भर्खरै :

शिक्षामा अगाडि बढेको समाज सभ्य र सुसंस्कृत ढङ्गले अगाडि बढ्ने

शिक्षामा अगाडि बढेको समाज सभ्य र सुसंस्कृत ढङ्गले अगाडि बढ्ने

भक्तपुर, १८ माघ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नपा वडा नं. ९ तचपालस्थित दत्तात्रय आधारभूत विद्यालयको ५० औँ (स्वर्ण वर्ष) वार्षिकोत्सवको अवसरमा स्मारिका विमोचन, सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम बिहीबार विद्यालय प्राङ्गणमा सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले देश विकासको प्रमुख माध्यम शिक्षा भएको बताउँदै शिक्षामा अगाडि बढेको समाज सभ्य र सुसंस्कृत ढङ्गले अगाडि बढ्ने बताउनुभयो ।
शिक्षाको जग बलियो बनाउन भक्तपुर नपाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै यसको पूर्वाधार विकासमा जोड दिँदै आएको बताउँदै उहाँले भक्तपुर नपाले २१ औँ शताब्दीको लागि योग्य र दक्ष जनशक्ति तयार गर्न ८ वटा शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
सरकारले शिक्षामा लगानी घटाउँदा सरकारी विद्यालयहरूको शैक्षिक स्तर खस्कँदै गएको बताउँदै प्रमुख प्रजापतिले छिमेकी देश चीनको शिक्षा प्रणालीबाट नेपालले सिक्दै श्रमसँग जोडिएको शिक्षा विद्यार्थीहरूलाई प्रदान गर्नुपर्ने र श्रमलाई माया र इज्जत गर्ने शिक्षा विद्यार्थीहरूलाई दिनु आवश्यक भएको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरू अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान र योग्य प्राविधिकहरू तयार गरिरहेको बताउनुभयो ।
उक्त कार्यक्रममा वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापति, वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धान्छा, विद्यालय व्यवस्थापन समितिका सदस्य छोरीमैँया सुजखू, आधारभूत विद्यालय समितिका तर्फबाट सूर्यबहादुर फोँजु, सरस्वती विद्यागृहका प्रअ गुणराज राई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय मानन्धरले पनि बोल्नुभएको थियो ।
विद्यालयका प्रअ सज्जन प्रधानले २०३० साल माघ १८ गते स्थापना भएको दत्तात्रय आधारभूत विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालय स्थापनामा महत्वपूर्ण भूमिका र योगदान पु¥याउनुभएका सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।
प्रमुख प्रजापतिले विद्यालयको स्वर्णजन्तीको अवसरमा विद्यालयलाई अवरत सेवा दिनुभएका पूर्व प्रअद्वय लक्ष्मीभक्त बासुकला र सर्मिला श्रेष्ठ, समाजसेवी विष्णुबहादुर मानन्धर, पूर्वविद्यार्थी गौतम सुवाललाई दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मानित गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका शिक्षिका सृष्टि शाक्यले स्वागत गर्नुभएको थियो भने पूर्वविद्यार्थी श्रीराम ध्वजुले विद्यालयबारे आफ्ना अनुभव सुनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *