आजको सङ्कटका कारक शासक दलहरू !
- कार्तिक १७, २०८३
काठमाडौँ, १७ माघ । नेपाल मजदुर किसान पार्टीका सङ्घीय सांसद प्रेम सुवालले विकास भनेको बस्ती बढाउने मात्र नभई पर्यावरणीय संरक्षण मुख्य भएको बताउनुभयो ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति वाग्मती सुधार आयोजनाले सोमबार काठमाडौँमा आयोजना गरेको २० वर्षे वाग्मती कार्ययोजना (२०८०—२१००) को मस्यौदामा सरोकारवालाहरूसँगको अन्तरक्रियामा बोल्दै उहाँले वातावरण र विकास एक अर्काका परिपूरक भएको हुँदा वातावरणीय विषयहरूलाई पनि विकासको मूलप्रवाहमा समावेश गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट उपत्यकाको सभ्यता नास गर्ने काम भइरहेको बताउँदै उहाँले प्राधिकरणले जथाभावी गरिरहेको निजी प्लटिङले उपत्यकालाई झन् कुरूप बनाउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले नयाँ बस्ती विकास गर्दा आवास योजनासँगै ढल निकास र फोहोर व्यवस्थापनलाई पनि सँगसँगै अगाडि लानुपर्नेमा जोड दिँदै स्थानीय तहले मात्र त्यहाँको आवश्यकताअनुसार व्यवस्थित आवास योजना सञ्चालन गर्न सक्ने धारणा राख्नुभयो ।
उपत्यकामा प्रदूषणका कारण नसर्ने रोगको जोखिम दिनानुदिन बढ्दै गएको तर्फ सचेत पार्दै सांसद सुवालले नयाँ गाउँपालिका र नगरपालिकाहरूलाई व्यवस्थित सहरको रूपमा विकास गर्न सके सिङ्गो देश नै छिटो विकास हुने बताउनुभयो ।
सहरी विकास मन्त्री सीता गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सङ्घीय सांसद दीपकबहादुर सिंह, सङ्घीय सांसद गणेशबहादुर पराजुली, मा. चन्दा कार्की, ललितपुर महानपाका प्रमुख चिरिबाबु महर्जन, मा. प्रेमबहादुर महर्जनलगायतले बोल्नुभएको थियो ।
आयोजनाका निर्देशक चक्रवर्ती कंठले २० वर्षे कार्ययोजनाका लागि २ खर्ब ७९ अर्ब ६० करोड ५० लाख रूपैयाँ लाग्ने अनुमान गरिएको जानकारी दिनुभयो । आयोजना पाँच पाँच वर्ष गरी चारवटा अवधि (छोटो, पहिलो मध्यावधि, दोस्रो मध्यावधि र दीर्घकालीन) मा पूरा गर्ने लक्ष्य राखिएको कंठले बताउनुभयो ।
नेपाल सरकारका पूर्व सचिव किशोर थापाले पशुपतिको आर्यघाट यता पानी सफा बनाउन नसकेको उल्लेख गर्दै यो कार्ययोजनाको अवधि १० वर्षको बनाउन सकिने बताउनुभयो ।
परामर्शदाताविज्ञ निरोज तिमिल्सिनाले पानीको मात्रा र गुणस्तर बढाउन यो आयोजना अति आवश्यक रहेको उल्लेख गर्दै उनले १६ वटा स्थानीय तह पूर्णरूपमा र ४ वटा स्थानीय तहका आंशिक ठाउँ योजना आयोजनामा पर्ने बताउनुभयो । अर्का परामर्शदाता सुनिल सैंजुले उपत्यकामा जनघनत्व बढेको र रिङरोडभन्दा बाहिर जनसङ्ख्याको चाप उच्चरूपमा बढ्दै गएको बेला पानीको रिचार्जको लागि यो कार्ययोजना अति आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव सरजुकुमार वैद्यले २० वर्षे कार्ययोजना प्रस्ताव गरेको थियो ।
कार्यक्रममा सहरी विकास मन्त्रालयका पद्मकुमार मैनालीले अन्तरक्रियाका मुख्य उपलब्धि प्रस्तुत गर्नुभएको थियो भने पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंह र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले सरकारले तोकेको ठाउँमा मात्र बस्ती विकास गर्नुपर्ने र उपत्यकाका नदीनालाहरूलाई सफा गर्ने विषयमा विदेशी प्रविधि अवलम्बन गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा एडीबीका नेपाल प्रतिनिधि आर्नोड कुस्वाले वाग्मतीको सौन्दर्यकरणमा एडीबीले सहयोग गर्दै आएको बताउनुभयो ।
सरोकारवालाहरूलाई प्रस्तावको मस्यौदामाथि सुझाव दिन माघ २० गतेसम्मको समय तोकेको छ ।
Leave a Reply