अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
बाइस सय वर्षअगाडि ईशापूर्व २२१ मा छीन (Qin) राजवंशद्वारा प्राचीन चीनका छ वटा राज्यमाथि विजय प्राप्त गरी एकीकृत चिनियाँ साम्राज्य स्थापना गर्नुअगाडिको प्राचीन चिनियाँ इतिहासलाई सिया (Xia) वंशकाल (ईशापूर्व २०७० –१६००), शाङ (Shang) वंशकाल (ईशापूर्व १६००–१०४६) र चउ (Zhou) वंशकाल (ईशापूर्व १०४६ –२२१) गरी तीन खण्डमा विभाजन गरिन्छ । पहेँलो नदी सभ्यतामा आधारित चउ र शाङ वंशकालको चिनियाँ इतिहासलाई पुष्टि गर्ने लिपि अभिलेखसहित धेरै पुरातात्विक प्रमाणहरू भेटिएका छन् । तर, प्राचीन चिनियाँ ग्रन्थअनुसार ४००० देखि ३४०० वर्षअगाडि सम्म शासन गरेको सिया वंशकालबारे भने भरपर्दो पुरातात्विक प्रमाण अहिलेसम्म भेटिएको छैन ।
केही इतिहासकारहरू सिया वंशकालको इतिहासलाई किंवदन्तीमात्र भएको मान्छन् भने धेरै चिनियाँ इतिहासकारहरू सिया वंश चिनियाँ सभ्यताको इतिहासमा एक महत्वपूर्ण कडी रहेको विश्वास गर्छन् र भविष्यमा पुरातात्विक प्रमाणहरू भेटिने कुरामा आशावादी छन् ।
सिया राज्यबारे लिखित चर्चा १००० वर्षपछिको चउ वंशका अभिलेखहरूमा पहिलोपटक पाइएको थियो । त्यसको अर्को हजार वर्षपछि ईशापूर्व दोस्रो शताब्दीको अन्त्यमा लेखिएको प्राचीन चिनियाँ इतिहासको अभिलेख (Shiji) अनुसार दसौँ वर्ष लगाएर पहेँलो नदीको बाढी नियन्त्रण गर्न सफल भएका कारण तत्कालीन चिनियाँ जनताले ईशापूर्व २०७० मा महान् यु (Da Yu) लाई पहेँलो नदी क्षेत्रको राजाको रूपमा प्रस्ताव गरे र चीनको इतिहासमा पहिलो राज्य तहको राजनैतिक एकाइ – सिया राज्यको सुरुवाट भयो । सिया वंशका १७ जना राजाहरूको ४७० वर्षे शासनपछि ईशापूर्व १६०० तिर चीनमा सिया वंशको पतन र शाङ वंशको उदय भएको मानिन्छ ।
यसै सन्दर्भमा सन् १९५० दशकमा उत्तरी चीनको हेनान (Henan) प्रान्तमा पहेँलो नदीको छेउमा उत्खनन गरिएको आरलीथउ (Erlitou) क्षेत्रलाई सिया राज्यको राजधानी रहेको अनुमान गरिएको छ । थप उत्खनन र पुरातात्विक वस्तुहरूको विश्लेषणपछि सन् २०२२ मा प्रकाशित एक रिपोर्टअनुसार आरलीथउ क्षेत्रमा पर्खालले घेरिएको र फराकिला बाटाहरू भएको राजदरबारसहितको एक व्यवस्थित सहर रहेको अनुमान गरिएको छ । आरलीथउ क्षेत्रमा उत्खनन गरिएका धातु, प्रस्तर र माटाका भाँडाहरूको रेडियो एक्टिभ परीक्षणले ती वस्तुहरू ईशापूर्व १७५० देखि ईशापूर्व १५२० सम्मका भएको देखिन्छ जुन प्राचीन चिनियाँ ग्रन्थहरूमा उल्लेखित सिया वंशकालको समय हो । तर, शाङ वंशकालका जस्तै लिपि अभिलेखहरू नभेटिएको कारण आरलिथउ संस्कृतिको आविष्कारले नै सिया वंशको अस्तित्वलाई प्रमाणित गर्ने कुरामा इतिहासकारहरू एकमत छैनन् ।
यसै अन्योलबिच सन् १९८६ मा पश्चिमी चीनको सिछुवान उपत्यकाको सानसिङत्वय (Sanxingdui) क्षेत्रको पुरातात्विक आविष्कारले चिनियाँ इतिहासको अध्ययनमा नयाँ मोड लिएको छ । सन् २०२०–२१ मा भएको दोस्रो चरणको उत्खननपछि प्रकाशित एक विश्लेषणात्मक रिपोर्टअनुसार सिछुवान प्रान्तको केन्द्र छङ्तु सहरको ४० किलोमिटर उत्तरमा रहेको सानसिङत्वय क्षेत्रमा ३८०० देखि ३५०० सय वर्षअगाडि ३.६ वर्गमिटरमा फैलिएको पर्खालले घेरिएको एउटा व्यवस्थित सहर रहेको थियो । पुरातात्विक प्रमाणहरूको आधारमा उक्त सहरमा राजदरबार क्षेत्र, बसोबास क्षेत्र र धार्मिक क्षेत्र गरी तीन छुट्टाछुट्टै क्षेत्र रहेको र सिँचाइ र बाँध नियन्त्रणको व्यवस्था भएको अनुमान गरिएको छ । सानसिङत्वयमा उत्खनन गरिएका काँस र सुनका वस्तुहरू मूलतः मानिसका मुखाकृति, चराचुरुङ्गी र जनावरका आकृतिहरू छन् । रेडियोएक्टिभ परीक्षणबाट ती वस्तुहरू ईशापूर्व १७०० देखि ११५० सम्मको रहेको देखिएको छ जुन प्राचीन चिनियाँ ग्रन्थहरूमा उल्लेखित पहेँलो नदी क्षेत्रको सिया वंशकालको पछिल्लो समय र शाङ वंशकालको समय हो ।
पूर्वप्राचीनकाल (पूर्वछीनकाल) मा सिछुवान उपत्यकामा प्राचीन शु (Ancient Shu) राज्य रहेको चिनियाँ ग्रन्थहरूमा उल्लेख छ । बिचमा धेरै अग्ला पहाडहरूको अवरोधका कारण सिछुवान उपत्यका र प्राचीन चिनियाँ सभ्यता विकास भएको पहेँलो नदी क्षेत्रबिच सांस्कृतिक प्रभाव र आदानप्रदानको सम्भावना धेरै कममात्र थियो वा असम्भवजस्तै थियो । त्यसकारण, सिछुवान उपत्यकाको प्राचीन संस्कृति पहेँलो नदीको सभ्यताभन्दा फरक हुनु स्वाभाविक छ । एउटा प्राचीन चिनियाँ ग्रन्थ (Shujing) मा भने ईशापूर्व १०४६ मा भएको शाङ वंश र चउ वंशबिचको युद्धमा प्राचीन शु राज्यले चउ राजालाई सहयोग गरेको उल्लेख गरिएको छ ।

राज्य एकीकरण अभियानको क्रममा ईशापूर्व ३१६ मा प्राचीन शु राज्यमाथि छिन राज्यले विजय हासिल गरेको थियो । शु राज्यमा पुग्न छिन राज्यले अग्ला ढुङ्गे पहाडहरूमा दसौँ वर्ष लगाएर साँघुरो बाटो खोपेको थियो र सिछुवान उपत्यकाको मलिलो माटोमा उब्जिने अन्नकै भरमा ९५ वर्षमा तत्कालीन चीनका अन्य ६ वटा राज्यहरूमाथि विजय प्राप्त गरी विशाल एकीकृत चिनियाँ राज्य स्थापना गरेको मानिन्छ ।
सानसिङत्वय क्षेत्रमा भेटिएका पुरातात्विक वस्तुहरू पहेँलो नदी क्षेत्र र लामो नदी (याङसी नदी) क्षेत्रमा उत्खनन गरिएका सोही समयका पुरातात्विक वस्तुहरूभन्दा कलात्मकरूपमा धेरै भिन्न वा कममात्र समानता रहेको पाइएको छ । केही कलाकृतिहरू प्राचीन मिश्रको सभ्यता र सिन्धु घाँटीको सभ्यतासँग पनि मिल्दोजुल्दो देखिएका छन् ।
बिसौँ शताब्दीको ‘सबभन्दा महत्वपूर्ण पुरातात्विक आविष्कार’ मानिएको सानसिङत्वयको आविष्कारले प्राचीन चिनियाँ सभ्यताको अध्ययनमा हलचल ल्याएको छ । सानसिङत्वयको संस्कृति पहेँलो नदी वरपरको प्राचीन सिया राज्यको सांस्कृतिक प्रभावमा विकास भएको एक सहर हो कि छुट्टै विकास भएको प्राचीन शु राज्यको एक अलग्ग संस्कृति हो वा कुनै विदेशी भूमिबाट बसाइँसराइ गरेर आएको संस्कृति हो भन्ने विषय अहिले ठुलो छलफलको विषय बनेको छ । धेरै चिनियाँ इतिहासकारहरू सानसिङत्वयलाई प्राचीन चिनियाँ सभ्यताको एक अङ्ग रहेको व्याख्या गर्छन् र सानसिङत्वयमा पाइएका वस्तुहरूसँग पहेँलो नदी क्षेत्र र लामो नदी (याङसी नदी) क्षेत्रका विभिन्न ठाउँमा सोही कालमा उत्खनन गरिएका कलाकृतिहरूको समानमा जोड दिन्छन् भने केही चिनियाँ र विदेशी इतिहासकारहरू प्राचीन मिश्रबाट सिन्धु घाँटी पुगेको सभ्यता कुनै कारण बसाइँसराइ गरेर बर्मा हुँदै सिछुवान उपत्यका पुगेको हुनसक्ने अनुमान गर्छन् । सत्य जे भए पनि सानसिङत्वयको आविष्कारले पहेँलो नदीकेन्द्रित प्राचीन चिनियाँ सभ्यताको भाष्यलाई अझ फराकिलो बनाउन इतिहासकारहरूलाई बाध्य पार्ने देखिन्छ ।
Leave a Reply