भर्खरै :

इरानले आक्रमणको ‘कडा जवाफ’ दिनेछ – राष्ट्रपति रायसी

तेहरान, १९ माघ (एएफपी) । इरानका राष्ट्रपति इब्राहिम रायसीले जोर्डनमा तीन अमेरिकी सैनिकको मृत्युको जवाफमा अमेरिकाको कुनै पनि सम्भावित आक्रमणविरुद्ध शुक्रबार कडा चेतावनी दिनुभएको छ ।
“हामी कुनै पनि युद्धको सुरुआत गर्ने छैनौँ भनेर हामीले धेरैपटक भनेका छौँ तर यदि कुनै मुलुकले क्रूर शक्तिले धम्की दिन चाहन्छ भने इस्लामिक गणतन्त्र इरानले त्यसको दृढतापूर्वक जवाफ दिनेछ”, उहाँले दक्षिणी प्रान्त होर्मोजगानको भ्रमणका क्रममा भन्नुभयो, “यस क्षेत्रमा इरानको सैन्य शक्ति कुनै पनि मुलुकका लागि खतरा थिएन र छैन तर इरानमाथि भरोसा गर्ने सुरक्षाको स्रोत हो, आज दुश्मनसँग हामीविरुद्ध केही पनि गर्न सक्ने क्षमता छैन किनकि हाम्रा सेना शक्तिशाली र सक्षम छन् भन्ने उनीहरूलाई थाहा छ ।”
जोर्डनमा एक सैन्य अड्डामा भएको ड्रोन हमलामा अमेरिकी सैनिकको मृत्यु अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएपछि यस क्षेत्रमा शत्रुतापूर्ण गोलाबारीमा पहिलो अमेरिकी सैन्य क्षति हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमलाका लागि ‘कट्टरपन्थी इरान समर्थित आतङ्कवादी समूहहरू’ लाई दोष दिनुभएको छ ।
उहाँले आफूले घातक बमबारीमाथि अमेरिकी प्रतिक्रियाको प्रकृतिमाथि निर्णय गरिसकेको उल्लेख गर्नुभयो तर सार्वजनिकरूपमा योजना वा समयको बारेमा विस्तारमा केही बताउनुभएन । उहाँले आफूले मध्यपूर्वमा व्यापक युद्धको माग नगरेकोमा जोड दिनुभयो ।
ह्वाइट हाउसले हमलाको जवाफमा ‘धेरै कारबाही’ गर्न सकिने चेतावनी दिएको छ ।
इरानले अमेरिकी सैनिकहरूमाथि भएको आक्रमणसँग कुनै पनि प्रकारको सम्बन्धलाई अस्वीकार गरेको छ र मध्यपूर्वमा युद्धको ‘विस्तार’ नचाहेको बताएको छ । इजरायल–हमास युद्धपछि सिरिया, इराक, लेबनान र यमनमा इरान समर्थित समूहरू समावेश हुँदा क्षेत्रीय तनाव बढेको छ । इस्लामिक गणतन्त्र इरानले यसअघि नै यस क्षेत्रका ‘प्रतिरोधी समूहहरू’ लाई समर्थन गर्ने ‘कर्तव्य’ मानेको तर निर्णय लिन र कारबाही गर्न ‘स्वतन्त्र’ रहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *