भर्खरै :

सोम मिश्रको वाहियात गफ

सोम मिश्रको वाहियात गफ

“आजको राजधानी पत्रिका (२०८० माघ १३) मा सोम मिश्रको लेख पढेको चित्त बुझेन, तिमीले पढ्यौ ?”
एक मित्रले टेलिफोनमा भनेपछि खोजेर पढेँ । ‘ज्ञानेन्द्र शाहका ‘तिमीहरू’ शीर्षकको उक्त लेख पढेपछि ‘राष्ट्रिय’ दैनिकमा यस्ता लेखकहरू पनि चल्दा रहेछन् भन्ने लाग्यो ।
लेखकहरू धेरै प्रकारका छन् । कोही पढेर, चिन्तन गरेर, बुझेर, सोचेर लेख्छन् त कोही हावादारी गफलाई चुइँगम या रबर तानेजस्तो जबरजस्ती तानेर लेख्छन् । पत्रिकाको झन्डै आधा पृष्ठको उक्त ‘लेख’ पढेर पाठकले के नयाँ कुरा, ज्ञान, शिक्षा प्राप्त गरे होलान् ? केही प्राप्त नगरे पनि सोम मिश्रको वैचारिक धरातल, कागले कान लग्यो भनेपछि कान नछामी कागलाई लखेट्ने बौद्धिकता, सही गलतबारे सोच विचार र चिन्तन नगरी अर्काको भनाइ टिपेर लेखक हुने लोभ भने छ्याङ्गै देखियो ।
“कुनै बन्द कोठामा कोही कसैलाई दासानुकूल व्यवहार गरोस् वा जेसुकै गरोस्, त्यो अरुका लागि चासोको विषय होइन” भन्ने कुरा बुझेर पनि त्यसै कुरालाई तानतुन पारेर आधा पृष्ठको आलेख, अझ मुखपृष्ठको प्रमुख लेख तयार गर्नसक्ने खुबी सोम मिश्रले प्रदर्शन गरेका छन् । समाचार बन्न नपर्ने कुरालाई कसैले समाचार बनायो– त्यो समाचार बनाउने र छाप्नेको रुचि वा स्वार्थ होला । तर, त्यस्तो बेकामको अनावश्यक सानो समाचारलाई पत्रिकाको मुखपृष्ठको मुख्य आलेख बनाउनु त ‘दिसा बस्दै भटमास खानु हुँदैन भन्ने थाहा छैन ? मूर्ख ¤ खै मलाई अलिकति दे’ भनेर मागेजस्तै भयो ।
पूर्वराजा ज्ञानेन्द्रले केही माननीय (पूर्वपञ्च) हरूलाई बन्द कोठामा तँ, तिमी, तपाईँ, हजुर जे भने पनि सोम मिश्रलाई मात्र होइन, कसैलाई सरोकारको विषय नै होइन । तर, सन्दर्भ जोडेर मिश्रले बीपीलाई शिरमा राखेर गणेशमान सिंहलाई झन्डै पाउमा पु¥याए । २०३३ सालतिर बन्दी बीपीलाई तत्कालीन राजा वीरेन्द्रले भेटेका थिए । त्यो निश्चय पनि राजनैतिक दृष्टिले महत्वपूर्ण घटना थियो ।
वीरेन्द्रलाई भेटेर फर्केका बीपीलाई गणेशमान सिंहले ‘कुनै कुरा नसोधी’ वीरेन्द्रले बीपीलाई ‘तिमी भनेर सम्बोधन ग¥यो कि तपाईँ’ भनेर सोधे रे ! के गणेशमान सिंहलाई राजनैतिक कुराको कुनै चासो छैन, केबल ‘तिमी’ र ‘तपाईँ’ भन्ने कुराको मात्र चासो भयो होला ? के गणेशमानको सङ्घर्षशील राजनैतिक जीवन केवल राजाबाट ‘तपाईँ’ भनाउनमा सीमित र केन्द्रित थियो ? सोम मिश्रले गणेशमान सिंहलाई त्यतिमात्र बुझेका रहेछन् ।
२०४६ सालको जनआन्दोलनको उत्कर्षमा वीरेन्द्रले गणेशमान सिंह, केपी भट्टराई र वाम मोर्चाका नेताहरूसँग भेटेका थिए । त्यहाँ निर्दलीयताको अन्त्यमा सहमति भएपछि गणेशमान सिंहले त्रिभुवनसँग काम गरेका नेताहरूलाई ‘तिमी’ सम्बोधनप्रति अरुचि देखाएको र पछि तपाईँ सम्बोधन गर्न थालिएको कतै पढेको थिएँ । तर, मिश्रले यसबारे कुनै उल्लेख गरेनन् । बीपीले ‘तिमी’ लाई स्वीकारे पनि गणेशमान सिंहले नस्वीकारेको र वीरेन्द्रबाट तपाईँ सम्बोधन गराएको उल्लेख गर्न मिश्रलाई किन अप्ठ्यारो प¥यो ? गणेशमान सिंहलाई होच्याउनमै सन्तोष मानेको देखियो ।
जनचासोको विषय नै नभएको ‘समाचार’ लाई मुख्य लेख बनाई लम्ब्याइएको त्यस लेखमा विषय, प्रसङ्ग र सन्दर्भ नै नभएको माओ त्सेतुङको कुरा पनि लेखिएको छ । काङ्ग्रेसीहरूले कम्युनिस्ट नेता, व्यवस्था, सिद्धान्तको विरोध गर्नु स्वाभाविक हो, त्यो कर्तव्य पनि हो । जसरी कम्युनिस्टहरूले काङ्ग्रेसीले अँगालेको पुँजीवादी सिद्धान्त, व्यवस्थाको विरोध गर्नु कर्तव्य हो । तर, कम्युनिस्टहरू पुँजीवादी नेता वा काङ्ग्रेसी नेताहरूबारे बजारमा आएका व्यभिचार, अनैतिक सम्बन्ध …. आदिलाई होइन नीति र विचारको खण्डन, विरोध, प्रतिरोध सैद्धान्तिक र वैचारिकरूपमा गर्छन् । त्यसको विपरीत काङ्ग्रेसी सोम मिश्रले माओबारे अति मिथ्या, भ्रामक, नियोजितरूपमा चरित्र हत्या गर्ने दुस्साहस गरेका छन् । कम्युनिस्ट समाजमा यस्तो र उस्तो हुन्छ भनी विगतमा धेरै नै भ्रम फैलाइएको थियो र त्यसैलाई उल्लेख गरेर सोम मिश्रले आफूलाई शिक्षित, बौद्धिक र राजनैतिक काङ्ग्रेस होइन निकृष्ट, पतित, मूर्ख र अराजनैतिक काङ्ग्रेस साबित गरे । रबर तानेजस्तो तानेर, वाहियात गफ छाँटेर लेखिएको ‘आलेख’ मा भनेजस्तो व्यक्तित्वका माओले के विशाल चीनमा क्रान्तिको नेतृत्व गर्नसक्थे ? यति सामान्य कुरा त एउटा चिन्तनशील लेखकले बुझ्नुपथ्र्याे । साम्राज्यवादी र पुँजीवादी सञ्चारमाध्यमले माओ जीवित छँदै धेरैपटक निधनको हल्ला फैलाएका थिए । सोम मिश्र त्यसबेला लेखक बनिसकेको भए असली माओको निधन भइसक्यो यो माओ नक्कली भनेर लेख्थे होला !
चिन्तनरहित, हल्लाको भरमा वाहियात गफ छाँटेर लेखक बनी टोपल्नुभन्दा भएको दिमाग खियाएर लेखे कम्तीमा १० रूपैँया तिरेर पत्रिका पढ्ने पाठकहरू ठगिने थिएनन्– सानो सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *