जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
भक्तपुर, ११ फागुन । तारा माध्यमिक विद्यालयको ४४ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले कामदारवर्गका छोराछोरीहरूलाई शिक्षा प्रदान गर्ने क्षेत्रमा सार्वजनिक विद्यालयको योगदान अतुलनीय रहेको विचार व्यक्त गर्नुभयो ।
उहाँले शिक्षालाई किनबेचको वस्तुको रूपमा र विद्यालयलाई मुनाफा लिने कारखानाको रुपमा लिँदै गएको वर्तमान अवस्थाको विसङ्गतिपूर्ण धारलाई निर्मूल पारेर शिक्षाले व्यापक मजदुर किसान तथा कामदारवर्गलाई निःशुल्क र अनिवार्य शिक्षाको लागि सरकारले जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले शिक्षा देश र समाजको विकास तथा परिवर्तनको संवाहक हुने हुँदा शिक्षकहरूले आफूलाई समय सापेक्ष निखार्दै असल नागरिक निर्माण गर्न तत्पर रहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा भनपा शिक्षा शाखा प्रमुख साधुराम फुयालले भक्तपुर नगरपालिकाले देशकै नमुनाको रुपमा प्रस्तुत भएर शिक्षाको केन्द्रबिन्दु तथा गन्तव्यको रुपमा स्थापित हुँदै गएको स्पष्ट पार्नुभयो ।
शिक्षासेवी एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य उद्धव सुजखुले विद्यार्थीको चौतर्फी विकासको निमित्त अभिभावक, शिक्षक तथा अन्य सरोकारवालाको समन्वयात्मक भूमिका रहनुपर्नेमा जोड दिनुभयो ।
संयुक्त परीक्षा समिति, भक्तपुरका अध्यक्ष रोशनराज तुइतुईले गुणस्तरीय शिक्षा तथा विद्यार्थीको सर्वाङ्गीन विकास तथा प्रतिभा प्रस्फुटनको निम्ति संयुक्त परीक्षा समितिले विविध क्रियाकलाप गर्दै आएको जानकारी दिनुभयो ।
नेक्राशिसङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष गणेशराम थुसाले निःशुल्क र अनिवार्य शिक्षालाई व्यवहारिकरूपमा लागु गर्न, विद्यालयमा पर्याप्त दरबन्दीको व्यवस्था गर्न, शिक्षकको हक हितको लागि नेक्राशिसङ्घले निरन्तर सङ्घर्ष गर्दै आएको बताउनुभयो ।
तारा माविका संस्थापक प्रधानाध्यापक पुष्पलाल सुजखुले विद्यार्थीको शैक्षिक स्तर तथा सांस्कृतिक स्तरलाई उकास्न अभिभावकवर्गले विद्यालयसँग हातेमालो गर्दै जानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा विद्यालयको आर्थिक प्रतिवेदन लेखा सहायक रवीन्द्र सुजखु तथा विद्यालयको वार्षिक प्रतिवेदन प्रअ प्रेमलक्ष्मी त्वायनाले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षकहरू हरिकृष्ण प्रजापति, श्याम ख्याजु, हरिप्रसाद बास्तोलालगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालयको वार्षिक क्यालेन्डरअनुसार भएको विविध अतिरिक्त क्रियाकलामा उत्कृष्ट भएका विद्यार्थीहरू, कक्षागत प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरू, वर्ष विद्यार्थी, वर्ष खेलाडी तथा तहगतरूपमा वर्ष शिक्षकहरूलाई पनि पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा विद्यार्थीको प्रतिभा झल्किने नृत्य, गायन तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
Leave a Reply