर्माणाधिन ‘नागमती बाँध परियोजना’ को औचित्यमाथि प्रश्न

काठमाडौँ, ७ माघ । सोभियत सङ्घ र सीआईएस राष्ट्रहरूबाट उच्च शिक्षा हासिल गरी फर्केका नेपाली विज्ञहरूको संस्था मित्रकुञ्जको थिङ्कट्याङ्क उपसमितिले निर्माणाधिन ‘नागमती बाँध परियोजना’ सम्बन्धी प्रस्तुतीकरण र अन्तरक्रिया कार्यक्रम शुक्रबार आयोजना ग¥यो ।
उक्त कार्यक्रमको उद्देश्य वाग्मती नदी बेसिन सुधार परियोजनाअन्तर्गतको ‘नागमती बाँध आयोजना’ को सान्दर्भिकता, उपयुक्तता र यसको असरसम्बन्धी विज्ञहरूमाझ बहस, छलफल र अन्तरक्रिया गर्नु रहेको थियो ।
कार्यक्रममा इन्जिनियर एवं जलस्रोतविद् रविप्रसाद राजभण्डारीले यो प्रस्तावित आयोजनाले ९५ मिटर अग्लो बाँध बाँधी वाग्मतीको बहावमा ४५० लिटर प्रतिसेकेन्ड पानी थप हुने आकलन गरेको तर सो पानी पशुपति मन्दिर आइपुग्दासम्म वास्फीकरण र चुहावटले सा¥है न्यून रहने† बाँध निर्माण स्थल संरक्षित वन्यजन्तु क्षेत्रभित्र पर्ने, करिब ८० हजार रुख काटिने, वातावरणलाई असर पर्ने खालको रहेकोले नकारात्मक वातावरणीय प्रभाव हुने बताउनुभयो† नेपाल उच्च भूकम्पीय जोखिम क्षेत्र भएकोले यदि बाँध फुटेमा काठमाडौँको सभ्यताको क्षण भरमा नै विनास हुने उल्लेख गर्दै उहँले यही वर्ष सिक्किमको टिस्टा नदीको बाँध र लिवियाको डेर्नामा भत्केको बाँधबाट हजारौँ घरबस्ती ध्वस्त भएको हुँदा यो बाँध काठमाडौँवासीलाई टाइम बम र घाँटीको तरबार हुनेछ भन्नुभयो ।
आयोजनाको लागत अनुमान २५ अरब अत्यन्तै महँगो भएको र त्यो ऋणमा लिन खोजिएको तथा नागमती बाँधकै माथि निर्माण सम्पन्न भएको धाप बाँधको असफलताको अनुभवले पनि यसको औचित्यतामा प्रश्न खडा भएको चर्चा गर्दै उहाँले राष्ट्रलाई ऋणको भार बोकाएर अन्य वैकल्पिक उपायको खोजी नै नगरी यस्तो जोखिम धेरै भएको उच्च बाँध निर्माण गर्नु कुनै पनि दृष्टिकोणबाट ठीक छैन, यो रोकिनुपर्छ भन्नुभयो ।
कार्यक्रमका टिप्पणीकार प्रा. डा. हरि पण्डितले नागमती ड्यामको डिजाइनमा अपनाइएका हाइड्रोलोजी, मेटेरियलोजी डाटाहरूको विश्लेषणात्मक विवरण प्रस्तुत गर्दै वाग्मतीमा अति प्रदूषण छ, त्यसको लागि गरेको प्रयास सकारात्मक भए तापनि यो बाँध उचित समाधान होइन, बरु फोहोर र ढल नमिसाएमात्र वाग्मती सफा हुन्छ भन्नुभयो । उहाँले भन्नुभयो, “यति घना जनसङ्ख्या भएको काठमाडौँ उपत्यकाको शिरमा यस्तो प्रकृतिको बाँध बनाउनु नै त्रुटिपूर्ण छ, सानो पानीको जलाशय भए पनि दुर्घटना भएमा सबै पानी केही निमेष भरमै बहन्छ र सहर ध्वस्त पार्न काफी छ । आयोजनाको विशेषताको आधारमै हेर्दा पनि यो बाँध सुरक्षित देखिँदैन, थुप्रै प्राविधिक त्रुटि छन् र प्राकृतिक प्रकोप थेग्न सक्ने खालको छैन । जलवायु परिवर्तनले घटेका हालैका कागबेनी, मुस्ताङ, २०२३, मनाङ र मेलम्ची २०२१, हिमाञ्चल र सिक्किम २०२३ जहाँ यस्तै प्रकृतिको बाँध ध्वस्त हुँदा ठुलो धनजनको नोक्सान भयो । तसर्थ, यो बाँध परियोजनाको प्राविधिक, सामाजिक, वातावरणीय र आर्थिक पक्षको बृहत् छलफल गर्दै यो यहीँ बन्द गरौँ र अन्य विकल्प सोचौँ ।”
नेपाल विद्युत् प्राधिकरणका पूर्वउपप्रबन्ध निर्देशक वरिष्ठ इन्जिनियर मोहनरत्न शाक्यले प्रस्तावित बाँधको लाभ न्यूनतम रहेको, डाउनस्ट्रीमका काठमाडौँ उपत्यकाका जनतालाई गम्भीर जोखिममा पार्ने र डिजाइन सन्तोषजनक नरहेको र बाढीको उच्च जोखिम छ भन्नुभयो । परियोजनाका लागि प्रस्तावित ९५ मिटर अग्लो कङ्क्रिट फेस गरिएको रकफिल बाँधले भूकम्पीय जोखिम निम्त्याउँछ भन्ने जिकिर उहाँको थियो ।
वरिष्ठ इन्जिनियर प्रकाश उपाध्यायले हाम्रो मुलुकमा यतिका धेरै जोखिम भएका र प्रतिफल लगभग नभएका आयोजनाको छनोट किन गरिन्छ भन्ने प्रश्न गर्दै सबै मिलेर यस्ता बकम्फूसे आयोजनाको घोर विरोध गरौँ, काठमाडौँको शिरमा झुन्ड्याउन लागेको तरबार झुन्ड्याउन नदिन आग्रह गर्नुभयो ।
टिप्पणीकारको प्रस्तुति सुनेपछि वरिष्ठ इन्जिनियर भोला छटकुलीले नागमती ड्यामबारे आफ्नो धारणा राख्दै भन्नुभयो, “काठमाडौँकै शिरमा बन्ने यो बाँध कुनै पनि कारणबाट भत्केमा यसले पु¥याउने क्षति विकराल त हुन्छ तर आजको प्रविधि विकास र डिजाइन सुरक्षामा अपनाइने पारामिटरहरूलाई केलाउँदा उच्च बाँधहरू बनेकै छन् र पचासौँ वर्षदेखि अडेकै छन् । कुलेखानी अडेकै छ । यो अवस्थामा नागमती ड्यामको बाढी जोखिम आदि हेर्दा सो बाँधको १२ वर्ग किमि जलाधर क्षेत्र रहेको, जसमा २३२ क्यूसेकको स्पील वे राखिएको कारणलाई केलाउँदा डराउनुपर्दैन । त्यसलाई सिक्किम र लिबियाको घटनासँग जोड्नुभन्दा हाम्रो भूबनोटको विशिष्टतासँग तुलना गर्नुपर्छ र जोखिम न्यूनीकरणको प्रावधानमा ध्यान दिनुपर्छ ।”
कार्यक्रममा जलविद्युत् विकास र बाढी व्यवस्थापन विज्ञ प्रा.डा. गोविन्द पोखरेलले उपत्यकामा वार्षिक सरदर २२०० मिलि पर्ने भएकोले सोको उपयुक्त व्यवस्थापनबाट मात्र पनि वाग्मती रिचार्ज गर्न सकिनेजस्ता वैकल्पिक उपाय नसोची केबल सुन्दरीजलमा पासो थापेर पानी बगाउने सोच काँचो रहेको बताउनुभयो ।
डिजाइनबारे टिप्पणी गर्दै प्रा. पोखरेलले प्रस्तुतिमा सेडिमेन्टको बारे कतै सुनिएन, डिजाइन डाटाहरू कोठेजस्ता लाग्छन्† बरु घरघरबाटै ढलको पानी सफा गरेर वाग्मती निर्मलीकरण गर्न सकिन्छ भन्नुभयो ।
नागमती योजनाबारे आफ्नो दृष्टिकोण राख्दै वरिष्ठ इन्जिनियर राजेन्द्र शर्मा काफ्लेले २५ अरब खर्चेर बनाइने आयोजनाबाट आर्थिक प्रतिफल प्राप्त हुन्छ हुँदैन, योजनाकै औचित्य छ छैन त्यसको गम्भीर विश्लेषण हुनुपर्ने नत्र बौद्धिक जमातबाट विरोध जनाउनुपर्ने बताउनुभयो ।
मित्रकुञ्ज थिङ्क ट्याङ्क उपसमितिका सदस्य सचिव ई. रामबिन्दु श्रेष्ठले उद्घोषण र सञ्चालन गरेको उक्त बहस कार्यक्रममा संस्थाका महासचिव सुष्मा खत्री रञ्जितले थिङ्क ट्याङ्क उपसमितिको उद्देश्य र कार्यक्रमबारे प्रकाश पार्नुभयो ।
कार्यक्रम समापन गर्दै थिङ्क ट्याङ्क उपसमितिका संयोजक प्रा.डा. रमेशकुमार मास्केले यो अन्तरक्रिया कार्यक्रम अत्यन्त सान्दर्भिक रहेको र यस्तै राष्ट्रिय सरोकारका आयोजनाहरूको संवेदनशीलता, उपयुक्तता र जवाफदेहीताको विषयमा मित्रकुञ्जले दायित्वबोध गर्नुपर्ने अभियानको आरम्भ भएको बताउनुभयो ।
उक्त कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, जलस्रोतविद्, विभिन्न पेसागत समूहका व्यक्तित्वहरू, आर्किटेक्ट तथा इन्जिनियरिङ परामशदातृ संस्था समाजका महासचिव आदिको उपस्थिति थियो ।
मित्रकुञ्ज विगत ६ दशकदेखि मुलुकको शिक्षा, स्वास्थ्य, इन्जिनियरिङ, कृषि, अर्थतन्त्र, पूर्वाधार विकास, राजनीति र नीति निर्माणलगायतका क्षेत्रमा योगदान दिँदै आएको सोभियत सङ्घ र सीआइएस राष्ट्रहरूबाट उच्च शिक्षा हासिल गरी फर्केका नेपाली विज्ञहरूको सङ्घ हो ।

One response to “मित्रकुञ्जबाट निर्माणाधिन ‘नागमती बाँध परियोजना’ को औचित्यमाथि प्रश्न”

  1. Ram Bindu Shrestha says:

    Thank you so much Majdoor Dainik

Leave a Reply

Your email address will not be published. Required fields are marked *