भर्खरै :

कामदारवर्गका जनताको शासन व्यवस्था आवश्यक

कामदारवर्गका जनताको शासन व्यवस्था आवश्यक

भक्तपुर, ८ फागुन । ख्वप्रिङ इङ्गलिश एकेडेमी (सेकेन्डरी) को २३ औँ वार्षिक दिवस तथा २४ औँ स्थापना दिवस समारोह नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा अतिथि सुवालले देशका प्रमुख पदमा बसेका शासक दलहरू भ्रष्टाचारी तथा अदूरदर्शी भएको कारण देश झन्झन् समस्यामा धकेलिएको हुँदा जनता सचेत भई त्यसको विरोधमा अघि बढ्नुपर्ने बताउनुभयो । योग्यताअनुसारको काम, कामअनुसारको ज्याला व्यवस्था गर्नको लागि कामदार जनताको शासन व्यवस्था आवश्यक भएकाले विद्यालय स्तरदेखि नै देश र जनताप्रति समर्पित हुने शिक्षा दिनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । उहाँले अबको विद्यालय शिक्षा थोरै पढाऊ धेरै उत्प्रेरणा देऊ भन्ने कुरातर्फ लक्षित हुनेमा जोड दिनुभयो ।
उहाँले शिक्षकले आफ्नो लागि होइन सबैको लागि हित हुने काम गर्न अनुरोध गर्नुभयो ।
विद्यालयका सल्लाहकार ज्ञानसागर प्रजापतिले प्रस्तावित शिक्षा ऐनले शिक्षकलाई राजनैतिक अधिकारबाट अलग राख्ने षड्यन्त्र भइरहेकोतर्फ सबै सजग रहनुपर्ने, शिक्षक दलीय राजनीतिमा नफसी राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा जानकार भई विद्यार्थीलाई देशको राष्ट्रियता र सार्वभौमिकताको लागि लड्न सक्ने नागरिक तयार गर्न जोड दिनुभयो । उहाँले कक्षा १२ सम्म निःशुल्क र अनिवार्य गराउन सङ्घष गर्नुपर्ने तथा शिक्षा व्यवसायिक तथा सीपमूलक बनाउन शिक्षालाई उत्पादन श्रमसँग जोडिएर अध्ययन अध्यापन गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष कृष्णप्रसाद कोजुले अभिभावक तथा शिक्षकले आफ्ना सन्तानका गतिविधिप्रति सचेत नहुने भए आपराधिक गतिविधिमा फस्ने हुँदा विद्यार्थीलाई समयानुकूल सामाजिक, राजनैतिक विषयवस्तुबारे पनि जानकारी दिई अघि बढ्न आग्रह गर्नुभयो ।
अभिभावक राजाराम दुवालले गुणस्तरीय शिक्षाको लागि ख्वप्रिङ प्रतिबद्ध भई अघि बढिरहेको उल्लेख गर्दै समयअनुसार अभिभावक शिक्षालाई प्रविधिमैत्री तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्नुपर्ने सुझाव दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थागत विद्यालय सङ्घ (इसान) का महासचिव पुरुषोत्तम ग्वाछा र विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद प्रजापतिले पनि बोल्नुभएको थियो ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले शैक्षिक सत्र २०७९ मा कक्षागतरूपमा उत्कृष्ट जीपीए ल्याउन सफल विद्यार्थी तथा विद्यालयमा वर्ष शिक्षक, वर्ष विद्यार्थी हुन सफल क्रमशः किन्डरगार्टेन शिक्षिका सुनिता त्वाती, सफी कोजू तथा एसईई २०७९ मा उत्कृष्ट डेविट प्रजापतिलाई स्वर्णपदक तथा सम्मानपत्र प्रदान गर्नुभयो ।
उक्त कार्यक्रममा सल्लाहकार ज्ञानसागर प्रजापतिले स्थापना दिवसको अवसरमा सम्पन्न विभिन्न खेलकुद प्रतियोगितामा विजेता विद्यार्थीलाई पुरस्कृत गर्नुभयो ।
विद्यालयका प्र.अ. विनोद प्रजापतिले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा विद्यालयको स्थापना दिवसको अवसरमा सम्पन्न आमन्त्रित कबड्डी प्रतियोगितामा क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल पारागन एकेडेमी, ख्वप्रिङ एकेडेमी तथा मिनर्वा इङ्गलिश स्कूललाई पनि ट्रफी तथा मेडल वितरण गरिएको थियो । दोस्रो चरणअन्तर्गत विद्यार्थीहरूका विभिन्न सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *