भर्खरै :

मजदुर–किसानको हित नहेर्ने पार्टी कम्युनिस्ट नहुने

मजदुर–किसानको हित नहेर्ने पार्टी कम्युनिस्ट नहुने

सिन्धुपाल्चोक, १४ माघ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले सिन्धुपाल्चोकको लिशङ्खु र पाखर गाउँपालिकाको सिक्रेमा पार्टी कार्यकर्ता र स्थानीय जनतासँग आइतबार भेट गर्नुभयो ।
उक्त भेटघाट कार्यक्रममा सचिव सुवालले राजनीतिक पार्टी वर्गीय आधारमा स्थापित हुने चर्चा गर्दै मजदुर–किसानको हित नहेर्ने पार्टी कम्युनिस्ट होइन भन्नुभयो ।
भारतीय विस्तारवाद र भारतीय एकाधिकार पुँजी तथा अमेरिकी साम्राज्यवादको विरोध नगर्ने दल पनि कम्युनिस्ट नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “पार्टीको सिद्धान्तमा दृढ भएर अगाडि बढ्दा एक्लै दुक्लै महसुस गर्नुपर्ने छैन । सारा जनताले साथ दिनेछन् । बुद्ध एक्लो हुनुहुन्थ्यो तर बौद्ध दर्शनका अनुयायीहरू संसारमा धेरै छन् । माक्र्स र एङ्गेल्स पनि एक्लै हुनुहुन्थ्यो तर, माक्र्सवादलाई समर्थन गर्नेहरू संसारमा धेरै छन् ।”
कम्युनिस्टहरू पुँजीवादी सरकारको भागबन्डा खान नजाने स्पष्ट पार्दै सचिव सुवालले नेमकिपाले २०४६ सालमै तत्कालीन माले हालको एमालेलाई पुँजीवादी सरकारको भागबन्डा खान नहुनेबारे सचेत गराएको थियो तर मानेनन्, यसकारण नेपालको कम्युनिस्ट आन्दोलन कमजोर भयो भन्नुभयो ।
नेपालको कम्युनिस्ट आन्दोलनलाई संशोधनवाद र अवसरवादबाट बचाउन नेमकिपा स्थापना भएको चर्चा गर्दै उहाँले नेका विदेशी पुँजीको सेवा गर्ने पार्टी हो भने एमाले भाइकाङ्ग्रेस हो† माओवादी भारतीय ट्रोजन हर्स हो भन्नुभयो ।
“सिक्रेका स्थानीय किसानहरूको जग्गा नापी रोक्नु र स्थानीय किसानलाई आ–आफ्नो पुस्तौँदेखि जोतिआएको जग्गाको स्वामित्व नदिने सरकारमा रहेका पार्टीहरू किसानविरोधी हुन्,” उहाँले भन्नुभयो ।
गुठी विधेयक किसानको हितमा ल्याउनु जरूरी रहेको उल्लेख गर्दै उहाँले शासक दलका नेताहरू सिंहदरबारको कुर्सीमा पुगेपछि राजा र तानाशाहजस्तै भएको हुँदा गरिब जनतालाई दुःख भएको हो भन्नुभयो ।
भेटघाट कार्यक्रममा नारायणबहादुर दुवाल र श्यामलाल शाक्यसमेतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *