भर्खरै :

जनताले वर्गीय शत्रु र मित्र चिन्नुपर्छ

कुनै पनि राजनीतिक दल दर्शन, सिद्धान्त र विचारको आधारमा स्थापना गरिएको हुन्छ । राजनीतिक दलले कुनै न कुनै वर्गको प्रतिनिधित्व गरेको हुन्छ । आ–आफ्नो लक्ष्य पूरा गर्न नै दलले बेलाबखत विभिन्न गतिविधि गरेको हुन्छ । अनेक गतिविधि गरेर दलले जनतालाई सुसूचित पारेको हुन्छ । वर्गीय समाजमा वर्गसङ्घर्ष स्वाभाविक छ । वर्गसङ्घर्ष मुख्य दुश्मनसँगै हुन्छ । सङ्घर्ष देशका सामन्त, पुँजीपति, जालीफटाहा, शोषक, जमिनदारविरुद्ध हुन्छ । सङ्घर्ष विदेशी दलाल, साम्राज्यवाद र विस्तारवादविरुद्ध हुन्छ । साम्राज्यवाद, विस्तारवाद र भारतीय एकाधिकार पुँजीको विरोधमा सङ्घर्ष हुन्छ ।
कम्युनिस्ट पार्टीले विस्तारवादी र साम्राज्यवादी नीतिको विरोध गर्छ, गर्नुपर्छ† देशका सामन्त, पुँजीपति, विदेशी दलाल र भारतीय एकाधिकार पुँजीको विरोध गर्नुपर्छ । तर, विडम्बना ! नेपालका आफूलाई ठुलो र कम्युनिस्ट भनिने पार्टी कहिले सामन्तको प्रतिनिधित्व गर्ने राजावादी दलसँग मिलेर निर्वाचनमा लड्छ, भागबन्डा गरेर सरकारमा जान्छ । तिनै कम्युनिस्ट पार्टीका नेताहरू कहिले पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने दलसँग मिल्छ, मिलेर निर्वाचनमा लड्छ र सरकारमा सामेल हुन्छ त कहिले नितान्त साम्प्रदायिक, क्षेत्रीय र सङ्कीर्ण राजनीति गर्ने दलसँग मिल्छ । यस्तो दलले व्यापक जनताको हित कसरी गर्ला ?
देश, काल र परिस्थितिअनुसार मुख्य दुश्मनसँग लड्न स–साना शत्रुहरूसँग मिल्नु स्वाभाविक हो । मित्र शक्तिसँग मिलेर मुख्य शत्रुविरुद्ध लड्नु स्वाभाविक हो । तर, शत्रु र मित्र नचिनी जोसुकैसँग मिल्यो, मित्र शक्तिको विरोधमा शत्रुसँग मिल्यो भने न दलको उद्देश्य पूरा हुन्छ न त देशको राम्रो भलो नै हुन्छ । मित्र शक्तिलाई हराउन शत्रुसँग मिल्नु के जायज हो ? के यो सच्चा राजनीति हो ? जित्ने नाउँमा जोसुकैसँग मिल्नु के सच्चा राजनीतिक चरित्र हो ? जोसुकैसँग मिल्ने, जित्ने, दल ठुलो बनाएर सरकारको नेतृत्व गर्न भागबन्डा गर्ने देशका ठुला दलहरूको बानीजस्तै बनिसकेको छ ।
कुनै राजनैतिक दलले सबै वर्गको हित गर्न सक्दैन । कुन दलले कुन वर्गका जनताको प्रतिनिधित्व गरेको छ, त्यो जनताले थाहा पाउनुपर्छ । सर्वसाधारण जनतामा राजनैतिक चेतना, सैद्धान्तिक र वैचारिक ज्ञान तथा सांस्कृतिक स्तर नहुँदा गरिबवर्गका नागरिकले गरिबवर्गलाई नै शोषण गर्ने, दमन गर्ने पुँजीपति, सामन्तहरूको प्रतिनिधित्व गरेको दललाई जिताइरहेको हुन्छ । यसकारण, जनताले आफ्नो वर्गीय शत्रु र मित्र चिन्नुपर्छ, चिनेर अघि बढ्नुपर्छ । पँुजीपति, सामन्त, जालीफटाहा, शोषकहरूले श्रमजीवीवर्गको हित हेर्दैनन् ।
प्रत्येक वर्गसङ्घर्ष राजनीतिक सङ्घर्ष हो । शत्रु र मित्र छुट्याउने आधार वर्गीय र आर्थिक समस्या नै हुन् । शत्रु र मित्र छुट्याउने भूल गर्नासाथै त्यस दलको राजनीति गलत दिशातिर गइरहेको हुन्छ भन्ने थाहा हुन्छ । सामन्त, जमिनदार, प्रतिक्रियावादी, जालीफटाहा, साम्राज्यवादी, विस्तारवादी र उपनिवेशवादी शक्तिहरू, देशघाती र जनघाती सन्धि सम्झौता गर्नेहरू देश र जनताका शत्रु हुन् । मजदुर, किसान, स–साना पुँजीपतिवर्ग, क्रान्तिकारी युवा, विद्यार्थी, राष्ट्रिय पुँजीपतिवर्ग देशभक्त तत्व हुन् । समाजवादी पक्षधर दल, जनता, स्वतन्त्रता र मुक्तिका निम्ति साम्राज्यवाद, विस्तारवादको विराधमा सङ्घर्ष गरिरहेका दल र जनता देशभक्त हुन्, उनीहरू मित्र शक्ति हुन् । यसरी वर्गीय शत्रु र मित्र चिनेर दलले राजनीति गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *